यो देशको नागरिक मलाई थुक्क!

अहिले इम्बोस्ड नम्बरको विवाद चर्कंदो छ। देवनागरी लिपिलाई मानकीकरण (स्टान्डराइज) गरेर मेशिनले पढ्ने बनाउन मैले मेरो जिन्दगीका ऊर्जाशील करिब १३-१४ वर्ष खर्च गरेँ। मेरो किशोरकालदेखि युवावस्था यसमै सकियो। यो दर्ताका लागि म नेपाल सरकारका सबै निकायमा पुगेँ। विश्वविद्यालयहरू‚ प्रज्ञाप्रतिष्ठान‚ आयोग‚ शिक्षा‚ संस्कृति‚ विज्ञान‚ प्रविधि ‚ अर्थ मन्त्रालय लगायतका कुनै मन्त्रालय छोडिनँ। यसका लागि सिंहदरवारमा मात्रै २०० दिनभन्दा बढी छिरेँ हुँला। सुशील कोइरालादेखि हुँदै २०७३ सालदेखि यताका अधिकांश मन्त्रीहरूलाई भेटेँ। ४-५ जोरभन्दा बढी जुत्ता फटाएँ। म असफल भएँ।
प्रज्ञाका कुलपति‚ उपकुलपति‚ सदस्यसचिव‚ सदस्यहरू‚ प्राज्ञहरू सबैलाई भेटेँ। वर्तमान प्रज्ञाका कार्यकारी र पदाधिकारी सबैलाई यो विषयमा भेटेँ। सबै चिनेकै महानुभाव थिए। अहँ‚ कुनै काम लागेन। उसले उसलाई देखाइरहे। कसैले पनि आफूलाई सम्बन्धित निकाय र अधिकारी मान्न तयार भएनन्।
कसैले यो काम नेपालीले गरेको हो भनेर पनि एउटा कागज दिन पनि मानेनन्। कैयौँ ठाउँमा बेइज्जती र अपमान पनि सहेँ‚ कतिपय मन्त्रालयबाट गलहत्याइएँ पनि।
यो कामका लागि मेरो जन्मथलो दाङ‚ जसंमावि बिजौरी‚ स्थानेश्वर पौडेल‚ खुमकान्त रेग्मी‚ साम्बराज आचार्य‚ मानसाग्नि‚ लक्ष्मी खतिवडा‚ शरच्चन्द्र वस्ती‚ राजन काफ्ले‚ कपिल रोकाया‚ राम राना‚ सुदीप राना‚ मातृकादास राउत लगायत ६० जनाभन्दा बढीको यसमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग छ। यसका लागि कैयौँ समूहले निःशुल्क सहयोग गरेका छन्। निरन्तरको मेरो लगान‚ झुकाव देखेर कैयौँ साथीहरूले सित्तैमा सहयोग गरेका हुन्। उनीहरूप्रति म सदैव ऋणी छु। मेरो व्यहोरा देखेर शरच्चन्द्र वस्ती पागल भन्नुहुन्थ्यो। कहिलेकाहीँ यस्तै पागलले केही गर्छन् भन्नुहुन्थ्यो। उहाँले प्रेरणा भने दिइरहनुभयो। कैयौँबाट ‘जड भरत’को उपमा पनि पाएँ।
यसको दर्ताका लागि रामलक्ष्मण रिमाल‚ मधुसूदन पौडेल लगायत धेरै व्यक्तिसँग पुगेँ। उहाँहरूले मार्ग निर्देश गर्दागर्दै पनि स्थिति सहज रहेन। यसका लागि भारत पनि पुगेँ। त्यहाँ सर्वोच्च र उच्च अदालतमा वकालत गराउन सक्ने मैले ३‚ ३ जना ‘सिनियर एडवोकेट’को खर्च धान्न सकिनँ। फेरि दिल्ली-काठमाडौँको पटक पटकको हवाई यात्रा मेरा लागि सहज थिएन। एजेन्सीलाई दिँदा त्यसको दुरुपयोग हुने अवस्था पनि उत्तिकै देखियो।
विदेशका केही विश्वविद्यालयले यसमा चासो देखाएका थिए। उनीहरूले मलाई विद्यावारिधि वा शोधवृत्ति दिने प्रस्ताव राखेका थिए। देवनागरीको अधिकार दक्षिण एशियाभन्दा बाहिर हुने कुरामा म तयार थिइनँ। मातृका न्यास भनेर जप गरिने देवनागरी लिपिको नवप्रवर्तनको ज्ञान यो भूभागभन्दा बाहिर हुनुमा मैले प्रतिष्ठा देखिनँ। कुनै उपाय थिएन। म निरीह थिएँ‚ हातखुट्टा बाँधेर बसेँ।
थकित भएको थिएँ। यस्तैमा विज्ञान प्रविधि सचिवमा कृष्णराज बीसी आएपछि उहाँले यसलाई हेरेर दर्ता गर्नुभएको थियो। उहाँले यसको बारेमा अनुसन्धान गरी अघि बढाउन निर्देशन दिनुभएको थियो। उहाँ सेवा निवृत्त भएपछि यो यत्तिकै थन्कियो। कुनै बाटोबाट यो अन्यत्र पुगिसकेको छ। यसको प्रयोगमा उनीहरू उत्साहित छन्। यतिखेर यसको बारेमा नेपाल बल्ल उठ्दै छ।
यो काम नेपालले लिन सक्ने हो भने दक्षिण एशियाको सिलिकन भ्याली बन्ने ठाउँ छ। यो तहसम्म सरकारले काम गर्न सक्छ। आर्थिक हिसाबले म त सक्दिनँ।
नेपालका प्रशासनिक‚ राजनीतिक‚ बौद्धिक निकाय र व्यक्तिहरूले यो बुझ्ने छन् भन्नेमा फिटिक्कै आशावादी छैन।
प्रकाशित :२०७९ जेष्ठ २३, सोमबार १४:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry