हाम्रा संस्कारका सकारात्मक सन्देश

देश बनाउने जनताले हो, नीति बनाउने नेताले हो, नीतिका आधारमा देश बन्ने हो र त्यो पनि राजनीतिले । राजनीतिक नेत्तृत्त्व लिने नेताले हो।त्यसैले देश बनाउने जनता र नेताले दुबै मिलेर हो। यी नेता र जनता बनाउने समाजले हो र समाज बनाउने चेतनाले हो, चेतना बनाउने शिक्षा र संस्कारले हो। यसरी देश बन्ने नबन्ने कुरा शिक्षा र संस्कारमा अडेको हुन्छ।
Advertisement 1
हाम्रा संस्कारहरू मध्ये भरखर समापन तिर जादै गरेको दशैं पर्वलाई हेरौ। यो पर्व भर हामी महांकाली, महांलक्ष्मी र महांसरस्वतीको आरधना गरेर मनायौ। तर हामी मध्ये कतिले यी देवीका प्रतीकका रूपमा बुझेर मनायौ वा कतिले हिजो जसरी मनाईन्थ्यो त्यस्तै सिको गरेर मनाईयो भन्ने कुरा सोचनीय छ। यी शक्तिको आरधनाले समाज, ब्यक्ति र राजनीतिमा कस्तो अशर पार्नु पर्थ्यो हेक्का राख्न जरूरी छ।
शास्त्रीय कथनले भन्छ कि महांकाल आन्तरिक शक्तिको रूप, महांलक्ष्मी बाह्य शक्तिको रूप र महांसरस्वती समन्वयात्मक शक्तिको रूप हो। हामी हरेकमा यो शक्ति अन्तर्निहित हुन्छ तर यसको उजागर गर्न सक्नु प्रमुख कुरा हो। हाम्रा संस्कृति र संस्कारहरूबाट यिनीहरूको उजागर हुने गर्छ।
केही दशक यता आएर हामीहरूमा यस्ता शक्तिहरूको क्रमशः स्खलन हुदै आएको देखिन्छ। हामीले यी सबैलाई आडम्बरी बनाएका छौ। जब हाम्रा ब्यबहारहरू आडम्बरी हुन पुग्छन् अनि हाम्रा नतीजाहरू पनि नक्कली हुन पुग्छन्।
हामीहरू हाम्रो आन्तरिक क्षमतालाई पहिचान गर्न सकेका छैनौ। अर्थात हाम्रो आन्तरिक क्षमता पहिचान गर्न सक्ने शिक्षा प्रणाली नै भूलेर प्रमाणपत्र मुखी शिक्षामा केन्द्रित छौ। हाम्रो समाज, हाम्रो राज्यले यस तर्फ ध्यान दिन नसक्दा हाम्रा बालबालिकाले त्यस किसिमको शिक्षा पाउन बाट बन्चित छन् जसले ब्यक्तिको आन्तरिक क्षमतालाई उजागर गरोस्। हाम्रो मन मस्तिष्कलाई विकास गर्ने नैतिक शिक्षा भौतिकवादमा विश्वास गर्नेको रूचीमा परेन। अध्यात्मवादको जग र सहयोग विना भौतिकवाद एक्लैले केही गर्न सक्दैन भन्ने तर्फ हाम्रा नीति निर्माताको ध्यान जान नसक्दा मुलुकलाई चाहिने किसिमको नागरिक बन्न सकेको पाईदैन।
हाम्रो देश किन विकास हुन सकेन भन्ने तर्फ बिचार गर्दा हामीले नेतालाई दोष लगाउछौ तर समस्या नेतामा मात्र हैन समस्त प्रणालीमा रहेको छ। नेता नसुध्रिएको नेताका कारणले मात्र हैन कि हाम्रो सामाजिक प्रणालीमा नै खरावी देखिन पुगेकोले हो। हामीले भनौ वा हाम्रो प्रणालीले बाटो बिराएकोले हाम्रो सोच पनि सकारात्मक छैन।
हामीले हामी आफैलाई चिनेर हाम्रो आन्तरिक क्षमता बढाउन जति जरूरी छ त्यति नै हामीले हामीलाई ब्यबसायी बनाउन जरूरी हुने कुरा हाम्रो संस्कार र नीतिले सिकाएको वा निर्देशन गरेको छ। हामीले पूजा आरधना गर्ने लक्ष्मी, ब्यबसायको प्रेरणाकी खानी हुन। हाम्रा हरेक पलहरू आलस्यमा र अनावश्यक ब्यस्ततामा नलगाउ भन्ने निर्देशन लक्ष्मीबाट प्राप्त हुन्छ।
Advertisement 2
त्यसै गरी आन्तरिक चेतना र ब्यबसायिताको लागि आबश्यक पर्ने ज्ञान र सीपको प्रतीकको रूपमा हामी सरस्वतीको आरधना गर्छौ।
यसरी हाम्रा संस्कार र पर्वहरू विभिन्न प्रतीकात्मक माध्यम हुन जसले हाम्रो जीवनलाई सहज र जीवन्त तुल्याउछ।
आज हाम्रो समाजले यस्ता प्रतिकात्मक माध्यमलाई बिर्सदै गएको छ र नबिर्से पनि यसमा आडम्बरी हुदै गएको छ। त्यस्तै राज्यले पनि यस्ता परम्पराहरूलाई संरक्षण र प्रबर्द्धन गर्ने तर्फ खासै चासो राखेको पाईदैन। हाम्रो शिक्षा नीति पनि देशको आवश्यकतालाई भन्दा विदेशको खांचो पूर्ति गर्ने किसिमको छ।
यस्तो वातावरणबाट जन्मे हुर्केको नागरिक जुनसुकै क्षेत्रमा असफल हुन्छ र त्यसको परिणति देश र जनताले भोग्नु पर्छ जुन अहिले हामीले भोगी रहेका छौ।
अहिले त हुदा हुदा हामीले गरेको राजनीति समेत हाम्रो विकासमा एकाकार हुन सकेको छैन। हामी राजनीतिक रूपले प्रजातान्त्रिक मुलुकमा पर्छौ तर हाम्रो देशमा राजनीति गर्नेहरूमा प्रजातान्त्रिक संस्कार पटक्कै छैन। त्यसैले हाम्रो राजनीति पनि अरूलाई देखाउन मात्र अपनाएको जस्तो देखिन्छ। प्रजातन्त्रको भूमिकालाई देश र जनताको हितमा अनुवाद गर्न सकिएको छैन।
राज्यका नीतिहरू कार्यान्वयन गर्ने निकायमा कार्यरत कर्मचारीहरूमा ब्यबसायिकपनको कमी त छदै छ त्यस माथि राज्यले उनीहरूलाई समय सापेक्ष बनाउन सकेको पनि छैन।
यी सबै दृश्यहरू हेरिरहदा हामीले हाम्रा संस्कार र नीतिहरू बिर्सदै बिर्सदै गएर हामीलाई चार्वाक बनाउदै लगेका छौ जुन देश र जनताको हितमा हुदैन।