जहाँका सांसदले हात खुट्टा भाँचिदिने धम्की दिएका थिए,त्यहीको सिडीओ बने महतो

यो दुनियाँ नै जित्नेहरूको हो, जित्नेहरूकै लेखिन्छ इतिहास । हार्नेहरू त कहाँ छुट्छन् कहाँ ? कसैले हिसाब राख्दैन तिनको,कसैले भाउ दिँदैनन्,कसैले खोज्दैनन् हार्नेहरूलाई ।
अक्सर हामी एक÷दुईवटा असफलताबाटै निराश हुन्छौं र मोड्छौं जीवनको बाटो । तर जीवनका परीक्षामा सफल हुनका लागि पटक पटक पौठेजोरी खेल्दैपर्दछ असफलतासँग । हो जीवनको परीक्षामा पटक पटक असफलता झेलेर पनि सफलताको उचाईमा उक्लिएको नाम हो रामकुमार महतो । धेरैको रहर हुन्छ निजामती सेवामा प्रवेश गर्ने । तर यो अवसर सबैका लागि जुर्दैन । निष्ठापूर्वक सेवा र कठिन परिश्रम गर्दै गएको खण्डमा पद र प्रतिष्ठा खोज्दै जानु पनि पर्दैन । ज्वलन्त उदाहरण हुन् उनी । कुनै समय सरकारी सेवामा प्रवेशकै सिलसिलामा पियनमा आवेदन दिएर पटक पटक अनुत्तीर्ण भए । तर हरेश खाएनन् । बीचमा खरिददारमा भीडे अनुत्र्तीण भए । तेश्रो पटक सहलेखापालमा भिडे नाम निस्कियो । अहिले सह सचिवका रुपमा नेपाल भारत सीमा क्षेत्र कञ्चनपुर जिल्ला को कमाण्ड गरिरहेका उनलाई अस्ति मंगलबारमात्र त्यहाँबाट सरुवा गरेर सर्लाही पुर्याइएको छ । सर्लाहीसँग उनको जागिरे जीवनको दौरानमा पूरानै साइनो मात्रै छैन्,त्यहाँका माननीयबाट धम्की भेटेका थिए उनले डेढ बर्ष अघि । एक स्थानीय तहमा खटिएका उनलाई सोही जिल्लाका माननीयले हात खुट्टा भाँचिदिने धम्की दिएपछि न्याय खोज्दै,आफ्नो ज्यान जीउको सुरक्षाको माग राख्दै उनी सिडीओ कार्यालय पुगेका थिए निवेदन बोकेर । आज सोही जिल्लाको सिडीओ बनेर खटिएका छन् उनी ।

Advertisement 1

निरन्तरको बहावले ठुल्ठूला चट्टानहरूलाई त पगाल्न सक्छ भनेझैं लगाव र निष्ठाकै कारण उनी सह सचिवसम्म बन्न सफल पात्र हुन् । महत्तो जेठ ३० गते सहसचिव बने । गृह मन्त्रालयमा पदस्थापन भयो । बीचमा सिडिओ नुरहरी खतिवडालाई तानेर महतोलाई महाकाली भेटिने जिल्ला पठाइएको थियो । प्रमुख जिल्ला अधिकारीको रुपमा दोश्रो जिल्लामा पदस्थापन भएको छ महतोको ।

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नंं २ मा आजभन्दा साढे तीन दशक अघि जन्मिएका थिए महतो । कुसवाहा परिवार । बुवा आमा आज पनि माटोसँगै मितेरी साइनो गासिँरहेका छन् । कुहुरी बारी अर्थात कुसवाहाले तरकारी खेती गरेर रमाउँदै आएका छन् । दाजुको पदचाप पछ्याउँदै सरकारी सेवाको उच्च ओहदामा छन् । मिथिला नगरपालिकास्थित किसान बाबुका छोरा उनले तिनताक भर्खरै एसएलसी परीक्षा दिएका थिए । दाजु रामेश्वरले हुलाकको मुखियामा नाम निकाले । उनको दाजुको यो सफलताले बुवा आमाको मुहारमा खुसीको रंग पोतियो । मानौं घरमा दशैँको उत्सव आयो । बुवा आमाको खुसी भनेकै सन्तानको सफलता हो । त्यसमाथि सरकारी सिन्दुर लगाउने सौभाग्य पाएपछि अभिभावक खुशी नहुने कुरै भएन् । एउटा किसानको कोखबाट जन्मेहुर्केको केटोले सरकारको सिन्दुर लगाएको क्षण कम्ता गर्व लाग्दो थिएन । त्यही क्षणले उनको दिमाग क्लिक भयो र मनमनै अठोट गरे अब म पनि सरकारी सेवामा पस्छु । तर सोचेजस्तो कहाँ सजिलो छ र जीवनको बाटो ? सरकारी जागिर खान्छु भन्नका लागि अँगेनामा आमाले पकाएर ठिक्क पारिदिएको तरकारी, भातजस्तो कहाँ थियो र ? त्यसका लागि जरुरी थियो कडा मिहिनेत र अध्ययन ।

Advertisement 2

May be a close-up of 1 person and beard

 

Advertisement 3

महतोले आफूलाई निर्खादै लगे । अध्ययनको दायरा बढाउन थाले । एसएलसी पछि लोकसेवाको तयारीमा लागे । ०५४ सालबाट लगातार तीन वर्षको कडा मिहिनेतपछि सरकारले ०५७ सालमा लोकसेवा खोल्यो । पियन पदका निम्ति । पियनमा जागिर खानका लागि आवेदन दिए । परीक्षा भयो । तर नतिजा पक्षमा आएन् । पहिलो गासँमै ढुंगा लाग्यो । लोकसेवामा फेरि अर्काे विज्ञापन आयो मुखियाको । त्यहाँ पनि भिडे । टुप्पी कसेर पढ्न थाले । परीक्षा दिए । निराशाजनक नतिजा आयो । चार वर्षपछि लोकसेवाले खरिदारको विज्ञापन निकाल्यो , भिडे । यस पटक सह लेखापाल र डिट्ठामा भिडेका थिए । तेश्रो पटकको प्रयास उनकै पोल्टामा आयो । दुबै परीक्षामा उत्र्तीण भए । यसरी पियनमा असफल भएका महत्तोले हिम्मत हारेनन्,मन मारेनन्, बाटो मोडेनन् । निरन्तर प्रयाश गर्दै रहे । र, नाम निकाले खरिदारमा । ०५९ सालबाट खरिदारअन्तर्गत सह लेखापालका रुपमा काम गरे । दुईवटामा नाम निस्किएपछि पहिलो अन्तर्वार्ता लेखाको दिए । परिवारबाट सरकारी जागिर थाल्ने उनी दोस्रो व्यक्ति भए ।

खरिदारबाट सेवा थालेका उनलाई अझै माथि जाने हुटहुटी पलायो । त्यही सपनाको ठूलो पहाड चढ्ने क्रममा ०६५ सालतिर नायब सुब्बामा नाम निकाले । सह लेखापालबाट बढुवा भए । सल्यान पुगेका उनी लेखापाल भएर आफ्नै गृहजिल्ला धनुषामै फर्किए । नायब सुब्बामा लेखापालको जिम्मेवारी सम्हाल्दै गर्दा शाखा अधिकृतको विज्ञापन निस्कियो । शाखा अधिकृतमा तीन पटक फेल भए । नायव सुब्बाबाट शाखा अधिकृत बन्ने सपना सजिलै पूरा हुने छाँट देखिएन । शाखा अधिकृतमा चौथो परीक्षा दिए । शाखा अधिकृत भएपछि प्रशासनतर्फ लागे । अब एक खुड्किलो उक्लिनु थियो अर्थात् उपसचिव हुने हुटहुटी पसिसकेको थियो । तर, उपसचिव हुन सजिलो थिएन ।

उपसचिवको जाँच दिन निजामती सेवामा ५ वर्ष काम गरेको हुनुपर्ने थियो। त्यहाँ भन्दा माथि सहसचिवमा जान त सात वर्ष पर्खिनुपर्ने भयो। यसबीच आरक्षण कोटाबाट परीक्षा दिन पनि ४ वर्ष सेवा अवधि पूरा गरे हुने भएपछि केही सजिलो भयो। उपसचिवमा पनि तीन पटक फेल भए । सेवा अवधि ७ वर्ष पूरा भएकाले सहसचिवमा भिड्न अब ढोका खुलिसकेको थियो । यसरी अघिल्लो बर्ष जेठ ३० गते सहसचिवमा नाम निकाले ।
विस २०६५ मा नायब सुब्बा र २०६८ मा शाखा अधिकृत भएका महतोले प्रशासनअन्तर्गत विभिन्न स्थानीय तह तथा प्रशासनिक निकायहरूमा काम गरे । जागिर खानकै लागि वा जागिरे जीवनमा प्रमोसनक लागि पिएन , मुखिया , खरदार , सुब्बा , शाखा अधिकृत , उप सचिव ,सहसचिव लगायत धेरै प्रकारका परीक्षा दिए । जागिरे जीवनमा सल्यान, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, दोलखा हुँदै कञ्चनपुर पुगे । सल्यान पुग्दासम्म आइए पनि सकिसकेका थिए । सरकारी सेवा गर्दागर्दै बीए सके। सरकारी जागिरसँगै पढाइलाई निरन्तरता दिए । अहिले चार वटा बिषयमा मास्टर्स र अर्थशास्त्र, समाजशास्त्र राजनीतिशास्त्र र जनप्रशासनमा अध्ययनरत छन् । र एलएलबी गरी कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र मुन्तिरको जिल्ला कमाण्ड गरिरहेका थिए ।

May be an image of 4 people, people sitting and people standing

अस्ति मंगलबार गृहले ६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गर्यो । मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ र धनकुटाका वासुदेव दाहालको गृह मन्त्रालयमा तानेको छ । सो ठाउँमा क्रमश धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु दिइएको छ भने राम पाण्डेलाई कञ्चनपुरमा खटाइएको छ । यस्तै कञ्चनपुरका प्रजिअ रामकुमार महतोलाई सर्लाहीमा पठाइएको छ । जुम्लामा उपसचिव विजया प्रसाई तथा पश्चिम रुकुममा केन्द्रीय कारागारका जेलर लक्ष्मी प्रसाद बाँस्कोटाको सरुवा भएको छ । त्यस्तै मुस्ताङमा श्रीनाथ पौडेलको सरुवा भएको छ ।

प्रदेश साँसद यादवद्धारा हातखुट्टा काटिदिने धम्की ?
र रमाइलो संयोग चाहिँ केही ०७६ सालमा सोही जिल्लाको कविलासी नगरपालिकामा कार्यरत रहँदा उनीमाथि सोही जिल्लाका प्रदेश सांसद संञ्जय यादवले हातखुट्टा काटिदिने धम्की दिएका थिए । प्रदेश सांसदको धम्की पछि उनले सोही जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष आफ्नो जिउ ज्यानको सुरक्षाको माग गर्दै ०७६ पुस ७ गते निवेदन दर्ज गरेका थिए ।
यसरी डेढ बर्ष अघि आफ्नो ज्यानको सुरक्षा माग्दै प्रमुख जिल्ला अधिकारी गुहारेका महतो अहिले आफैं सो जिल्लाको सिडिओ बनेर खटिएका छन् ।

प्रकाशित :२०७८ असार १७, बिहीबार १९:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry