नैतिक जीवनको विकास

आज विश्व असन्तुलन, द्वन्द्व र संघर्षले आक्रान्त छ। राष्ट्रहरूबीच युद्ध, समुदायबीच घृणा र परिवारभित्रै कलह देखिन्छ। यसको मूल कारण बाहिरी कारण मात्र होइन, भित्री प्रदूषण हो। जब प्रत्येक व्यक्तिले आफ्नै आत्मालाई अनुशासित गर्ने, लोभ–मोहको बन्धन चिर्ने र सत्यलाई आत्मसात् गर्ने अभ्यास गर्छ, तब समाज स्वतः शान्त हुन्छ।

Advertisement 1

आत्मिक परिष्कारले मानिसलाई “म” बाट “हामी” तर्फ डोर्याउँछ। यसले सानो घेराबाट ठूलो परिवारको बोध गराउँछ। सहअस्तित्व  केवल सहनशीलता होइन, गहिरो स्तरमा आत्मीयता हो। जसले अर्कोको पीडालाई आफ्नै पीडाजस्तै महसुस गर्छ, उसले मात्र सहअस्तित्वलाई जीवन्त पार्न सक्छ।यसरी, आत्मिक परिष्कार बिना सहअस्तित्व सम्भव छैन। समाजले चाहेको वास्तविक शान्ति, सद्भाव र सामूहिक समृद्धि बाह्य व्यवस्थाबाट होइन, अन्तरमनको जागरणबाट आउँछ। आत्मा उज्यालो भयो भने समाजमा घृणाको अन्धकार टिक्दैन। चेतना स्वच्छ भयो भने सभ्यताको आधार बलियो हुन्छ। त्यसैले, आत्मिक परिष्कारलाई व्यक्तिगत मात्र होइन, सामूहिक उद्धारको मूल आधार मान्नुपर्छ।

अन्तर्मनको शुद्धिकरणले मात्र व्यक्ति स्वयम् शान्त, सन्तुष्ट र सफल हुँदैन, वरन् समाज पनि सुन्दर, समृद्ध र स्थिर बन्न सक्छ। अध्यात्मिक अभ्यासले मानिसलाई आफ्नो भित्री स्वभावलाई चिनेर सुधार्न र आफू मात्र होइन, अरूको जीवनमा पनि सकारात्मक प्रभाव पार्न सक्षम बनाउँछ। यसले हाम्रो दैनिक जीवनलाई मात्र होइन, सम्पूर्ण समाज र राष्ट्रलाई नै उज्यालो बनाउने सामर्थ्य राख्दछ। त्यसैले, अन्तर्मनको शुद्धिकरण र सामाजिक सद्भावलाई मानव जीवन र विकासको अभिन्न अङ्गको रूपमा लिन आवश्यक छ।

Advertisement 2

जीवनको वास्तविक यात्रा बाहिरी उपलब्धिमा मात्र सीमित हुँदैन। बाह्य सफलता, सम्पत्ति र नामले क्षणिक सन्तुष्टि त दिन सक्छ तर आत्मा त अझ गहिरो अर्थ खोजिरहेको हुन्छ। जब मानिस आफ्नो अन्तरमनलाई निखार्न थाल्छ, त्यतिबेलामात्र आत्मिक परिष्कारको द्वार खुल्छ। आत्मा शुद्ध भए समाज शान्त हुन्छ। आत्मा दूषित भए, सभ्यता नै असन्तुलित हुन्छ।

मनको उज्यालो र मानवत्वको सम्बन्ध दार्शनिक दृष्टिले गहिरो छ। प्लेटो र अरिष्टोटलका अनुसार, चेतनाको शुद्धता नै जीवनको सर्वोच्च लक्ष्य हो। पूर्वीय दर्शनले पनि यही कुरा पुष्टि गर्छ। भगवद् गीता, उपनिषद् र बौद्ध ग्रन्थले मनको उज्यालोलाई जीवनको मार्गदर्शक शक्ति मान्छन्।

Advertisement 3

जहाँ मन उज्यालो हुन्छ, त्यहाँ विवेक, करुणा र निःस्वार्थ प्रेम प्रकट हुन्छ। मन अन्धकारपूर्ण छ भने शक्ति, ज्ञान वा प्रतिष्ठा भए पनि व्यक्ति पतनको बाटोमा हुन्छ। यसरी, मानवत्वको विकास केवल बाह्य गुणमा होइन, मनको उज्यालोमा निर्भर हुन्छ।मन उज्यालो बनाउन आत्म-परिष्कार आवश्यक छ। आत्म-परिष्कार भन्नाले आत्मनिरीक्षण, मनोबल विकास, अहंकार र नकारात्मक भावना नियन्त्रण गर्नु हो। योग, ध्यान, साधना, प्रार्थना र सत्कर्मले आत्मा उज्यालो बनाउँछ र मनको प्रकाश फैलाउँछ।

मनको उज्यालो मानव जीवनको आधारभूत शक्ति हो। यसले केवल व्यक्तिगत विकास मात्र होइन, सामाजिक र आध्यात्मिक उन्नतिलाई पनि सुनिश्चित गर्छ। जहाँ मन उज्यालो छ, त्यहाँ विवेक, करुणा, सहिष्णुता र मानवत्वको विकास स्वतः हुन्छ। पौराणिक, दार्शनिक र आध्यात्मिक दृष्टान्तहरूले स्पष्ट देखाउँछन् कि मन उज्यालो बिना साँचो मानवत्व सम्भव छैन।

 (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

प्रकाशित :२०८२ चैत्र १, आईतवार १४:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry