‘देशमा उत्पन्न संवैधानिक सङ्कटको समाधान गर्न वामशक्तिबीच ध्रुवीकरण आवश्यक छ’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबीच ध्रुवीकरणको आवश्यकता रहेको बताएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अहिले देशमा उत्पन्न संवैधानिक सङ्कटको समाधानका लागि वामपन्थी शक्तिबीच ध्रुवीकरण आवश्यक रहेकामा जोड दिए।

Advertisement 1

कम्युनिष्ट पार्टीमा विकृति र विसङ्गति फैलिएकाले नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिँदै उनले सिद्धान्तमा निष्ठावान तथा जनताप्रति समर्पित वामसमूहबीच एकता, सहकार्य र समन्वय अपरिहार्य रहेको विचार व्यक्त गरे। अध्यक्ष नेपालले मुलुकमा देखिएको वर्तमान समस्या र अन्योलता समाधान गर्न चुनावको विकल्प नरहेको बताउँदै सरकारले सबै दललाई विश्वासमा लिएर निर्वाचन गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय राजनीतिमा कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा र विश्वास रहेको बताउँदै अध्यक्ष नेपालले मुलुकको राजनीतिलाई जनताको पक्षमा ल्याउन कम्युनिष्ट शक्ति संवेदनशील हुनुपर्ने उल्लेख गरे। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले जेनजी प्रदर्शनको भावनालाई समेट्नगरी पार्टीले पार्टी कमिटीमा २० प्रतिशत युवा सुनिश्चित गर्ने जनाउँदै सुशासन, रोजगारी, जनतालाई सहज रूपमा सेवा प्रवाहलगायत विषयलाई सबैले प्राथमिकता राख्नुपर्ने बताए।

Advertisement 2

आजदेखि कात्तिक १४ गतेसम्म काठमाडौँमा बस्ने बैठकमा वामपन्थी शक्तिबीच एकता तथा सहकार्य गर्ने विषयमा नेताहरूबीच देखिएको मतभिन्नता र आन्तरिक विवादको समाधान केन्द्रीय कमिटी बैठकबाट गरिनेछ। पार्टीको वैचारिक दृष्टिकोण तथा सैद्धान्तिक विषयको निर्णय, पुनर्गठनको कार्ययोजनासहित अहिलेको नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको विषयमा पनि निर्णय गरिने पार्टीका पोलिटब्यूरो सदस्य ताजमोहम्मद मियाँले जानकारी दिए। उनका अनुसार बैठकमा जेनजी प्रदर्शनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताविरुद्ध विभिन्न अभियान सञ्चालनसम्बन्धी विषय तथा आवश्यक कार्यक्रम अनुमोदन गरिने छ।

प्रकाशित :२०८२ कार्तिक १२, बुधबार १६:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry