सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ मा टेकराज थलाल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले डडेल्धुराका टेकराज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ।
Advertisement 1
प्रदेशका नौवटै जिल्लामा सञ्चालन गरिएको प्रतिभा खोज कार्यक्रम (ट्यालेन्ट हन्ट) बाट बायाँहाते मध्यम गतिका बलर थलालले उक्त अवसर पाएका हुन्। स्थानीयस्तरमा रहेका क्रिकेट खेलाडीको क्षमता पहिचान गरी टोलीमा आबद्ध गराउने लक्ष्यसहित रोयल्सले सुदूरपश्चिमका सबै जिल्लामा ‘ट्यालेन्ट हन्ट’ आयोजना गरेको थियो। कार्यक्रममा दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाडीले आफ्नो खेल कौशल प्रस्तुत गरेका थिए।
यही असोज १४ गते बैतडीको दिलासैनीबाट सुरु भएको छनोट प्रक्रिया असोज १५ गते बझाङ, १६ गते डोटी र डडेल्धुरा तथा १७ गते अछाम र बाजुरामा पुगेको थियो। त्यसपछि असोज १९ गते धनगढीमा कैलाली र कञ्चनपुरका खेलाडीको क्षमता मूल्याङ्कन गरिएको थियो। छनोटको अन्तिम चरण भने असोज २० र २१ गते धनगढी ओभलमा सम्पन्न भएको थियो।








