भ्रष्टाचारविरुद्धको डिस्कोर्स
समाजमा हुने स्वस्थ्य र जीवन्त छलफल, बहस, पैरवी, वादप्रतिवाद, संवाद, थेसिस एन्टिथेसिस, सिन्थेसिस, क्रिया प्रतिक्रिया, अन्तर्क्रिया, सोचविचार, अवधारणाहरू एवं व्यबहारहरूले कुनै पनि विषयको डिस्कोर्सको सिर्जना गर्दछ। यस्ता डिस्कोर्सले व्यक्ति, समाज र संस्थाको दर्शन, आदर्श, सिद्धान्त, मूल्य मान्यता, नैतिकता, चरित्र, आचरण, मनोविज्ञान, संस्कार, संस्कृति, व्यबहार र क्रियाकलापहरुको निर्धारण पनि गर्दछ। घूस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्भन्ने राजा पृथ्वी नारायण शाहको भनाईसँगै नेपालमा भ्रष्टाचारको बारेमा सार्वजनिक चासो, चर्चा र सरोकार बढ्दै गएर सिर्जना भएको भ्रष्टाचारविरुद्धको डिस्कोर्समा आजसम्म आई पुग्दा धेरै परिवर्तन भईसकेको छ।
Advertisement 1
विकास र समृद्धिको मुख्य बाधक ठानिएको भ्रष्टाचारलाई जबसम्म सार्वजनिक, निजी एवं नागरिक समाज हुँदै व्यक्तिसम्मले मनैदेखि तिरस्कार गर्दैन तबसम्म भ्रष्टाचारको स्वर्गमा लुट मच्चाउनेहरुको दादागिरी समाजमा चलिरहने देखिन्छ । भ्रष्टाचार आज संघ, प्रदेश हुँदै स्थानीय तहसम्मका हरेक जसो संयन्त्रहरूमा डढेलो सल्केझै सल्कदै गएको छ । भ्रष्टाचारलाई समाजले स्वीकारेकै कारण भ्रष्टाचार गर्नेले लज्जाबोध गर्नुपर्ने अबस्था छैन। समाजले भ्रष्टाचारलाई बहिस्कार नगर्दासम्म भ्रष्टाचार नियन्त्रणमार्फत समृद्धि हासिल गर्ने राष्ट्रिय उद्देश्य प्राप्त हुन सक्दैन । अर्थतन्त्रको सुस्त विस्तार, विकास निर्माणको धिमा गति, भनसुनमा चल्ने सार्वजनिक सेवा प्रवाह, बोझिलो राजनीतिक र प्रशासनिक संरचना एवं नेता, व्यापारी र कर्मचारीको स्वार्थको खेल देखेर सर्वसाधारण नागरिकमा चौतर्फि निरासा र आक्रोश पैदा भएकोछ। जति खोतल्यो उति ठूला ठूला भ्रष्टाचारका काण्डहरुको पर्दाफास हुनुले भावी पुस्तामा चरम निरासा देखिएको छ।
भ्रष्टाचारका काविल खेलाडीहरु जुनसुकै मूल्यमा पनि भ्रष्टाचारको काण्डहरुलाई तुहाउन न्वारानदेखिको बल लगाएर लागि परेका देखिन्छन् । सत्ता, शक्ति र सम्पत्तिको लागि चलिरहने घनचक्करले गर्दा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, बौद्धिक, प्रशासनिक, कानूनी क्षेत्रलाईसमेत भ्रष्टाचारले गाँजेको कारण भ्रष्टाचारविरुद्धको डिस्कोर्स कमजोर बन्दै गएको छ भने भ्रष्टाचारको पक्षपोषण हुने खालको डिस्कोर्स बलियो बन्दै गएको छ। सबै खालको शक्तिको प्रयोग गरेर भ्रष्टाचारको दाग पखाल्ने प्रयत्न हुनु सुशासन र समृद्धिको लागि दुर्भाग्यपूर्ण छ। भ्रष्टाचारको कुनै जात, रङ, वर्ग, धर्म, संस्कार, पक्ष र विपक्ष हुँदैन भन्ने सर्वमान्य डिस्कोर्समा क्रमशस् विचलन आएको देखिन्छ। म र मेरा बाहेकका मान्छेले मात्र भ्रष्टाचार गर्छन्भन्ने खालका मान्यताले भ्रष्टाचार नियन्त्रणको प्रयास निरर्थक हुँदै गएको देखिन्छ। आफ्नालाई उन्मुक्ति र विपक्षीको हुर्मत काढ्ने जवरजस्त राजनीतिक डिस्कोर्समा परिबर्तन जरुरी छ। यस्तो दाउपेच चल्दासम्म सुशासनको सपना पूरा हुन सक्दैन।
Advertisement 2
सार्वजनिक खपतको लागि गरिने कुरा र पर्दाँभित्र चलाउने धन्दाबीच आनकातान फरक देखिएको छ। भ्रष्टाचारको गलत डिस्कोर्समार्फत शक्तिको चाहना प्रवाह गर्ने जतिसुकै बलियाबांगा भ्रष्टाचारीको गर्धनमा कुनै दिन त्यही प्रवृत्ति तरवार भएर झुण्डिने कुरा चाँहि पक्का छ। भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउन नसक्नेलाई नामर्दको संज्ञा दिने सामाजिक डिस्कोर्सको कारण भ्रष्टाचारप्रतिको सामाजिक मोह बढेको छ।
भ्रष्टाचारको नियन्त्रण कठोर अनुशासन र भित्रैदेखि जागेको अठोटले मात्र सम्भव छ। यसको लागि भ्रष्टाचारीसँग जुझ्न सक्ने सङ्कल्पित र शिल्पी हातहरूको जरुरी पर्दछ। राजनीति, सामाजिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक, न्यायिक लगायतका क्षेत्रमा मौलाएको भ्रष्टाचार रोक्न सरकार, सदन, सडक एवं सबै सरोकारवाला मनैदेखि तयार हुनु पर्दछ। केन्द्रदेखि स्थानीय तहसम्म नीतिगत निर्णयको कवच ओढेर हुने सार्वजनिक ठेक्कापट्टाको गुह्य धन्दा बन्द हुनु जरुरी छ। भ्रष्टाचारको अनुसन्धान र न्यायिक निरुपणमा प्रभाव पार्ने प्रयास सर्वथा निन्दनीय छ। पद, पावर र पैसाको आडमा भ्रष्टाचारमा संलग्न हुनेलाई अवसर र हौसला दुबै प्राप्त भएकोछ। यी दुवै अवस्था सुशासनको मुख्य बाधक तत्व हुन् । सन्ततिलाई उद्यमशीलता सिकाउनुको सट्टा भ्रष्टाचार र अपराध कर्म गरेरै भए पनि अकुत सम्पत्ति आर्जनको बाटो देखाउने केही दृष्टान्तहरु देखिएका छन्। राजनीतिले यहीबाट आफ्नो कोर्स करेक्सन गरेर नगए दलको भविष्य समेत उज्यालो हुनेछैन।
मौलाउँदै गएको भ्रष्टाचारको सांस्कृतिक डिस्कोर्सले संस्कृतिलाई अनावश्यक ढोंग, आडम्वर र तडकभडकपूर्ण मात्र बनाएको छैन मौलिक संस्कृतिको हुर्मत पनि लिएको छ। आयातित संस्कृतिको अन्धाधुन्द अनुकरणबाट स्वदेशी पूँजी पलायन बढेको छ।
समृद्धिको लागि उत्पादन, उत्पादकत्व र उद्यमशीलताको विकास हुनुपर्नेमा जागिरे र रेन्टसिकिङ मेन्टालिटी बढेको देखिन्छ। कालाबजारी, ठगी र जालसाँजी गरेर रातारात कुवेरपति हुने, चाहनाले भ्रष्टाचारको आर्थिक डिस्कोर्सले गलत बाटो तय गर्दैछ। पढेपछि जागिरै खानुपर्ने, जागिरमा प्रवेशपछि काठमाडौंमा घरजग्गा जोड्नै पर्ने, गाडी चढ्नै पर्ने, छोराछोरी युरोप, अमेरिका, अष्ट्रेलिया पठाउनै पर्ने तर कामको सम्मान नगर्ने आर्थिक डिस्कोर्सलाई उत्पादन, उत्पादकत्व र उद्यमशीलता बढानेतर्फ डोर्याउनु जरुरी छ। भ्रष्टाचारले निजी क्षेत्रको प्रतिस्पर्धी क्षमतालाई भुत्ते बनाएको छ तर पनि निजी क्षेत्र भ्रष्टाचार नियन्त्रणको कुरा सुन्न तयार छैन। निजी क्षेत्रले प्रतिष्पर्धा, उद्यमशीलता, नवप्रवर्तन र उत्पादकत्व बढाएमात्र गैरकानुनी धन्दा र भ्रष्टाचार घट्ने हो। उद्योगी व्यापारीहरू राजनीतिको च्याखे दाउमा रमाउने र राजनीति गर्नेहरू कमाउने दाउमा रमाउन थालेकोले भ्रष्टाचारविरुद्धको आवाज सडकबाहेक अन्यत्र मजबुत हुने देखिँदैन।
Advertisement 3
सेवा प्रवाहको सारथी भन्दा पनि भ्रष्टाचारको पर्याय बनेको सार्वजनिक प्रशासन सुशासनको कसौटीमा उत्तीर्ण हुन सकेको छैन। कानुन अन्धा हैन समान हुनुपर्दछ। न्याय खरिद विक्री हुँदैन भन्ने जनविश्वास बढाउन न्यायिक निरुपणमा र प्रक्रियाको नाममा कसुरलाई नजरअन्दाज नगरी दोषीलाई सजाय गर्नुपर्दछ। सार्वजनिक हित र भलाईको लागि कानूनको तर्जुमा र कार्यान्वयन हुनुपर्ने सर्वमान्य न्यायको मर्म मर्न दिनु हुँदैन। नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन बहालीको लागि सदाचार सिकाउने भरपर्दो कुनै प्राज्ञिक र रिसर्च संस्थाहरू नभएकै कारण बौद्धिक डिस्कोर्स कमजोर छ। बौद्धिक जगत पनि राजनीति, दल र गुटमा विभक्त हुँदा भ्रष्टाचारविरुद्धको बलियो डिस्कोर्स निर्माण हुन सकेको छैन । बौद्धिक वर्गले स्वतन्त्र र निडर भएर भ्रष्टाचारका विविध आयामहरूमाथि अध्ययन र अनुसन्धान गरी विधायक, सरकार, नियामक, सेवाप्रदायक, सेवाग्राही नागरिकको भूमिकाबारे सिफारिस गर्ने, अनुरोध गर्ने, लविङ गर्ने पर्दछ । उत्कृष्ट दर्शन, विचार, सिद्धान्त र असल व्यबहारबाट सञ्चालन हुनुपर्ने राजनीति मनी, मसल र म्यानुपुलेसनबाट प्रभावित हुनु हुँदैन।
शक्तिको अभ्यास गर्न ज्ञानको प्रयोग जरुरी पर्दछ त्यो ज्ञान डिस्कोर्सबाट प्राप्त हुन्छ। फेरि त्यस्तो ज्ञानलाई टिकाई राख्न शक्तिको पनि आवश्यकता पर्दछ। तर नेपालमा भ्रष्टाचारको डिस्कोर्स कमजोर भएको कारण ज्ञान पनि कमजोर छ। भ्रष्टाचारविरुद्धको डिस्कोर्सको पक्षमा पैरवी गर्ने शक्ति कमजोर छ। तर भ्रष्टाचारको पक्षमा उभिनेहरु शक्तिशाली छन् । शक्तिको अनुचित अभ्यास र प्रयोग गरी भ्रष्टाचारसम्बद्ध डिस्कोर्सलाई तोडमोड गरी गलत ज्ञान विकास गर्ने अनौठो अभ्यास हुने गरेको देखिन्छ। भ्रष्टाचारको विपक्षमा स्थापित केही डिस्कोर्स र ज्ञानलाई शक्तिको आडमा कमजोर बनाउने तर त्यसको प्रतिरक्षा गर्ने संगठित शक्ति अति कमजोर छ। यहीँबाट भ्रष्टाचारको डिस्कोर्सको पुनर्जागरण गर्नुपर्ने देखिन्छ ।
जबसम्म राजनीति चोखो रहँदैन तबसम्म उसका बाहु मानिने प्रशासनले निष्पक्ष र निर्भीक भएर सेवा प्रवाह र नियामक भूमिका निर्वाह गर्न नसके जस्तै न्याय निरुपण गर्ने न्यायमूर्तिहरूले न्यायको तराजु उचाल्न धरमराउने अवस्था आउन सक्छ । भ्रष्टाचारकै कारण समाजमा जालीहरूले जितिरहने, सर्वसाधारणले दुस्ख र सास्ती खेपिरहने हो भने राज्यका निकायहरूप्रति आक्रोस, कुण्ठा र गुनासाहरू बढ्न गई जनमत भड्कने र जनसमर्थन घटेर जाने हुन्छ।
नेपालमा भ्रष्टाचार जीवनशैलीको रुपमा झाँगिरहेको हुनाले भ्रष्टाचार नियन्त्रणका प्रयासहरू गरिरहँदा भुल्नै नहुने पक्ष भनेको भ्रष्टाचारसम्बद्ध विकसित हुँदै स्वार्थअनुकूलका नयाँ(नयाँ असत्य तथा झुट्टा वैचारिक डिस्कोर्स विकास गर्ने कुचेष्टाप्रति सचेत हुनु जरुरी छ। यसको लागि राजनीति, धर्म, दर्शन, सामाजिक, सांस्कृतिक, आर्थिक, प्रशासनिक, कानुनी, न्यायिक तथा वौद्धिक सबै क्षेत्रमा झाँगिदो कुविचार, कुसंस्कार र कुव्यवहारलाई सुधार्दै सुशासन र समृद्धिको पक्षमा पैरवी गर्न, समर्पित हुन र कुर्वानी गर्न सक्ने भ्रष्टाचारप्रति असहिष्णु भावी पुस्ता तयार गर्ने खालको डिस्कोर्स निर्माणतर्फ लागे समाजमा सुशासन र सत्यको पक्षमा स्वभाविक डिस्कोर्स निर्माण हुन थाल्नेछ।
भ्रष्टाचारलाई जबरदस्त ढाकछोप गर्न वा चोख्याउन खोजे भविष्यमा भावी पुस्ताले त्यसको झनै ठूलो मूल्य चुकाउनुपर्ने भएकोले भ्रष्टाचारलाई हेर्ने अहिलेको दृष्टिकोणमा परिवर्तन गर्नु जरुरी छ। भ्रष्टाचारविरुद्धको पहलकदमी जनस्तरबाटै थालनी भए राजनीतिक र प्रशासनिक बेइमानीहरूमा अवश्य कमी आउने छ भने सामाजिक, सांस्कृतिक, आर्थिक आयामहरू पनि स्वतस् सुधारको दिशामा उन्मुख हुनेछन्। बफादारिता र इमान्दारिताको विकल्प चतुर्याई र धुर्त्याई हुन नसक्ने भएकोले सत्ता, शक्ति र सम्पत्तिको तुजुकमा आफ्नालाई उन्मुक्ति र अरुलाई सजाय दिने तुरुपको अन्तेष्टि गर्दै भ्रष्टाचारको विरुद्धमा खोज, अनुसन्धान, विकास, बहस, छलफल, पैरबी, व्याखा विश्लेषण, वाद प्रतिवाद, विचार र दर्शनको बौद्धिक एवं प्राज्ञिक मन्थनबाट व्यवहारिक ज्ञानको सिर्जना गर्दै सर्वमान्य डिस्कोर्स विकास गरी त्यस्तो डिस्कोर्सबाट सिर्जना भएको ज्ञानको प्रतिरक्षामा सतिसाल झै उभिन सक्ने नयाँ पुस्ताको शक्ति निर्माणमा लाग्नु सबैको साझा कर्तव्य हो।
समुन्नति म्यागाजिनको भदौ अंकबाट