राजनीति , निजामती र नियती

Advertisement 1

हाम्रो राजनीती र सुखसरणको यात्रा ।
——————

प्राचीन समयको कुरा हो । सुखसरण नामको व्यापारी सुखको खोजीमा निकै परसम्मको यात्रा तय गरेर हिँड्यो । यात्रामा ऊ एक्लो थिएन । उसको नेतृत्वमा हिड्ने अरुहरु पनि थिए । बाटो उबडखाबड थियो । कतै उकाली त कतै ओराली । कतै वनको बास त कतै उजाड मरुभूमि । सबै व्यवधान र जोखिमहरु पार गर्दै जारी रह्यो यात्रा ।
धेरै दिनको कठिन यात्रापछि उनीहरू सजिलो र तेर्सो बाटोमा पुगे ।
ठूलाठूला वर पिपलका रुखहरु । नजिकै जलाशय , फलफूल र अन्न दिने असल ग्रामीण मानिसहरू ।

Advertisement 2

मानिसहरू भन्न थाले – अहो हजुर ! आजसम्म धेरै बटुवा देखियो हजुरहरु जस्तो कोही देखिएन ।

सुखसरण मक्ख पर्‍यो ।
अब त बाघ-भालुको डर पनि रहेन । शत्रुहरुलाई परास्त गर्दै यहाँसम्म आइयो । यो यात्रा खुसीका लागि हो । जब बीच यात्रामै खुसी प्राप्त हुन्छ भने यहीँनेर यात्रा बिसाए भयो । जुन कुराको आसले यात्रा गरिएको हो त्यो गन्तव्यमा नपुग्दै पाइन्छ भने किन थप यात्रा गरिरहनु ?

Advertisement 3

उसले गाउँलेहरुलाई सोध्यो – यहाँबाट गन्तव्य कति टाढा छ ?

गाउँलेहरु – जम्मा तीस दिनको यात्रा हो । अट्ठाइस दिन उबडखाबड , वन-जङ्गल , ढुङ्ग्यान , मरुभूमि , सिमसार आदि सबै प्रकारका दु:खले भरिएको बाटो हो । तपाईंले अट्ठाइस दिन पार गर्नुभयो । अब त दुई दिनको बाटो बाँकी छ । तेर्सै तेर्सै ओबानो र सुकिलो ।

सुखसरण – पुगेपछि के हुन्छ ?

गाउँले – पुगेपछि फेरि परिश्रम गर्नुपर्छ । किन्तु त्यो परिश्रममा अट्ठाइस दिने परिश्रममा जस्तो ज्यानको खतरा हुँदैन । सफल हुन सकिएन भने मानको खतरा हुनसक्छ ।

सुखसरण – पैसा कत्तिको फल्छ नि पैसा ?

मानिसहरू – पैसा त फल्छ , तर एक्लै राख्न पाइन्न । पैसा सबैको हुन्छ । यहीँ अडिनुभयो भने सबै पैसा आफ्नै हुन्छ ।

सुखसरणले यसो सोच्यो – गन्तव्य त खतर्नाक पो रहेछ !

ऊ त्यही चौतारीमा आरामसाथ मीठो खाएर बस्यो । गन्तव्यमा झन मीठो खान पाइन्छ , सबैको भलो पनि गर्न सकिन्छ भन्ने बुझेन ।

हाम्रो राजनीतिको यात्रा पनि सुखसरणको यात्रा भएर रह्यो ।

हाम्रो निजामती र महासागरको यात्रा
——————

प्रतिभावान युवालाई निजामती सेवामा छिराएर जवानीमै वृद्ध र अल्छी बनाउने देश हो हाम्रो । के केन गरिएला भनेर नदीतिर दगुर्ने गडगडे खहरे जसरी नदीमा मिसिएपछि आफ्नो पहिचान गुमाउँछ , जोडले सुसाउने नदी जसरी महासागरमा विलीन भई शान्त भएर बस्छ हाम्रो निजामतीको हाल पनि त्यही छ ।
हाम्रो राजनीतिले प्रतिभाहरुलाई आफूमा समाहित गरी सारा चेतना र संकल्पलाई परित्याग गर्न सघाउँछ।

जब पद थिएन ,मन अशान्त थियो । केही गरेर देखाउने हुटहुटी थियो । जब पद मिल्यो सबै शान्त ! केही गर्नु नपर्ने , गर भनेको गरे पुग्ने । दिमागलाई सास्ती दिनु नपर्ने । सुन्ने कान र चलाउने हातखुटा भए पुग्यो । माथिमाथि पुग्दा विशिष्टताको भ्रम पाल्न पाइने , शिष्टता नचाहिने ।

अझै पछिसम्म सम्भावित अनुग्रहको आसमा चन्चल आत्मा अविनाशी ब्रह्ममा एकाकार भए जस्तो गरी महासागरमा लीन हुनुको मजा सम्बन्धितलाई नै थाहा हुन्छ ।

हाम्रो नियती र टेन्टालसको नरक
—————–

सरस्वतीको पूजा हामी गर्ने सरस्वती भने हार्बर्ड , क्याम्बृज , अक्स्फोर्ड , बेइजिङतिर बस्ने । विश्वकर्माको पूजा हामीले गर्ने , विश्वकर्मा भने फ्र्याङ्कफर्ट , डेट्रोइट , टोकियो , लण्डन , प्यारिस र साङ्घाइतिर बस्ने । पुष्पक विमान हाम्रो तर धातुका विमान पश्चिमाले उडाउने ।

इन्द्रचोकतिर एकजना ज्यादै सिपालु वैद्य रहेछन । धेरैथरी रोगको औषध बनाउन जान्ने । धेरैलाई जीवनदान दिए । तर विडम्बना ! उनी त्यो विद्या कसैलाई नसिकाएरै परमधाम भए । उता डाक्टर जेनरले गाईको खटिराबाट बिफरको खोप पत्ता लगाएर सबैलाई सिकाए ।

प्राचीन ग्रीसको कथा हो । एकजना टेन्टालस भन्ने क्रूर राजा रहेछ । उसलाई पतन भएर पातालको नरकमा जाकिनु भन्ने श्राप पर्‍यो । ऊ पातालमा खस्यो । टेन्टालस भोक र तिर्खाले व्याकुल छ । मीठो पानीयुक्त तलाउमा उभिएको छ ऊ । जब पानी बढेर मुखको नजिक आउँछ , ऊ खुसी हुँदै पानी पिउने प्रयत्न गर्छ । तर विडम्बना ! पानी स्वात्तै तलतिर भागेर जान्छ । उसको वरिपरि फल फलेका छन् । मगमग बास्नाले लोभ्याइरहन्छ । अनायास फलहरु उसको नजिकै आउँछन् । किन्तु जब ऊ खुसी हुँदै फल टिप्ने प्रयास गर्छ , दुर्भाग्य ! फलहरु उसको पहुँचभन्दा पर पुग्छन् , गायब हुन्छन् ।
त्यही अभागी टेन्टालसकै जस्तो छ हाम्रो नियती । हामीसङ्ग सबै कुरा छन् । परन्तु हामी उपयोग र उपभोग गर्न असमर्थ छौं । हामी सुनको ढुङ्गामाथि लम्पसार परेर एकमुठी सातुको लागि हात पसार्ने फकिर जस्ता भयौं ।

प्रकाशित :२०७७ भाद्र ११, बिहीबार १२:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry