ममी हजुर भोलि जानु होला नि है !

जीवनमा हरेक मान्छेका आआफ्नै सपनाहरु हुन्छन्, सौखहरु हुन्छन् र लक्ष्य अनि उद्देश्यहरु हुन्छन् र ती मध्ये कति पूरा हुन्छन् कति हुँदैनन् यही नै जीवन हुनुको सुन्दर पक्ष हो ।मलाई लाग्दैन, जीवनमा सुखहरु मात्र हुनुपर्छ, हाँसोहरु अनि खुसिहरु मात्र भरपुर हुनुपर्छ । जीवनको सुन्दर पक्ष भनेकै अलिकति पीडाहरु हुनु, धेरथोर चुनौतिहरु हुनु र केही अप्ठ्याराहरु हुनु हो । जीवनमा खुशीहरु मात्रै हुनु भनेको जीवनको केवल एउटा मात्र पक्ष हो । मान्छेहरुले धेरै टाढा पुग्छु भनी यात्रा तय गरेका हुन्छन् तर ठुल्ठुला सपनाहरुले किचिएर बीचमै हराउँछन्। यस अर्थमा कुनै ठूलो सपना नदेख्नु पनि एक हिसाबले राम्रै हो जस्तो लाग्छ ।
Advertisement 1
म जीवनमा अनेक संघर्षका पहाडहरु छिचोल्दै यस अवस्थासम्म आइपुगेकी हुँ । गाउँको एउटा मध्यम वर्गीय ब्राह्मण परिवारमा जन्मी हुर्की बढेकी म । मेरा पनि केही सपनाहरु थिए, केही अभावहरु र केही अवसरहरु थिए । यस्तै यस्तै भाव र अभावबाट मेरो जीवन अगाडी बढेको हो। पितृसत्तात्मक समाज जहाँ छोरी भएर जन्मिसकेपछि केही सामाजिक तथा लैँगिक सीमाहरु पनि थिए । यी सबलाई छिचोल्दै आजको दिनसम्म आइपुग्दा पछाडी फर्केर हेर्न त खासै मन छैन तर केही नसम्झी पनि रहन नसकिँदो रहेछ ।
छोरी भएर जन्मेकै कारणले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पारिवारिक, सामाजिक तथा लैंङ्गिक हिसाबले भोग्नु परेका अप्ठ्याराहरु कति व्यक्त गर्न सकिन्छन् कति व्यक्त गर्न सकिँदैनन्। पढाइ, जागिर, विवाह, सन्तान, पारिवारीक जिम्मेवारी, पेशागत उत्तरदायित्त्व यी सबैका बीच जीवनका केही सुन्दर पक्षहरु छन् । जसले जीवनलाई कहिलेकाहीँ आनन्दमय बनाउँछन् र पो जीवन जीवन जस्तै जीवन्त पनि लाग्दछ। यसका बावजुद पनि जीवनमा केही गुनासाहरु छन्, असन्तुष्टीहरु छन्, चुनौतीका अग्ला पहाहडहरु छन् , पेशागत जटिलताहरु छन् र पनि जीवन थप अर्थपूर्ण नै लाग्छ ।
Advertisement 2
२०७८ को न्याय सेवाको शाखा अधिकृतको परीक्षा पास गरेसँगै जीवनले एउटा नयाँ मोड लिएको छ। अन्तत जीवनमा सोचेको सफलता हात लागेकोमा धेरै खुशी लागेको छ । यद्यपि यसभित्र पनि केही अप्ठ्याराहरु बाँकी रहे । एउटी विवाहित महिला, परिवारको काठमाडौँको बसाइ, सानी छोरीको अभिभावकीय जिम्मेवारीकाबीच भौगोलिक रुपमा अपायक ठाउँमा पदस्थापन हुँदा पारिवारीक रुपमा धेरै चुनौतिहरु पनि सँगै थपिएका छन् । आम महिलाहरुभन्दा पृथक र प्रगतिशील सोच राख्दा राख्दै पनि स्थापित सामाजिक वास्तविकताले २१ औ शताब्दीमा पनि हाम्रो जस्तो सनातन समाजमा महिला केवल महिलाकै रुपमा रहनुपर्ने वाद्यता अझै विद्यमान छ । यो पनि सत्य हो कि हरकोही जतिसुकै अधुनिक र उच्च ओहोदामा पुगेपनि समाजभन्दा अगाडी र भिन्न रहेर जिउन सक्दैन र समाजभन्दा बाहिर मान्छेको कुनै अस्तित्व रहन्न ।
विगत केही महिनादेखि पर्सा जिल्ला अदालतमा इजलास अधिकृतको रुपमा पेशागत जीवन व्यतित भइरहेको छ। भिन्न भूगोल, फरक भाषा संस्कृति, विषम हावापानीका बीचमा केही रमाइला पल केही तिता अनुभव त भै नै हाल्ने भए । जागिरकै दौरान वेला वेलामा घर गइरहँदा र छोरीसँग लामो समय पछी भेट हुँदा र केही छोटो समयको अन्तरालमा नै फेरि फर्केर आउनुपर्दा मनमा अनेक भावहरु उत्पन्न हुन्छन् र मन उद्देलित हुन्छ ।
Advertisement 3

धेरै दिनको कार्य क्षेत्रको बसाइ पश्चात छोरी माया र सम्झना बोकेर घर जाँदा कामको तनाव र संसारभरका पीडाहरू छोरीको आँखामा देखिएको खुशी र हाँसोले बिर्सिएर आफूभन्दा भाग्यमानी अरू कोही छ जस्तो लाग्दैन । केही दिनको बसाइमा कति खुशी र सुखीको अनुभूति हुन्छ ? शब्दमा व्यक्त गर्न सक्दिनँ । फर्कने दिन नजिकिँदै गर्दा मनमा अति बेखुशी पैदा हुन्छ, तर पेशागत बाध्यताले चांडै काममा फर्किने दिन आउँछन् र अनि आफ्नो गला अबरूद्द पार्दै भन्नुपर्छ नानी म त आज जान्छु है ।
सानी छोरीका ती अवोध ओठहरूवाट प्रायः एउटै वाक्य सदैव निस्किन्छ, हजुर भोलि जानुहोला नि ! मेरो कामको संवेदनशिलता र पेशागत उत्तरदायित्वको जवाफ त्यो कलिलो मस्तिष्कले बुझ्न सक्ने भए साँच्चै कति सजिलो हुन्थ्यो होला, मलाई जवाफ दिन । मन भक्कानिएर आउँछ । मन मनै सोच्छु आमाको काखमा लुटपुटिएर सुत्नु ,हरेक स(साना गल्तीहरुबाट सिक्न पाउनु, बालकथाहरु सुन्दै मस्त निदाउन कति मन लाग्छ होला उसलाई । हर संघर्ष र कठिनाईका पहाडहरू चढेर यहाँसम्म आइपुग्दा सम्झन लायक र बिर्सन लायक सम्झनाहरूको एक ठूलो उपन्यास र काव्य नै बन्छ । कति अक्करहरूको कठिन यात्रा पछि जीवन फराकिलो सडकमा अवतरण त भयो तर दुःखका साना थुम्काहरू अझै सकिएनन् र सम्भवतः फेरि पनि वाँकी रहनेछन् । यो पनि जीवन हुनुको स्वानुभूति हो जस्तो लाग्छ ।
ईजलासमा बसेर काम गर्दे गर्दा अचानक छोरीको यादले सताउँछ । एउटा हुनुपर्नेमा अर्को हुन्छ, काम बिग्रिन्छ, मनस्थिति बिग्रिन्छ र अनायस मुटु भक्कानिएर आउँछ तर आँसु झारेर रून पनि मिल्दैन । रून नपाउनु जस्तो ठूलो पीडा अर्को नहुँदो रहेछ ।खाजा खांदा, बजार जाँदा, खाना खाँदा जतिखेर पनि उसैको अनुहार झल्झली याद आउँछ । त्यही यादले मन भत्भति पोल्छ । आमाको हात समाएर स्कुल जाने, आमाकै काखमा लुट्पुटिएर निदाउने मातृवात्सल्यको अवसर सम्भवतः मेरी छोरीको प्रारब्धमै थिएन सायद र पो मातृवात्सल्यको अनुपम अवसरबाट ऊ वञ्चित हुनुपरेको छ ।
एउटी आमाका लागि नेपाली संस्कारी वैदिक समाजमा सरकारी जागिरका पनि आफ्नै सकारात्मक र नकारात्मक पाटाहरू छन् । एकातिर नारीलाई कमजोर र पुरूषको निजी सम्पत्तिका रूपमा चित्रण गरिने हाम्रो समाजमा लोकसेवाको खुला प्रतियोगितावाट शाखा अधिकृत भइ जागिर खाइरहँदा छुट्टै गर्वको महशुस हुन्छ । अर्कातिर आफ्नै मुटुको टुक्रासँग छुट्टिएएर बस्नु पर्दाको पीडाले कहिलेकाही दुखित बनाउँछ । अझ बढी विचलित त पहुँचवालाको सबै थोक हुने र पहुँच नहुनेले सदैव पिल्सिरहनुपर्ने, हर सुविधा र अवसरमा सम्झौता गरिरहनुपर्ने देशको प्रशासनिक पद्दतिले बनाउँछ ।यो जत्तिको मर्मस्पर्शी र नमिठो अनुभव सायद अरु हुन सक्दैन ।
एउटी नारीले घरवाहिर बसी जागिर खानुका पनि केही सर्वमान्य सीमाहरू छन् र अप्ठ्याराहरू छन् । सार्वजनिक ब्यक्तित्व भइसकेपछि र घर बाहिर बसेर जागिर खाइसकेपछि सामाजिक र पारिवारीक सीमाहरू जानी नजानी जतिखेर जहाँ पनि उल्लंघन हुन सक्छन् र त्यसपछि सामना गर्नुपर्ने केही कठिन प्रश्नहरूले फेरि विचलित बनाउँछ ।
पछिल्लो पटक विदामा घर गएदेखि मन फेरि विचलित भएको छ । घर गइयो छोरीको हात समाउँदै हिडियो घुमियो र रमाइयो जुन उसको एउटामात्र चाहना हो । घरजाँदा उनले सधैँ घुम्न जाउँ भन्ने ठाउँ विसमुरे चौतारोसम्म पुगियो । घुमियो अनि रमाइयो । ऊसँग हिँड्दा, खाँदा, बस्दा, उठ्दा र सुत्दा उसको आँखामा र निर्दोष अनुहारमा देखिएको खुशीलाइ संसारका अन्य कुनै वहुमुल्य खुशीहरूसँग तुलना गर्न सकिन्न । उसका हरकेही जिज्ञासाहरू र उसको चञ्चलतासँग रमाउँदा रमाउँदै जीवनका हरकेही दुःख र पीडाहरू नजिक आउने आँट गर्दैनन् तर नचाहँदा नचाहँदै जागिरमा फर्कनुपर्ने दिन आइपुग्छ र छोरीको अवोध मस्तिष्कलाई ज्ञात हुन्छ कि आज त ममि जानुहुन्छ र भन्छे ममि हजुर भोलि जानुहोला ।जतिदिनसँगै बसेपनि नअघाउने हाम्रो सम्वन्ध, प्रेम र मातृत्व। सम्हालिन सक्दिनँ र त्यो दिनको यात्रा स्थगित गर्छु । फेरि अर्को दिन पनि उसको त्यही जिज्ञासा रहन्छ ममि हजुर भोलि जानुहोला हुँदैन र ?
छोरीलाई वाइवाइ गर्दै केही थान मन भुलाइदिने ललिपप थमाउँछु । तर त्यो पटक ती लालीपपले उसको मनलाई भुलाएन । त्यो एकछिनको गुलियोपनले उनलाई मातृत्व, माया र स्नेहलाई जित्न सकेन वा त्यो ललिपपले केही अर्थ राखेन । म ओझेल नपरुन्जेल र देखिउन्जेल हात हलल्लाइ रहिन् । भन्न मन थियो होला, हजुरको त्यो शहरमा मलाई पनि सँगै लानोस् तर म सधै डर देखाउँछु, लामखुट्टे र गर्मीको । मेरो यही अस्त्रले उनी आजसम्म मेरो पछि लाग्न सकेकी छैनन् र हजुरसँगै जान्छु भनी जिद्दी गर्न सकेकी छैनन् । फर्कँदा बाटोभरि र यात्राभरि सदैव मेरो मनमा कानमा “ममि हजुर भोलि जानुहोला हुँदैन?” भन्ने उनको दोहोरिरहने त्यही वाक्यले ध्वनित र प्रतिध्वनित हुन्छ र मन विह्वल बनाउँछ। अब मसंग विकल्प हुँदैन र मनमा स्नेह र प्रेमको भारी बोकेर, बस् छोरीका तिनै मायालु शब्दहरुलाई कार्य क्षेत्रको जिम्मेवारी, आफ्नो वास्तविकता र यथार्थताले थिचिदिएर पुन कार्यथलोमा फर्कन्छु ।