सिंहदरबारभित्रै ठगीको डरलाग्दो सञ्जाल

ठगठागको यो दुनियाँमा ठग्ने होइन, ठगिनेचाहिँ दोषी हुँदो रहेछ । र, हाम्रो जस्तो मुलुकमा प्रशासन र प्रहरी संयन्त्रलाई हातमा लिएपछि ठग्नेलाई मस्ति र ठगिनेलाई अनेकन सास्ती हुँदो रहेछ । एक जना दलालबाट यस्तै भुक्तमान भोगिरहेका पीडित हौँ । ती दलालले खुल्लमखुला राज्यलाई चुनौती दिँदै हिँड्न थालेको दशौं वर्ष भयो । एउटै दलाल, कसैलाई श्रम मन्त्रालयको अधिकृत हुँ भन्दै विदेश पठाइदिने नाममा ठग्छ, कसैलाई लोकसेवाको अधिकृत हुँ भन्दै सरकारी सेवामा प्रवेश गराउन खोज्छ । उसको असुली धन्दा जारी छ । तर, यस्तो गिरोहलाई प्रशासनले कारबाही प्रक्रिया अगाडि नबढाएपछि पक्कै पनि दालमें कुछ काला हे कै रूपमा बुझ्नुपर्ला । होइन भने कानुनी राज्यमा कसै न कसैको आड र भरोसा नपाई उसले खुलेआम कसरी यस्तो धन्दा चलाउन सक्छ ? हामीलाई दिएको धम्कीको रेकर्ड र बाउन्स चेकसहित प्रहरी कार्यालयमा धाउँदासमेत उनी पक्राउ पर्दैनन् भने कसको संरक्षणमा छन् यी दलाल ?

Advertisement 1

भन्नलाई त लाज हुन्छ तर लाजले मात्र काज चल्दो रहेनछ । जोसँग औपचारिक शिक्षा पाँच कक्षाभन्दा माथि छैन उसैले एसएलसी, प्रमाणपत्र तह, स्नातकदेखि स्नातकोत्तर तहसम्म उत्तीर्ण गरेका व्यक्तिलाई मुर्गा बनाइरहेको छ । एक÷दुई जना मात्र ठगिएको भए चुपै लागेर बस्नुहुन्थ्यो तर ती ‘दलाल’ले त ठगीलाई व्यवसाय नै बनाएका छन् । उनीबाट ठगिनेको संख्या सयभन्दा बढी होला । त्यसरी ठगिनेको लामै सूची बोकेर हिँडिरहेको छु । पहिले जुन आधारमा उक्त दलाललाई विश्वास गरिएको थियो ती सबै झुटका फेहरिस्त मात्र रहेछन् तर के गर्नु पहिला …. अनि दैलो देख्यो भनेझैं भएपछि । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला हो झापा । यही जिल्लाको नाम बेच्दै एक ती नयाँ नटवरलालको रूपमा उदाएका छन् ।
भोजपुरको एउटा गाउँबाट आइए तहसम्मको अध्ययन पूरा गरिसक्दासमेत रोजगारीको अवसर भेटिएन । मध्यमवर्गीय परिवारबाट रोजगारीको सिलसिलामा काठमाडौं भित्रिएको हो । सरस्वती र लक्ष्मीलाई एक अर्काेको दुश्मन भन्छन् । खै हो कि ? विद्या र धनोपार्जन सँगसँगै अघि बढाउनै सकिएन । उच्च शिक्षा अध्ययन र जागिर सँगसँगै लैजान खोजें तर सफल भइएन । राजधानीजस्तो महँगो शहरको बसाइ, आठ/दश हजारको जागिर । जीवनमा खासै उपलब्धि हुने देखिएन । दाल, भात र डुकुले एक मुठी सास धान्ने काममात्र भइरहेको थियो । मनमा लाग्यो यही बाटो हिँडियो भने एक बारको जिन्दगी त सकिन्छ पत्रु भएरै । त्यसैले फेर्नै पर्छ जीवनको लय, बदल्नै पर्छ आफ्नो पाइला र बनाउनै पर्छ जीवनको फरक नक्सा ।
सबैलाई रहर हुन्छ एक बारको जुनी सुखी र समृद्ध तरिकाले जिउने । तर सबैको रहर र चाहना कहाँ हुन्छन् र पूरा ? मनभरि यही उत्साह बोकेर बिदेसिने सपना सजाइयो । त्यतिबेला कोभिड शुरु भइसकेको थिएन । रोजगारीको लागि बिदेसिने योजनाअनुरूप हरियो राहदानीमा लाहाछाप लगाउँदा मनमा उत्साहको छुट्टै सञ्चार भइरहेको थियो । तर हामीजस्ता भुइँ मान्छेको सबै सपना कहाँ पूरा हुँदा रहेछन् र ? अनेकन दलालले उम्रिन नपाई निमोठिदिँदा रहेछन्, हाम्रा सपना, भविष्य । जुन उत्साह र सपना थियो त्यो सबै तुहियो दिलमान विशंखे नामक दलालको भरमा पर्दा । यिनै दलालका कारण आज हामी घर न घाटको अवस्थामा छौँ, न्यायका लागि लड्दै छौं । यी ‘दलाल’हरू आफूलाई ब्रोकर भनिदिँदा आनन्द मान्छन्, दलाल भन्दा पिट्न पछि पर्दैनन् । म्यानपावर व्यवसायीमार्फत नै चिनजान भएको हो उनीसँग । सिंहदरबार अगाडिकै एउटा कफी हाउसमा पहिलो पटक भेट हुँदा उनले आफ्नो परिचय दिएका थिए ‘म श्रम मन्त्रालयको शाखा अधिकृत’ आफूलाई ढुंगा खोज्दा देउता मिलेझैं भयो । चिया पिउँदै गर्दा उनैले प्रस्ताव गरे, ‘तिम्रो गाउँबाट अष्ट्रेलिया, इरानलगायत मुलुकमा जाने मान्छेहरू छन् भने जम्मा गर, मन्त्रालयबाट सेटिङ गरी पठाउने जिम्मा मेरो भयो ।’ अधिकृतले भनेपछि झनै रंगीन सपना देख्न थालियो । खाडी जाने सपना मोडेर विकसित मुलुकतिर जाने रहर पैदा भयो । सोचियो अब जिन्दगी बन्ने भयो । आफूसँगै पढेका, आफन्त जम्मा गरियो । यही बीचमा यिनले दीपेन्द्र पौडेलसँग चिनाजानी गराए । भनेका थिए, ‘उहाँचाहिँ हाम्रो मन्त्रालयको सहसचिव ।’

हामी त कुवाभित्रकै भ्यागुतोको जिन्दगीमा बाँचिरहेको गाउँको मान्छे । टाढामा भोजपुरको सदरमुकाम, प्रदेशको मुकामसम्म थाहा थियो । गाउँका मान्छे, सिंहदरबारका कुन मन्त्रालयमा को सचिव, को सहसचिव वा उपसचिव ! शाखा अधिकृत को हो वा होइन ? थाहा पाउनुपर्ने कारण पनि थिएन । मन्त्रालयको सहसचिवजस्तो मान्छेले भनेपछि नपत्याउने कुरै भएन । ऋण धन गरेरै डेढ÷दुई लाख जम्मा गरियो । सस्तो शुल्कमा विदेश जान पाइने सपना देखेर गाउँका दुई दर्जन आफन्त–साथीहरू पछाडि लागे । मान्छे हेरी ५० हजारदेखि २ लाखसम्म रकम बटुलियो । तर, पैसा दिइएको डेढ वर्षसम्म पनि विदेश उडाउनुपर्ने मान्छेले उडाइदिएनन् अनि मनमा चिसो पस्न थाल्यो । यही बीचमा कोरोनाको एकपछि अर्काे लहरले विश्वलाई आक्रान्त पा¥यो । दलालका लागि कोरोना झन् ठूलो बहाना भइगयो । भेटघाट र सम्पर्कमा प्रोसेस हुँदै छ भन्ने जवाफ आउँथ्यो । पैसा त दिइयो तर हामीसँग प्रमाण केही थिएन । बीचमा लकडाउन शुरु भयो ।

Advertisement 2

लकडाउन खुकुलो भएपछि भदौ, असोज, कात्तिकसम्म कु¥यौँ । पैसा लिएपछि उनीहरू सम्पर्कविहीन भए । चलाउँदै आएको मोबाइल स्विच अफ भयो । अब झन् फसाद प¥यो । कहाँ गएर भेट्ने, कसलाई गएर गुनासो पोख्ने ? जसोतसो सिंहदरबारभित्रबाट पास मिलाएर श्रम मन्त्रालय पुग्यौं । त्यहाँका एक एक नेमप्लेट हेर्दै, कोठा कोठा चहा¥यौँ । सचिव एकनारायण अर्याल, सहसचिवहरू डण्डुराज घिमिरे, रामचन्द्र ढकाल, राजीव पोखरेल र दीपक काफ्ले भेटिए । यसअघि भेटिएका दीपेन्द्र पौडेललाई धुइँपत्ताल खोज्यौं, भेटिएनन् । शाखा अधिकृत तिनै बिसुंखे सरलाई खोज्यौं । ती पनि कतै देखिएनन् । हुँदै नभएका मान्छे, मन्त्रालयमा खोजेर कहाँ भेटिनु ? त्यहाँका कर्मचारीसँग दुःखको पहाड बिसायौं । ती कर्मचारीले यी नाम भएको मान्छे यहाँ काम गर्दैनन्, सायद तपाईंहरू ठगिनुभयो भन्ने जवाफ दिनुभयो ।

बल्ल पो घैँटामा घाम लाग्यो । छाँगाबाट खसेझैं भइयो । यतिबेला घैंटामा घाम लागेर हुनेवाला केही थिएन । गुम्ने पैसा गुमिसकेको थियो । नपाउनु हण्डर, ठक्कर खाइसकेका थियौं । जाने कहाँ ? केही थाहा थिएन । गर्ने के ? केही पत्तो भएन । मन्त्रालयका केही कर्मचारीले प्रहरीमा जान सुझाव दिए । सोहीअनुसार अनामनगर प्रहरीमा मुद्दा दर्ज गरायौं । त्यहाँ पनि उल्टै हामीलाई नै सताइयो । हारेको खप्पर जता पुग्यो उतै ठक्कर भनेजस्तो भयो ।

Advertisement 3

एक मुठी सास छउञ्जेल आश भन्छन् । न्याय मरिसकेको छैन भन्ने आशा र विश्वास बोकेर प्रशासन र प्रहरी कार्यालय चहारियो । अपराध अनुसन्धान महाशाखामा हप्तासम्म धायौं । आशा थियो प्रहरीबाट न्याय मिल्छ । तर, त्यो झिनो आशा पनि तुषारापात भयो । प्रहरीले उल्टै झपार्दै यस्तो मुद्दा हेर्नका लागि वैदेशिक रोजगार बोर्डमा जान सुझाए ।
हामी आफ्नो पीडा बोकेर कहिले प्रशासन त कहिले प्रहरीका कार्यालय चहारिरहेका छौं । लामो संघर्षपछि दलालले कसैलाई माघ त फागुन अनि कसैलाई चैत पहिलो साताको मिति राखेर चेक दिए तर पैसा फिर्ता पाइयो भनेर मख्ख भएका हामी फेरि ठगियौं । तावाबाट उम्किएको माछो भुंग्रामा खसेझैं कुनै चेकमा पैसा छैन । सबै बाउन्स । पैसा नभएको चेक हल्लाउँदै कहाँ जानु ? न्याय कहाँ पाइन्छ ? बैंकिङ कसुरअन्तर्गत फेरि अर्काे मुद्दा दर्ता गराएका छौं । यी दलालले सर्वसाधारणले गाँस कटाएर बचाएको र ऋण–धन गरेको पैसा प्रहरीका हाकिमहरूकोमा पु¥याइसकेका छन् । होइन भने अनामनगर, मीनभवनका हाकिमसाबहरू जवाफ दिनुहोस्, यी दलालबाट ठगिएका हामीले बाउन्स भएको चेकसहित तपाईंहरूलाई भेट्दा, फोनमा हामीलाई दिएको धम्कीको रेकर्ड सुनाउँदा, यत्रो प्रमाण पेश गर्दासमेत किन समातिँदैनन् दलालहरू ? यदि, वैदेशिक रोजगारको मुद्दा तपाईंहरूले हेर्नै मिल्दैनथ्यो भने किन दर्ता गर्नुभयो ? दर्ता हुन्छ भने किन कारबाही हँुदैन ?
– पीडितहरू

प्रकाशित :२०७८ चैत्र ९, बुधबार १३:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry