राष्ट्रसेवक हुनु त कृष्णप्रसाद शर्माजस्तो !

अञ्जनकुमार हिमाली

Advertisement 1

संयोग पनि कस्तो महाभारतमा भगवान कृष्णको स्लोगान कर्म गर फलको आशा नगर हुबहु जस्तो कलियुगका कृष्ण अर्थात जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको हकमा पनि देख्न सकिन्छ । तिल फोरेर पहाडको धक्कु लगाउने को के कमी छ र यहाँ ? तर उनले पहाडै फोरेपनि कर्तव्य ठानेका छन् । चर्चामा गुमनाम जस्तै छन् ।
शालीनता, भद्रता, मिजासिला तर कर्ममा कठोरता उनका पर्याय हुन् । २०२८ सालमा बेसीशहरमा सदरमुकाम झरे देखि ४८ जना प्रजिअको नाम लिस्टिङ भएको छ । घाम ताप्ने, कुरा चपाउने, दिन कटाउने । गैरधन्दामा सही धस्काउने अनि सेवाग्राहीको ढाड मर्काउने । लुटाहा प्रजिअहरूको कुनै कमी थिएन विगतमा यहाँ । नाम जति जनाको झुण्डिएपनि जनताको मुखमा झुण्डिने अर्थात जनताले सदा सम्झने नाम एकाध मात्रै छन् । जुन नाम मध्ये झंकनाथ ढकाल र हालका प्रजिअ शर्मालाई जनताले सायदै भुल्लान ।
बत्तिसै लक्षण त नहोलान् तर सेवाग्राहीको नजरमा खोट लगाउने ठाउँ छैन शर्मामा । अप्ठ्यारो परिस्थितिमा सहजीकरण, सेवाग्राहीको सेवामा सहजता ।
कोरोना महामारीले आँ गरेको बेला लमजुङ आइपुगेका शर्माले।दिनको संकेत बिहानीले गर्छ भने झै महामारीको त्यो बेला उनको अब्बल भूमिकाकै कारण लमजुङमा खासै भौतिक क्षति हुन पाएन । यस्तो कोरोना कहरमा पनि शर्मा चुप लागेर बसेनन् । गाउँ गाउँमा विपतमा परेका नागरिकको उद्दार, नागरिकता नपाएका असक्त नागरिकको निवासमै पुगेर नागरिकता वितरण गरे । चट्याङ लागेर मृत्यु भएका बेनपा ६ का सन्तबहादुर बिकको परिवारलाई घरमै पुगी २ लाख सहयोग उपलव्ध गराए ।
यस्तै, जन्मजात विकलाङ्ग सुन्दरबजार नगरपालिका–२ परेवाडाँडाका २७ वर्षीय कुमार अधिकारी र २५ वर्षीय कमल अधिकारीलाई घरमै गई प्रजिअ शर्माले नागरिकता प्रदान गरेका थिए। शर्माले जनप्रतिनिधि को काम पनि गरेका छन् । कयौ जनप्रतिनिधिले आफ्ना मतदाताको अवस्था चुनावी दौरानमा मात्रै थाहा हुन्छ । जितेपछि वा हारेपछि नागरिकले खाउन वा भोकले मरुन खासै चिन्ताको विषय छैन । प्रजिअ शर्माले दशैंको बेलापनि चुलो चिसो हुन सक्ने भन्दै जिल्लाका १४ घरपरिवार चेपाङ र १६ घरपरिवार बोटे समुदायको घरघर पुगी खाद्यान्न वितरण गरे । नागरिकको जीवनमा प्रत्यक्ष सरोकार राख्ने विषयमा प्रजिअ शर्माको चासो र चिन्ता छ । सरल छन् सिडिओमा दम्भ रत्ति छैन । र त सरोकारवाला खुलेर आफ्ना समस्या राख्ने गर्छन् अनि शर्मा तत्काल एक्सनमा उत्रन्छन् । कार्यालयमा भौतिक संरचनादेखि सेवामा चुस्तता प्रदान गर्ने हेतुले प्रविधिमैत्री सेवा प्रवाह थालेका छन् ।


सेवाग्राही हिजो आज जिल्ला प्रशासनमा बढीमा दश मिनेटमै काम फत्ते भएको देख्दा प्रफुल्ल छन् । डिजिटल नागरिक बडापत्र सञ्चालन गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले मोबाइल एप्स पनि संचालनमा ल्याएको छ । शान्ति सुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह, विपत व्यवस्थापन जस्ता विषयहरूमा गुनासो सुनुवाइका लागि हटलाइन सेवा समेत सुरु गरिएको छ । भने माघदेखि टोकन प्रणाली सञ्चालनमा ल्याउने योजना बनाएका प्रजिअ शर्मा २०३५ सालमा बाग्लुङमा जन्मेका हुन् ।
आमा धनलक्ष्मी र बाबा मोहदत्त शर्माका एक्लो छोरा । पाँच वर्षमै गाउँको लहरे पिपल प्राविबाट प्रारम्भिक शिक्षा आरम्भ गरी ०५१ सालमा धौलागिरी विरेन्द्र मावि रातामाटाबाट एसएलसी गरे । उच्च शिक्षाको लागि पोखरा झरेका शर्माले पिएन कलेजबाट आईए सकेपछि टियूबाट एमबिए सके । पढाईमा पनि कहिले ब्याक नलागेका शर्माको जागिरे यात्रा भने ०५६ मंसीर देखि प्रारम्भ भयो । चारवर्ष बित्दा नबित्दै मुखियाबाट नासुमा बढुवा भइहाले । कृषि मन्त्रालयमा नै कार्यरत शर्मा ०६३ मा शाखा अधिकृत ०७० मा उपसचिव भए । ०७२ देखि लगातार गृह मन्त्रालय मातहत छन् उनी ।

Advertisement 2

इमान्दार र नेतृत्वदायी क्षमताका कारण ०७२ असोजमा सोलुखुम्बु जिल्लाको प्रजिअ को जिम्मेवारी पाए । चिसो ठाउँ राता मान्छे तातो मन । त्यही माथि शर्माको सरल, असल व्यवहारको कसीमा सोलुखुम्बेलीहरु बत्तिको छेउमा पुतली झुम्मे झै झुम्मिन थाले । ३० गाबिस रहेको जिल्लाको १८ गाविस असाध्यै दुर्गम । कुनै सिडिओहरु त्यहाँ नपुगेका ।त्यस्तो ठाउँमा पुगेर शर्माले भकाभक नागरिकता दिए नेपालीहरुलाई । गारो सारोको सारथि बने कृष्ण । सोलुबाट रामेछाप । असरल्ल थियो रामेछाप जिल्ला प्रशासन । झारा टराइमा काम चलेको । कर्मचारी अल्छिका पिण्ड । सेवाग्राहीको साना साना काम पनि त्यसै अल्झनमा । शर्माले त्यहाँको सिस्टमलाई पनि र्यापिट्ली अदल बदल गरी दिए । कर्मचारीहरु दगंदास ।‌ कामचोरहरूको दुलो बुज्जियो । रामेछापमा राम्रै छाप छोडेर लमजुङ आइपुगेका हुन् शर्मा ।


उनको काम गर्ने शैली देखेर नै खुलेर प्रसंशा गर्छन् गण्डकी प्रदेशका सभासद धनन्जय दवाडी । भन्छन् जनप्रतिनिधिहरुले उनीबाट सिक्नु पर्छ । जात वर्ग क्षेत्रको आधारमा उनको भेद छैन र त खुसी छन् युगौं देखि शोषित पीडित समुदाय । दुरदराज र पीडित समुदायको काम पहिलो प्रथामिकता छ र त ती समुदायको प्रिय अभिभाबक बनेका छन् प्रजिअ शर्मा । उनको सहयोगी टिम पनि राम्रै छ । सहायक प्रजिअहरु, नागरीकता फाँटका कर्मचारीहरु प्रजिअको स्पीड अनुसार चल्नु पर्ने बताउँछन् । लेखापाल रमेश विक पहिलेनै सरुवा भएर जाने तरखरमा थिए तर शर्माको कर्मलाई साथ दिन छोडेका छैनन् । उनी गड फादर मान्छन् शर्मालाई । शर्मा अगाडिका केही सिडिओ निकै आलोचित पनि भए । त्यो गुमेको साख टालटुल पारिसकेका छन् शर्माले । सार्वजनिक जग्गाको पनि व्यवस्थापन गरेका छन् ।
र त गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ उनलाई जनसेवक कर्मचारी ठान्छन । मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे उनको प्रशंसा गर्न कुनै कसर बाँकी राख्दैनन् । कुशल प्रशासक देखिनै उनको सहयोगमा प्रशासन हात भित्र नगरपालिका स्तम्भ पार्क निर्माण भएको छ । लमजुङ्गका पुराना स्थापित पत्रकार कृष्ण केसी कर्मका आधारमा उनी राष्ट्रपतिबाट पुरस्कृत भएको ठान्छन् । संविधान दिवसको अवसरमा प्रजिअ शर्मा सुप्रबल जनसेवाश्री (चतुर्थ) पुरस्कारबाट सम्मानित भएका थिए।
शरणार्थी तथा लागू औषध नियन्त्रण सम्बन्धि तालिमको सिलसिलामा भारत, जापान,भियतनाम, इटाली, फ्रान्स, अस्ट्रेलिया, चीन, मोनार्को लगाएत झण्डै दर्जन मुलुक पुगेका शर्मा त्यो भन्दा नि जनताको सेवामा प्रत्यक्ष सम्लग्न हुन पाउँदा गर्व गर्छन् ।

प्रकाशित :२०७७ पुष १९, आईतवार ०९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry