अर्थमा चार सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौं। अर्थ मन्त्रालयले चार सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयका विभिन्न महाशाखा तथा मातहतका निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी परिवर्तन गरिएको हो।

Advertisement 1

बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ। केही समयदेखि रिक्त रहेको राजस्व व्यवस्थापन महाशाखाको नेतृत्व दाहालले सम्हाल्ने भएका हुन्।

दाहाल राजस्व व्यवस्थापन महाशाखामा गएपछि बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी बन्धुप्रसाद बास्तोलालाई दिइएको छ। बास्तोला हालै लुम्बिनी प्रदेशबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका हुन्।

Advertisement 2

त्यस्तै, कोसी प्रदेशबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ।

यसैगरी प्रेम आचार्यलाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी दिइएको छ। कार्यालयका प्रमुख कर प्रशासक केदारनाथ शर्माले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

Advertisement 3

शर्मा आगामी फागुनमा ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने तयारीमा थिए। अवकाश हुन करिब ६ महिना बाँकी रहँदै उनले राजीनामा दिएका हुन्।

यस्तै, लोक सेवा आयोगको कोसी प्रदेश कार्यालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएर आएका सहसचिव गोकुल बास्तोलालाई सह–महालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ।

मन्त्रालयले राजस्व प्रशासन, बजेट व्यवस्थापन तथा मातहतका प्रमुख निकायको नेतृत्वमा हेरफेर गर्दै सहसचिवहरूलाई नयाँ जिम्मेवारी दिएको हो।

प्रकाशित :२०८३ आश्विन ६, मंगलवार ११:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry