१० जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले भर्खरै बढुवा भएका १० जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहकाबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
Advertisement 1
उपप्रधान एवम् गृहमन्त्री स्तरको २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षक (एसपी)बाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा एक जना तथा गृह मन्त्रालय (सचिवस्तर)को २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर)मा नौ जना गरी जम्मा १० जना प्रहरी अधिकृतको पदोन्नति भएको थियो ।
दर्ज्यानी चिन्ह प्रदान हुनेमा प्राविधिक एसपी ज्ञानेन्द्रकुमार राई तथा प्राविधिक इन्सपेक्टर सरिता केसी, सोनिम महत्तो, शैलेन्द्रकुमार सिंह, गणेशकुमार पाण्डेय, बलदेव बडु, तीर्थबहादुर थोकर, राजनबहादुर बुढाथोकी र हिमाल खड्का रहेका छन् ।
Advertisement 2
बढुवा भएकामध्ये प्राविधिक प्रहरी निरीक्षक भगवान्प्रसाद कुशवाह वैदेशिक तालिमका लागि हाल कोरियामा छन् । दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रहरी महानिरीक्षक कुँवरले बढुवासँगै प्राप्त जिम्मेवारीलाई साङ्गठनिक हितमा थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृत थप उत्प्रेरित हुने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रहरीमा विभिन्न प्राविधिक समूहले पुर्याएको सेवाको प्रशंसा गर्दै प्रविधिको प्रयोगले अपराधमा बढ्दो सूचनाको दुरुपयोग जस्ता चुनौतीको सामना गर्न नेपाल प्रहरीलाई सहज भएको उनले उल्लेख गरे ।
प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षा एवम् प्रमाणमुखी अपराध अनुसन्धान र नागरिकमैत्री प्रहरी सेवामा प्राविधिक सेवाको महत्वबारे चर्चा गर्दै प्रहरी सेवालाई थप प्रविधिमैत्री बनाउँदै समयसापेक्ष सुदृढ गर्दै लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
Advertisement 3
प्राविधिक सेवालाई थप प्रभावकारी बनाउन पदोन्नतिसँगै बढेको थप जिम्मेवारी र दायित्वलाई प्रहरी अधिकृतले सोही अनुरूप बहन गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।