चाकडी,चाप्लुसी र यसको अशर

योग्यता वा क्षमता विना केही फाईदा लिन गरिने कृयाकलापलाई चाकडी भनिन्छ । जुन देशमा प्रणालीबाट भन्दा बाहिरबाट काम गरिन्छ, त्यो देशमा यसको प्रयोग भएको पाईन्छ। छिमेकी देश भारतमा पनि यो प्रवृत्ति अंग्रेजको उपनिेवेश संगै आएको पाईन्छ। उनीहरूले यसलाई जी हजूरी पनि भन्दछन्। अधिकांश भारतीयहरू र नेपालको राजनीति र कर्मचारी दुवै क्षेत्रमा यो देख्न पाईन्छ। नेपालमा राणा काल देखि पंचायत कालमा यसको उपयोग अत्यधिक हुने गर्दथ्यो। हाकिमलाई भेट्दा धनुष्टंकार नमस्कार गर्ने चलनै थियो। बहुदल आए पछि र त्यस पछि गणतन्त्र सम्म पनि यो प्रवृत्तिले महत्व पाउदै आई रहेको छ।

Advertisement 1

चाकडी पनि किसिम किसिमका हुदा रहेछन्।भेट्दा धनुष्टंकार पोज देखि घरमा जादा रित्तै हात नजाने, बेला बेलामा रेष्टुरेण्टमा निम्तो दिने, महिनामारी बुझाउने, बक्सियोस् भन्ने, जे भने पनि हस् भनेर झोले प्रवृत्ति देखाउने, जे जति अन्याय गरे पनि चूपचाप सहने, जे बोले पनि त्यसैलाई पुष्ट्याई गर्न खोज्ने, जस्ता बादशाह नांगै हुदा पनि त्यसको विरोध गर्न नसक्ने कथालाई चरीतार्थ गर्ने प्रवृत्तिहरू यस अन्तर्गत पर्छन्।

पहिला पहिला कर्मचारीतन्त्रमा हावि हुने यो पद्दतिले आजभोली राजनीतिक वृत्तलाई पनि प्रभाव पारेको छ। हालको प्रस्तावित निजामति सेवा विधेयकमा चर्चित रहेको कूलिंग अफ पिरियडलाई यसैको सानदार प्रतिरूप मान्न सकिन्छ। जागीर अवधि भर राजनीतिक वृत्तलाई रिझाएकै कारणले होला सो ऐनमा राख्न खोजिएको २ वर्षे अवधिलाई निष्कृय पार्ने काममा उच्च तहका राजनीतिज्ञको प्रत्यक्ष संलग्नता रहेको पाईएको छ।

Advertisement 2

हाम्रा कथित उच्च तहमा रहने हाकिमहरू प्रत्यक्ष रूपमा राजनीतिक ब्यक्तित्वको चाकडीमा लागेर होला आफू मातहतका कर्मचारीको संरक्षक हुन सकेको पाईदैन। मातहतका कर्मचारीलाई वलीमा चढाएर निवृत्त पर्यन्त समेत रोजगारीमा लाग्ने प्रवृत्तिलाई जीवन्त राख्न हाम्रा विशिष्ट हाकिमहरू चाकडीमा लाग्ने गरेको हुदा कार्य क्षेत्रमा खटिने कर्मचारीहरू संरक्षक विहीन भएको पाईन्छ।
त्यसै गरी यी टाउकेहरू मातहतका कर्मचारीबाट समेत त्यस्तै चाकडीको अपेक्षा गर्छन् जसरी उनीहरूले राजनीतिक वृत्तमा चाकडी पुर्याउछन् र चाकडी नपुर्याउने मातहतका कर्मचारीलाई पाखा लगाउने गर्छन्।

हालै कास्की मालपोत कार्यालय र केही दिन अगाडि भएका भिजीट भीसा प्रकरणले समेत कर्मचारीतन्त्र र राजनीतिक वृत्त बीचको चाकडी, चाप्लुसीको दह्रो उदाहरण दिएका छन्। हाम्रो राजनीतिक वृत्त र कर्मचारी वृत्त बीच हुने गरेका र भएका यस्ता उदाहरणको फेहरिस्त लामै बन्न सक्छ तर यसको रोकथाम र नियन्त्रणका लागि खडा भएका संयन्त्र समेत यसैमा रूमलिएको पाईदा यसले आफ्नो जरा फिजाएको पाईन्छ।

Advertisement 3

हाल देश नै खैरो सूचीबाट कालो तिर उन्मुख हुनुमा पनि यसैको हात छ र सार्वजनिक सेवाको वितरणमा देखिएको समस्यामा पनि यसैको हात छ।
यसको प्रभाव राजनीतिक नियुक्तिमा त देखियो नै तर सरकारले गरेको ज्यादतिको विरूद्ध जाने ठाऊको ढोका भित्र पनि यसको प्रवेश भै सकेको पाईदा त अब कहां गएर यसको उपचार खोज्ने हो थाहा पाउन सकिएन।

यसको अशर कर्मचारी र राजनीतिक वृत्त र कर्मचारी वृत्त भित्र मात्र नभएर देश कै सर्वोच्च नीति मानिने राजनीतिक क्षेत्र भित्र समेत ब्यापक रूपमा फैलिन जादा आदर्श र निष्ठाको राजनीति गर्ने हरेक दलका कार्यकर्ताले निन्याउरो मुख लगाएर खुम्चिनु पर्ने स्थिति देखिएको छ। समानुपातिक प्रतिनिधित्वमा त यसको अशर शत प्रतिशत नै छ भने पनि हुन्छ र प्रत्यक्ष निर्वाचनमा समेत टिकट पाउन यसैको सहारा लिन पर्ने हुन्छ।

हाल आएर राजनीतिक दल भित्र टन्न कमाउनेहरूको प्रवेश सहज भएको छ। यिनीहरूको राजनीतिक क्षेत्रको प्रवेश भनेको विशुद्ध पेशाको रूपमा हो। यसमा काला बजारियाहरू, तस्करहरु, दुई नम्बर धन्दा गर्नेहरु समेत पर्दछन्। यिनीहरूले नेतालाई किन्न सक्छन् र यसरी किनिएको राजनीतिले सो क्षेत्रलाई विषाक्त बनाउछ। नेपालको राजनीति समेत यसबाट अछूतो छैन। यिनीहरु राजनीतिमा प्रवेश गरे पनि आफ्नो पुरानो धन्दालाई भित्र भित्रै चलाई रहेकै हुन्छन् र राज्यका यस्ता संवेदनशील ठाऊमा उनीहरलाई कम्फर्टेवल हुने ब्यक्ति वा कर्मचारी प्रवेश गराएर आफ्नो धन्दालाई कायम राख्छन्।

यो चाप्लुसी र चाकडीले संक्रमण नपारेको क्षेत्र हाल पाउन मुस्किल पर्ने देखिएको छ। समाजमा जब सम्म यसले स्थान बनाउछ तब सम्म देशले प्रगति गर्न सक्दैन। यो समस्याबाट छुटकारा पाउन धेरै मेहनत गर्न पनि पर्दैन। यसको लागि कानून र प्रणाली द्वारा काम गर्ने अठोट हुनु पर्छ। संवैधानिक अंगहरूमा राजनीतिक हस्तक्षेप हुनुहुदैन, न्याय पालिकालाई नामले मात्र हैन कामले पनि स्वतन्त्र रूपमा काम गर्न दिनु पर्छ, राज्यका अंग बीच नियन्त्रण र सन्तुलनको अवस्था रहेको महसुस गर्न पाउनु पर्छ। जनताको काम गर्नेहरूको मूल्यांकन सेवा ग्राहीबाट गरिनु पर्छ। चाकडी गर्ने र चाकडी खोज्नेलाई दण्डित गर्नु पर्छ। यसो गर्न सके मात्र यो प्रवृत्ति हराएर जानेछ।

प्रकाशित :२०८२ श्रावण २९, बिहीबार १२:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry