कर्मचारी समायोजन मिलान :-यसैसाता १२०० कर्मचारीको पहिलो लिष्ट सार्वजनिक गर्ने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन संशोधनको पहिलो सूची यसै साता सार्वजनिक गर्ने तयारी गरेको छ ।
मन्त्रालयले कर्मचारी समायोजन संशोधनका लागि एक महिनाको समय दिएर आवेदन माग गरेको थियो । एक महिनाको अवधिमा २६ सयभन्दा बढी आवेदन दर्ज भएको छ । मन्त्रालयले १ फागुनदेखि १५ फागुनसम्म समय दिएर गरिएको आह्वानमा धेरै स्वास्थ्यकर्मीले दोहोरो सहमति ल्याउन नसकेपछि १५ दिन समय थपिएको थियो । फागुनमसान्तसम्मका मिति दिएर समायोजन मिलान तथा संशोधनका लागि निवेदन माग गरिएकोमा २६ सयभन्दा बढी निवेदन दर्ज भएको स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले मन्त्रालयले तिव्र गतिमा समायोजन संशोधनको काम गरिरहेको छ र यो साताभित्रै सबै कागजात र प्रक्रिया पूरा भएका कर्मचारीहरुको सूची सार्वजनिक हुनेछ । मन्त्रालयले तोकेको प्रक्रिया र मापदण्ड पूरा गरेर आएका निवेदन १२ सयभन्दा बढी छ । मन्त्रालयले तिनै १२ सय हाराहारी कर्मचारीहरुको समायोजन संशोधनको सूची यही साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको हो ।
सह सचिव रेग्मीका अनुसार, झण्डै ६ सय निवेदन दोहोरिएर आएको छन् । कतिपय कर्मचारीहरुले मापदण्ड पूरा गर्न सकेका छैनन् । यस्तै कतिपय निवेदन संकेत नम्बर,दरबन्दी भरिएको छैन् । त्यस्ता निवेदनको हकमा सम्बन्धित निवेदकलाई जानकारी गराइएको छ र छुटफुट भएका विवरण पुन भरेर पठाउन मन्त्रालयले आग्रह गरेको छ ।
पहिलो लिष्टमा प्रक्रिया पुगेका स्थानीय तहबाट स्थानीय तहमै समायोजन भएर जानेहरुको नामावली प्रकाशित हुन्छ । यस्तै दोस्रोमा प्रदेशबाट स्थानीय तह, तेस्रोमा संघबाट स्थानीय तहमा, चौथोमा प्रदेशबाट प्रदेशमा, पाँचौमा संघबाट प्रदेशमा जान चाहनेको मिलान गर्दै जाने मन्त्रालयको तयारी छ । फाजिल, पुल, समायोजन भएर रमाना नलिएका र प्रक्रिया नमिलेकाको हकमा अन्तिममा निर्णय गर्ने मन्त्रालयले तयारी गरेको छ ।
यसरी सार्वजनिक भएको समायोजन तथा मिलानसम्बन्धि जानकारी मन्त्रालयले निवेदकलाई इमेलमार्फत दिने जनाएको छ ।
निवेदन दिएका तर दोहोरो सहमति ल्याउन नसकेका,विवरण भर्न छुटाएका,कागजात अपुग भएका कर्मचारीहरुको हकमा मन्त्रालयले उनीहरुलाई खबर गरिसकेको छ । सकेसम्म छिटो मापदण्ड पूरा गरि पुन निवेदन दिन उनीहरुलाई आग्रह समेत गरिएको मन्त्रायले जनाएको छ ।

Advertisement 1

 

प्रकाशित :२०७७ चैत्र ८, आईतवार ०९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry