तीन सचिव हेरफेर, दुईजनाको दुई महिना नपुग्दै सरुवा

काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र महालेखा नियन्त्रकको कार्यालयका सचिवको सरुवा गरेको हो ।
Advertisement 1
स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, वित्त आयोगका सचिव विनोदप्रकाश सिंहको महालेखा नियन्त्रकको कार्यालयमा र महालेखा नियन्त्रक हरिप्रसाद मैनालीको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको एक मन्त्रीले जानकारी दिए ।
वित्त आयोगका सचिव सिंहको डेढ महिना अघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आयोगका सरुवा भएको थियो । उनको डेढ महिनाकै अवधिमा तीन निकायमा सरुवा भइसकेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बुर्लाकोटीको पनि दुई महिना नपुग्दै सरुवा भएको छ । महालेखा नियन्त्रक मैनालीको भने करिव २० महिनापछि सरुवा भएको हो ।
Advertisement 2
मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगले बढुवाका लागि सिफारिस गरेका न्याय सेवाका तीनजना सहसचिव सचिवमा बढुवा गरेको छ । गत शुक्रबार आयोगले बढुवाका लागि सिफारिस गरेका तीन सहसचिवलाई सचिवमा बढुवा गरेको हो ।
जसमा नेपाल न्याय सेवातर्फका सह न्यायाधिवक्ता खेमराज ज्ञवाली महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायाधिवक्ता। सहसचिव यमबहादुर बुढा मगर न्याय परिषद्को सचिव र सहरजिष्ट्रार भद्रकाली पोखरेललाई सर्वोच्च अदालतमा रजिष्ट्रार पदमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
Advertisement 3
बैठकले वन (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने र तिलगङ्गा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृत दिने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन ।