कर्मचारीतन्त्रको नवनिर्माण

संरचनात्मक कमजोरी, नैतिक ह्रास र सुधारका सम्भावना
नेपालको निजामती प्रशासन आज नैतिक नीरसता, राजनीतिक प्रदूषण र दण्डहीनताको त्रिशूल मा छटपटाइरहेको छ। जुन प्रशासन राष्ट्रसेवक बन्नुपर्ने थियो, त्यही प्रशासन अहिले घूससेवक बन्ने ‘कर्मकाण्डी कर्मथलो’मा रूपान्तरित भइसकेको छ। प्रशासनिक भवनहरू शक्ति र सेवाको मन्दिर होइन, दलालहरूको दलान बनेका छन्, जहाँ तीन तले सरकारी भवनमा चिया र गफको बाफमा नागरिकको सपनाको श्वास थुनिन्छ। हिजो राष्ट्रसेवा गर्न आएका हातहरूले आज लोकसेवाको सपथ होइन, लोकल ‘सेवा’ को साइनबोर्ड समाइरहेका छन्। सेवा होइन, स्वार्थको सेतो मुस्कान हाँसेर नागरिकलाई पीडा थपिरहेका छन्, र यस्तै पाखण्डमा हाम्रो राष्ट्रको मेरुदण्डमा क्यान्सर पलाएको छ।
राष्ट्रसेवामा लाग्नु भनेको जनताको करबाट तलब लिएर फाइल मात्र सार्नु होइन, जनताको पीडा घटाएर राष्ट्रको ऋण तिरिदिनु हो। सेवा भनेको ‘काम गर्न आएको’ होइन, ‘कसैको आँसु पुछेर जाने’ हो। तर आज सत्ता, सुविधा र स्वार्थले सेवा, सादगी र सजगतालाई सरापेर फालिदिएका छन्। सञ्चार, सृजनशीलता, सजगता, सादगी, सेवा र सत्यता यी कर्मचारी सेवकका गहना हुनुपर्नेमा आज घूस, गफ र गालीका जन्जिरले ती गहनालाई बदलिदिएका छन्। सेवाग्राहीको अनुहारमा मुस्कान ल्याएर मात्रै राष्ट्रसेवक बन्न सकिन्छ, नत्र मेजमुनि लुकाएको ‘घूसको खाम’ राष्ट्रको आत्मालाई थिच्ने हतियार मात्र हो।
नितान्त निर्जीव नियम र नाकाबन्द प्रक्रियामा नफसी, नागरिक हितका लागि निर्भीक निर्णय लिनु नै कर्मचारीको धर्म हो। नियमहरू नागरिकको हितका लागि बनाइन्छन्, नागरिकहरू नियमका लागि होइन। तर अहिले नियमको नाममा जनताको सपना हत्या गर्ने, ढिलासुस्तीको बलिमा परिणाम चढाउने प्रवृत्तिले लोकतन्त्रको कपालमा पानको रसको डाम बनाइरहेको छ। प्रक्रिया नपुगेको नाममा डर देखाउने र प्रक्रिया लम्ब्याएर सेवा रोक्ने लोभले राष्ट्रको गतिलाई रोकिरहेको छ। नियमको पालनले नागरिकलाई राहत दिनुपर्छ, डर होइन, र सेवामा सहजता दिनुपर्छ, अप्ठ्यारो होइन भन्ने आत्म–बोध कर्मचारीको आत्मामा जाग्नु अत्यावश्यक छ।
जब लोकसेवामा छानिएको कर्मचारी ‘राष्ट्रसेवक’ बन्न गयो तर ‘घूससेवक’ भएर फर्कियो, त्यो व्यवस्थामाथिको क्रूर हास्य हो। राष्ट्रले इमानदार सेवकको आशा राख्दा कार्यालयबाट स्वार्थी घूसखोर फर्कन्छ, जब कर्मचारी ‘निर्णय’ होइन, ‘ढिलासुस्ती’ बाँड्छ, तब लोकतन्त्रको आत्मामा काला बादल लाग्छ। ईस्टोनिया ९५% सेवा डिजिटलमार्फत प्रदान गर्न सफल हुँदा हामीकहाँ स्क्यानर बिग्रिएको भन्दै नागरिकको फाइल हराउँछ, कम्प्युटर चलाउन नजान्ने कर्मचारी फेसबुकमा ‘हामी राष्ट्रसेवक’ भन्दै तस्बिर राख्छन्, तर सेवाग्राही लाइनमा दिन बिताउँछन्। यही विडम्बना व्यवस्थाको विडम्बना हो, जहाँ जनताको आँसुबाट कर्मचारीको तलब तिर्ने र त्यही तलबले घूस बढाउने दुस्साहसले राष्ट्रलाई नराम्रो सपनामा फसाइरहेको छ।
अहिलेको आवश्यकता ‘आत्म–सुधारको तीर्थयात्रा’ हो, जहाँ हरेक कर्मचारीको आत्माले प्रश्न गरिरहन्छ, “म राष्ट्रको लागि बाँचिरहेको छु कि स्वार्थको साँप पालिरहेको छु?” कर्मचारीतन्त्र सुधार्नु भनेको केवल संरचना बदल्नु होइन, सोच बदल्नु हो, मूल्य बदल्नु हो, नैतिकता फर्काउनु हो। राष्ट्रसेवा भनेको कर्मको क्षमाशीलता र राष्ट्रसेवाको साधना गर्नु हो। योगीहरूले ध्यान गरेर आत्मालाई शुद्ध बनाउँछन्, त्यसरी नै राष्ट्रसेवकहरूले मन, वचन र कर्मलाई शुद्ध बनाएर मात्र राष्ट्रको मेरुदण्ड बलियो बनाउन सक्छन्। सेवाग्राहीको अनुहारमा आएको मुस्कान नै राष्ट्रसेवकको असली तलब हो, त्यो मुस्कान पैदा नगरी लिएको हरेक तलबको रकम राष्ट्रबाट चोरेको पाप हो। हरेक बिहानको यात्रा राष्ट्रको स्वप्नजागरणका लागि खर्च होस्, नत्र त्यो बिहान, साँच्चै, नराम्रो बिहान हुनेछ।
आत्म–सुधारको तीर्थयात्रा भनेको आन्तरिक जिम्मेवारीको उज्यालोले बाहिरी कर्मलाई आलोकित बनाउनु हो। प्रत्येक बिहान कार्यालय जाने बेलामा “म आज कसैलाई पीडा दिइरहेको छैन” भन्ने प्रतिज्ञा गर्नु र फाइल सार्दा “यसको ढिलाइले कसैको घरमा आँसु आइरहेको छैन” भन्ने सम्झनु आत्म–सुधारको पहिलो पाइला हो। नागरिकलाई सम्मानपूर्वक हेर्ने संस्कार विकास गर्नु अनिवार्य छ, किनकि उनीहरूले कर तिरेर तिमीलाई जागिर दिएका छन्, र तिनीहरूको काममा ढिलाइ गर्नु भनेको तलबको चोरी गर्नु हो भन्ने बोध जागाउनु पर्दछ। आफ्नो जिम्मेवारीलाई राष्ट्रप्रेमको कर्म ठानी सेवा गर्दा राष्ट्रसेवाको पवित्रता महसुस हुन्छ र परिणाम र गुणस्तरबाट सन्तुष्टि प्राप्त हुन्छ। राजनीतिक हस्तक्षेपलाई निषेध गर्दै राजनीतिक आडमा स्वार्थ पूरा नगर्ने प्रण गर्नु र कर्मचारी युनियनलाई राजनीतिक मुखपत्र होइन, सुधार र सेवा प्रवाहको माध्यम बनाउन जरुरी छ। प्रशिक्षण, नवप्रवर्तन र डिजिटल दक्षता आत्मसात गरी टेक्नोलोजी नजानेर होइन, जानेर सेवा दिन तत्पर रहनु र इ–सेवा, इ–डिसिप्लिन तथा इ–पारदर्शिता आत्मसात गर्नु आत्म–सुधारको तीर्थयात्रालाई सार्थक बनाउने मुख्य सन्देश हुन्।
राष्ट्रसेवामा आत्म–जागरण भनेको केवल घूस नखानु वा अनियमितता नगर्नु मात्र होइन, प्रत्येक बिहान कार्यालय जाने बेलामा “के मैले राष्ट्रको सपना पूरा गर्न सघाइरहेको छु?” भनेर आफूलाई प्रश्न गर्नु हो। यो प्रश्न आत्म–परीक्षणको ऐना हो, जसले कर्मचारीलाई आफ्नो कर्म र कर्तव्यप्रति उत्तरदायी बनाउँछ। राष्ट्रसेवामा आत्म–जागरण भनेको आफ्ना गल्तीहरू स्वीकार गरेर सुधारको बाटो रोज्नु हो। कर्मचारीले आफ्नो गल्तीलाई लुकाउने होइन, त्यसबाट सिकेर उभिनु हो। राष्ट्रसेवामा आत्म–जागरण भनेको कर्तव्यपालन गर्न डराउनु होइन, बरु कर्तव्य नगर्दा आत्माले निन्दा गरोस् भन्ने डर राख्नु हो। जब कर्मचारीको आत्माले उसको लापरबाहीलाई निन्दा गर्न थाल्छ, तब उसले नैतिकताको मार्ग समाउँछ। सुधार भनेको नारामा सीमित हुने कुरा होइन, आचरण र व्यवहारमा देखिने कुरा हो। नारामा सुधारको कुरा गर्ने तर व्यवहारमा पुरानै भ्रष्टाचार र ढिलासुस्तीको बाटो हिँड्ने प्रवृत्तिले राष्ट्रलाई धोका दिन्छ।
जब कर्मचारीले “कार्यसम्पादन नै पूजा हो” भन्ने चेतनामा बाँच्न थाल्छ, तब राष्ट्रको विकासमा गति आउँछ। किनकि पूजा भनेको शुद्धता, एकाग्रता र समर्पणका साथ गरिन्छ, र कार्यसम्पादनलाई पूजा मान्दा हरेक सेवाप्रवाहमा उत्तरदायित्व र इमानदारीको झल्को देखिन्छ। कर्मचारीले “मेरो जागिर राष्ट्रको ऋण हो” भन्ने महसुस गर्न थाल्यो भने राष्ट्रको आत्मा मुस्कुराउँछ। राष्ट्रले नागरिकको करबाट तलब तिरेको छ भन्ने बुझेर काम गर्ने कर्मचारीको सेवाभाव फरक हुन्छ। यस्तो सेवाभावले मात्र राष्ट्रलाई प्रगतिको बाटोमा अघि बढाउँछ। राष्ट्रसेवक बन्नु भनेको हरेक सेवाग्राहीको आँखा भिज्न नदिनु हो। सेवाग्राहीको आँसु त्यो सेवकको असफलताको प्रमाण हो। राष्ट्रसेवक बन्नु भनेको हरेक सेवाग्राहीको अनुहारमा खुसी फिर्ता ल्याउनु हो। उनीहरूको समस्याको समाधान गर्नु, उनीहरूलाई अपमानित नगर्नु, र सेवा दिनुपर्छ भन्ने चेत राख्नु नै राष्ट्रसेवक बन्नु हो।
राष्ट्रसेवक बन्नु भनेको ‘फाइल’ भन्दा पहिला ‘नागरिक’ देख्नु हो। किनकि फाइलमा लेखिएको नाम र विवरण कुनै कागजको टुक्रा मात्र होइन, त्यो कुनै नागरिकको जीवनसँग जोडिएको आशा र अपेक्षा हो। फाइलको ढिलाइले नागरिकको जीवनमा अप्ठ्यारो आउन सक्छ भन्ने बुझेर सेवा दिने सेवक नै साँचो राष्ट्रसेवक हो। त्यसैले, आजैदेखि “आत्म–सुधार” को तीर्थयात्रा सुरु गर। यो यात्रा तिमीलाई राष्ट्रको आत्मामा जोड्नेछ। यो तीर्थयात्रा तिमीलाई घूस, स्वार्थ र ढिलासुस्तीको कुहिएको दलदलबाट निकालेर सेवा, निष्ठा र उत्तरदायित्वको उज्यालो यात्रामा लैजानेछ। र यही यात्रा नै ‘नयाँ नेपाल’ को जग हुनेछ, जहाँ राष्ट्रको सपना हरेक सेवकको कर्म र निष्ठाबाट पूरा हुनेछ। यस्तो आत्म–जागरणयुक्त राष्ट्रसेवा नै देशको स्थायित्व, शान्ति र समृद्धिको आधार बन्नेछ।
प्रकाशित :२०८२ श्रावण ६, सोमबार ०९:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%