बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिकामा बालश्रममुक्त उद्योग घोषणा अभियान थालिएको छ। यसका लागि बालअधिकार संरक्षण र बालश्रम उन्मुलनलाई प्राथमिकता दिँदै नगरपालिकाले बहुपक्षीय सहभागितामा अनुगमन अभियान सुरु गरिसकेको छ।
नगरभित्र सञ्चालित विभिन्न उद्योगमा बालश्रमको अवस्था बुझ्न नगरपालिकाले प्रारम्भिक चरणको अभियान सञ्चालन गरी उद्योगमा कार्यरत बालबालिकालाई उद्धारसमेत गरेको हो।
नगरका जनप्रतिनिधि, महिला तथा बालबालिका शाखा, सुरक्षा निकाय, बालअधिकार संरक्षण समिति, बालक्लब एवं बालसञ्जाल, सञ्चारकर्मी तथा सरोकारवाला निकायको संयुक्त टोलीले पहिलो चरणमा वडा नं १ र ४ अन्तर्गत रहेका इँटा उद्योग, सिसा उद्योग, चप्पल कारखाना, बिस्कुट उद्योग, प्लास्टिक तथा ट्याङ्की उद्योगमा स्थलगत अनुगमन गरेको छ।
अनुगमनका क्रममा बालश्रम नदेखिएका उद्योगलाई ‘बालश्रममुक्त उद्योग’को पहिचान–स्टिकर टाँस गरिएको नगर उपप्रमुख विमला सापकोटा दाहालले जानकारी दिए। उनका अनुसार बालश्रम भेटिएका उद्योगलाई तत्काल सचेत गराइएको छ। यस्तै, १८ वर्षमुनिका बालबालिकालाई श्रममा लगाइएको पाइएमा अभिभावकको जिम्मामा घर फर्काउने र पुनःदोहोरिएमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको नागरपालिकाका उपप्रमुख दाहालले बताए।
अनुगमनका क्रममा वडा नं १ मा सञ्चालित केही सिसा उद्योग तथा चप्पल कारखानामा भने बालश्रम प्रयोग भएको पाइएपछि सम्बन्धित उद्योग सञ्चालकलाई तत्काल सचेत गराउँदै बालबालिकालाई अभिभावकको जिम्मामा पठाइएको छ। उद्योग सञ्चालकलाई भविष्यमा बालश्रम प्रयोग नगर्ने प्रतिबद्धतासमेत गराइएको उपप्रमुख दाहालले जानकारी दिए।
उनका अनुसार १ नं वडामा सञ्चालित इँटा उद्योग, वाइन उद्योग, बिस्कुट तथा स्टिल उद्योगमा भने बालश्रम नदेखिएपछि स्टिकर टाँसेर बालश्रममुक्त उद्योग घोषणा गरिएको छ।
बालबालिकालाई श्रममा लगाउनु कानुनविपरीत भएकाले उनीहरुको भविष्यसँग खेलबाड नगरी उद्योगलाई जिम्मेवार बनाउन र सचेतना फैलाउन यो अभियान सञ्चालन गरिएको दाहालको भनाइ छ। अभियानलाई निरन्तरता दिइने जनाइएको छ।
प्रकाशित :२०८३ बैशाख १७, बिहीबार १३:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry