विदेशिएका सन्तान र पारिवारिक पींडा

कुन आमा बाबुलाई हुदैन र आफ्ना सन्तान संग संगै बस्ने रहर! पूर्वीय संस्कार र संस्कृतिका अनुयायी हामी सन्तानका लागि के के मात्र गर्दैनौ र! विभिन्न भाकल,भगवान प्रतिको भक्ति भावना देखि आधुनिक प्रविधि सम्मको सहारा लिन पुग्छौ हामी सन्तान जन्माउन। सन्तान जन्मिए पछि उसको भविष्यको लागि आफ्नो क्षमताले भ्याए सम्मका हर उपायहरू अबलम्वन गर्दै उसको लालन पालन , शिक्षा दीक्षा, संस्कारहरू दिन्छौ। यसरी हुर्काए बढाएको सन्तानले आफ्नो भविष्य बलियो बनाउने उपाय देश भित्र खोज्दा नभेटे पछि विदेश जाने सोच बनाउछ। उसका साथी भाई, छर छिमेक, ईष्ट मित्रबाट समेत स्वदेशमा स्तरीय शिक्षा नभएको, रोजगारीका अवसर नभएको भन्ने स्वरहरूले उसलाई पनि विदेशिन मन लाग्छ। हुन पनि हो स्वदेशमा वेरोजगार भएर बसेर उसले आफ्नो र आफू संग आश्रीत परिवारको जीवन निर्वाह हुने अवस्था देख्दैन। राज्यले पनि यस्ता बेरोजगार यूवालाई सम्बोधन गर्न सक्ने क्षमता राखेको पाउदैन अनि उसलाई पनि विदेशिन मन लाग्छ। यही क्रममा राहदानी बोकेर बिभिन्न कन्सलटेन्सी, मेन पावर आदिको ढोका चाहर्दै हिड्छ र कतै न कतै आफूलाई विदेश हानिनेहरूको सूचीमा लामबद्ध गर्न पुग्छ र यो योजना आफ्ना आमाबाबुलाई सुनाउछ।
Advertisement 1
आफ्ना सन्तानको यस्तो छनौट सुनेर आमाबाबुले विगत सम्झदै भक्कानिन्छन् र भविष्य सम्झदै मलिन अनुहार बनाउछन्।
यसरी विदेशिएका सन्तानले विदेश वसाइलाई नियमित गर्नु पर्ने हुन्छ। त्यो देशको अध्यागमन नीतिले दिएको सुविधा लिंदै सन्तानहरू विदेशमा अडिनका लागि विभिन्न युक्तिहरू अपनाउदै आफ्नो वसाइलाई ब्यबस्थित गर्छन्। यसो हुदै गर्दा जीवनको आधा बसन्त गुजारी सकेका हुन्छन्। यही प्रकारले समय बित्दै जादा आफ्नो बसाई ब्यबस्थित र स्थायी गर्ने क्रममा सो देशको अंगीकृत नागरिता पाउन योग्य भै सक्छन्।
Advertisement 2
आफ्नो देश र आफ्ना आमाबाबुको मांया हुदा हुदै स्वदेशमा फर्केर पनि के गर्ने कसो गर्ने भन्ने विषयले सार्थकता पाउन सक्दैन। किनभने जीवनको कृयाशील उमेर विदेश तिर खर्चेर बांकि जीवन स्वदेशमा बिताउन खोज्दा स्वदेशमा खासै बिकल्प भेटिदैन र विदेश मै बस्ने निर्णय गरी नागरिकता लिने काम हुन्छ। नेपाल जस्ता दोहोरो नागरिकता राख्न नमिल्ने देशको कुरा अलग होला तर दोहोरो नागरिकता स्वीकार गर्ने देशमा पहिलाको नागरिकता नत्यागीकनै त्यहांको नागरिता लिन सहज भएकोले पनि प्रायः नेपालीहरू यही बिकल्प रोजेर त्यही देशको नागरिकता लिन्छन्।
यसरी नागरिकता लिए पछि त्यसको जानकारी पाए र नेपालमा आमाबाबु खिन्न देखिन्छन्। किनभने पहिलो कारण त उनीहरूको नेपाल संगको नाता टुट्यो। यसरी नाता टुट्नुको पछाडि ती सन्तानहरू भन्दा पनि नेपालमा शासन गरेर बस्ने नेताहरू नै जिम्मेवार मानिन्छ। किनभने नेपालको शिक्षा रोजगार मूलक नहुदा बर्षेनी बेरोजगार नागरिकको संख्या थपिदै गएको पाईन्छ। नेपालको शिक्षा बेरोजगार मात्र नभएर प्रतिस्पर्धी पनि छैन। यसैले हाई स्कूल पास गरे पछि उच्च शिक्षाका लागि विदेशिने प्रवृत्ति बढ्दो छ। यसैले रोजगार मूलक र स्तरीय शिक्षा दिन सकेको भए यूवा जनशक्ति विदेशिने क्रम कम हुने थियो। यदि स्वदेश मै काम पाउन सकेको भए श्रम स्वीकृति माग गर्ने यूवाहरूको संख्या पनि कम हुने थियो। सरकारले स्तरीय र रोजगार मूलक शिक्षा दिनुको सट्टा बिभिन्न देशमा श्रम सहचारीको दरवन्दी बढाउदै श्रम सम्झौता गर्दैछ। सरकारका यस्ता कृयाकलापका कारण नेपालमा स्तरीय यूवाहरूको संख्या क्रमशः घट्दै जानाले यसको अशर देशको राजनीति र विकास निर्माणका काममा पर्न गयो र आवधिक निर्वाचनमा स्तरीय उम्मेद्वार पाउनै कठिन भयो। सरकारले गर्ने डेलिभरीमा गुणस्तरीय जनशक्ति प्रवेश हुन छाडे। राजनीति लगायत राज्यले दिने सेवाहरू पेशामा बदलिए र यस्ता कृयाकलापले अपारदर्शिताको वातावरण बन्दै गयो।
Advertisement 3
यति हुदा पनि राज्यले यूवा पलायनको रोकथाम र विदेशिएका यूवालाई नेपाल फर्काउने तर्फ खासै काम गर्न सकेको पाईदैन। यस्तो अबस्थामा हाम्रा सन्तानले विदेशको नागरिकता लिएर आफ्नो बसाईलाई सुरक्षित गरेको पनि एक किसिमले ठीकै लाग्न थालेको छ।
गैर आवासीय नेपालीहरूलाई नेपालको विकासमा सहभागी गराउने नारा चर्को रूपमा उठे पनि उनीहरूबाट लिन सकिने सेवा र सहयोगका लागि सरकारले अनुकूल वातावरण बनाउन सकेन। यसको विपरीत संविधानले गैर आवासीय नागरिकलाई प्रदान गरेका सुविधालाई पनि कानून बनाएर सांघुर्याएको पाईन्छ। यो शताब्दी Globalization को यूग भएकोले नागरिकहरूको Mobilization लाई स्वभाविक मान्न सकिन्छ तर विभिन्न कारणले विदेशिएका नागरिकको सीप र पूजीलाई देश भित्र कसरी भित्र्याउने भन्ने विषय राज्यले अख्तियार गर्ने नीतिमा भर पर्छ। यसैले राज्यले यस तर्फ सोचेर आवश्यक नीति तय गर्नु पर्ने हुन्छ।
हाल विदेशमा रहेका सन्तानहरू आवत जावत गर्न मिल्ने कागजको अभावमा आफ्ना बृद्ध आमाबाबु संग भेट हुन नसक्ने स्थिति र दिवंगत आमाबाबुको अन्तिम संस्कार समेत गर्न नस्क्ने स्थितिमा विदेशको वसाइलाई नियमित गरेको अवस्थालाई अन्यथा मान्न सकिदैन। त्यसैले विदेशिएका सन्तानहरूले गैर आवासीय नागरिकको भूमिकामा आफ्ना आमाबाबु संग भेटघाट गर्ने वैधानिक बाटो रोज्छन् भने यो विषयलाई राज्यले पनि सकारात्मक रूपमा लिन सक्नु पर्ने हो तर यसमा राज्य उदार भएको पाईदैन।
यसरी गैर आवासीय नेपालीहरूलाई विदेशी जस्तो नसोचेर यिनीहरूको नेपाल वसाईलाई सहज बनाउने तर्फ राज्यले सोच बनाएको खण्डमा यिनीहरूको पूजी र सीपको लगानी नेपालमा हुन सक्छ र उनीहरूको पारिवारिक पुनर्मिलन पनि हुन सक्छ। यसैले यसलाई राज्यले सहज बनाओस् भन्ने कामना गर्न सकिन्छ।