जलवायु परिवर्तन : हाम्रो दैनिकीमा थपिएको संकट

गत मंगलवार चीनको तिब्बतहुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी)मा आएको बाढीमा परेका ९ जनाको शव फेला परे। १९ जना बेपत्ता छन् । दुई प्रहरी, ६ चिनिया नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन्। यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

Advertisement 1

बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा ईभी गाडी बगाएको छ।

नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले उल्लेख गरेको छ ।

Advertisement 2

गत असोज २०८१ मा रोशी खोलाको बाढीले विपी राजमार्गमा क्षति पुर्‍यायो। उक्त क्षतिले राजधानी काठमाडौं र पूर्वी तराई जोड्ने यो महत्वपूर्ण सडक खण्डमा आवागमनमा समस्या अहिले पनि उस्तै छ।

बाढीले सडकका भौतिक संरचना, आसपासका बजार र खेतहरूमा समेत क्षति पुर्‍याएको थियो। उक्त सडकखण्ड बनाउन भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डमा १ अर्ब रुपैयाँ गरी कुल साढे ८ अर्ब सरकारले लगाउनुपर्नेछ।

Advertisement 3

दोस्रो सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे भन्ने ठाउँमा गत वर्ष अचानक आएको बाढीले दर्जनौँ घरमा क्षति पुर्‍यायो।

थामेमा बाढीले एउटा विद्यालयको छात्रावास, एउटा क्लिनिक, पाँचवटा होटल र सातवटा घरसहित १५ वटा भवन पूर्ण रूपमा बगाएको थियो।

यो केवल उदाहरणहरू हुन्। जलवायु परिवर्तन विश्वव्यापी रूपमा एक गम्भीर चुनौती बनिरहँदा नेपालले पनि यसको संकट भोगिरहेको छ।

नेपाल यसै पनि हिमाली क्षेत्र हो। नेपाल हिमालय क्षेत्रमा अवस्थित छ। जहाँ विश्वकै अग्ला हिमालहरू रहेका छन्। जलवायु परिवर्तनका कारण हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्। विकासोन्मुख देशमा जलवायु परिवर्तनको असर झनै जटिल र संकटपूर्ण रहेको छ।

जलवायु जानकार राजन थापाले हिमाली क्षेत्रमा तापक्रम अस्वाभाविक रूपमा बढ्दै जाँदा हिमतालहरू जोखिममा रहेको बताउँछन्। तापक्रम बढ्दै जाँदा सगरमाथा क्षेत्रका अन्य हिमताल पनि जोखिममा छन्, हिमालमा हिउँ पग्लिने क्रम बढेको छ, यसले हिमाली बस्तीलाई जोखिममा पारेको छ।’

अनियन्त्रित रूपमा हिमालको पग्लिरहेको छ। अनियमित वर्षा भइरहेको छ। जसले बाढी, पहिरो र खडेरीजस्ता समस्या नेपालले भोगीरहेको छ।

जलवायु परिवर्तन र त्यसको प्रभावले नेपालले पर्यावरण क्षेत्रमा, अर्थतन्त्रको क्षेत्रमा, नेपालीको जनजीवनमा गम्भीर संकट पैदा भइरहेको छ।

जलवायु परिवर्तन भनेको पृथ्वीको औसत तापमानमा वृद्धि हो। जसको मूख्य कारण मान्छेको गतिविधिहरू हुन्।

नेपालले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्छ तर जव जलवायु परिवर्तनको सबैभन्दा ठूलो समस्यामा परेको छ।

हिमाली क्षेत्रका बस्तीहरूका लागि जलवायु परिवर्तनले खतरा पैदा गरेको छ। अन्तत यसको मार पहाड हुँदै तराइका जनताले पनि भोगिरहनुपर्छ। हिमनदीको पग्लनले पानीको स्रोतमा कमी आइरहेको छ। जसले गर्दा नेपालमा खानेपानी र सिँचाइको अवस्थामा समस्या निम्तिन सक्छ।

गत असोजमा अविरल वर्षा र त्यसपछि आएको बाढीले नेपालमा मनसुनको ढाँचा परिवर्तन भएको प्रष्ट बुझिन्छ।

यति मात्र होइन् वर्षा अनियमित छ। र यसले निम्ताएको जोखिम तिव्र छ। बाढी र डुबानले लाखौँ नेपालीहरू जनधनको क्षति भएको छ।

जसको उदाहरण हो स् तराई क्षेत्रमा बाढीका कारण हरेक वर्ष हजारौँ मानिस विस्थापित हुन्छन्। यति मात्र होइन बाढी र पहिरोले कृषि भूमिहरू पनि निरन्तर नष्ट भइरहेका छन्। यो किसिमको प्राकृतिक प्रकोपहरूले गरिबी र खाद्य असुरक्षालाई झनै गहिरो बनाउने विज्ञहरूले बताउँदै आएका छन्। पहाडी क्षेत्रमा तीव्र वर्षा र भूकम्पको प्रभावले पहिरोको जोखिम बढ्दै गएको छ।

अहिले वर्खायाम सुरूसँगै देखिएको पहिरो त्यसैको असर हो। विज्ञहरूका अनुसार जलवायु परिवर्तनले माटोको स्थिरता कमजोर बनाउने गर्छ।यसले पहिरो र भूक्षयका घटनाहरू बढाउने गर्दछ।

हामीले सुन्दै आएका छौँ। नेपालका केही क्षेत्रमा खडेरीको समस्या बढ्दै गएको छ। समाचारहरूका अनुसार नेपालका पश्चिमी क्षेत्र सुदूरपहाडी क्षेत्रहरूमा पानीको कमीले कृषि उत्पादनमा हरेक वर्ष ह्रास आइरहेको छ।

जलवायु परिवर्तनले फसलको उत्पादन चक्रमा पनि असर गर्दा परम्परागत खेती प्रणाली प्रभावित भएको छ।

तापमान वृद्धि र मौसमी परिवर्तनले वन्यजन्तु र वनस्पतिको बासस्थानमा असर पर्दा पारिस्थिक प्रणालीमा चुनौती थपिएको छ। हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा र अन्य प्रजातिहरूको बासस्थान सङ्कुचित हुनु, वन विनाश र आगलागीका घटनाहरू हुनु हो।

जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रमा प्रभाव पारेको छ। हाम्रा मुख्य अर्थतन्त्रका आधारहरू भनेको कृषि, पर्यटन, र जलविद्युत् हुन्। जुन जलवायु परिवर्तनबाट प्रभावित भएका छन्।

गत वर्ष वर्षायाममा आएको बाढी(पहिरोका कारण ३८१ सडक र पुललगायतका पूर्वाधारमा क्षति भएका थिए।

असार, साउन, भदौ र असोजमा आएको बाढीका कारण सबैभन्दा बढी बागमतीमा क्षति भएको देखिएको थियो। बाढीले १७४ सरकारी भवनहरू क्षति गरेको थियो।

बाढीको कारण ऊर्जा तथा जलस्रोतका २ हजार १९ वटा आयोजनाहरू पुनःनिर्माण गर्नुपर्ने अवस्था थियो। बाढी र पहिरोले सडक, पुल, र जलविद्युत् आयोजनाहरूमा क्षति पुर्‍याउँदा आर्थिक बोझ थपिन्छ। साथै, कृषि उत्पादनमा आएको ह्रासले खाद्य आयातमा निर्भरता बढाएको छ।

एकातिर देशको अर्थतन्त्र डामाडोल बनाइरहँदा अर्को तर्फ जलवायु परिवर्तनले हाम्रो जनस्वास्थ्यमा पनि नकारात्मक असर परिरहेको छ।

अनियन्त्रित तापमान वृद्धिले डेंगु, मलेरिया, र अन्य सङ्क्रामक रोगहरूको जोखिम बढ्दै गएको छ। खानेपानीको कमी र प्रदूषणले पानीजन्य रोगहरूको फैलावट बढेको छ। बाढी र पहिरोका कारण हुने मानसिक तनाव र विस्थापनले मानसिक स्वास्थ्यमा पनि असर गरिरहेको छ।

सारमा भन्नुपर्दा जलवायु परिवर्तनले गरिब र सीमान्तकृतलाई सबैभन्दा बढी प्रभावित गर्ने गर्छ। तराई र पहाडी क्षेत्रका गरिब समुदायहरू बाढी, पहिरो, र खडेरीको चपेटमा पर्नुको मुख्य कारण उनीहरूसँग प्राकृतिक प्रकोपसँग लड्ने स्रोत र पूर्वाधारको कमी हुनु हो। यो समस्याले अन्ततस् सामाजिक असमानतालाई झनै गहिरो बनाउने देखिन्छ।

जलवायु परिवर्तनको प्रभाव कम गर्न सचेतना र शिक्षा महत्त्वपूर्ण रहन्छ। विज्ञहरूका अनुसार स्थानीय समुदायलाई जलवायु-अनुकूलित खेती र दिगो जीवनशैलीबारे प्रशिक्षण दिनुपर्नेमा जोड दिएका छन्।

नेपाल जस्ता देशले दिगो विकास र हरित ऊर्जालाई प्राथमिकता दिनुपर्ने देखिएको छ। सौर्य र जलविद्युत् जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोग बढाउनुपर्ने साथै, वन संरक्षण र वृक्षरोपण कार्यक्रमहरूलाई व्यापक बनाउनुपर्ने दायित्व हामीमा आएको छ।

बाढी, पहिरो, र हिमताल विस्फोटजस्ता प्रकोपहरूको जोखिम कम गर्न पूर्वसूचना प्रणाली र आपतकालीन तयारीलाई बलियो बनाउनुपर्छ। नेपालले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहयोग र कोषको उपयोग गर्नुपर्छ।सरकारले जलवायु-अनुकूलित नीतिहरूमा गम्भीर हुनुपर्छ।

सरकारले यस वर्षको मनसुन अवधिमा देशभर ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आँकलन गरेको छ। जलवायु परिवर्तनको असरले हिमालय क्षेत्र संकटमा परिरहेका बेला यस वर्षको मनसुन अवधिमा नेपालका हिमाली जिल्लाहरूमै सरदरभन्दा बढी वर्षा र गर्मी हुने सम्भावना देखिएको छ। हिउँ पर्ने ठाउँमा वर्षा र गर्मी सरदरभन्दा बढी हुने संकेतलाई विज्ञहरूले चिन्ताजनक मानिरहेका छन्।

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरिसकेको छ। कार्ययोजना अनुसार बाढी, पहिरो तथा पानीजन्य अन्य विपद सम्बन्धी सचेतनाका प्रचार प्रसार गर्ने, बाढी, डुबान, पहिरो, संक्रमक रोग लगायतको पूर्वसूचनाका सचेतना एसएमएस पठाउने, टेलिफोन टावरहरुमा क्षति पुगेमा बीटीएस भ्यानको व्यवस्था गर्ने लगायतका निर्णय गरेको छ।

जलवायु परिवर्तन नेपालका लागि एक ठूलो संकट हो। यो केवल सामूहिक प्रयास र जागरूकताले नै नेपाललाई जलवायु परिवर्तनको संकटबाट सुरक्षित राख्न सकिने देखिएको छ।

प्रकाशित :२०८२ असार २७, शुक्रबार १३:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry