स्याल कराउने झाडीबाट चिटिक्क हुलाक काउन्टरसम्म – न्यौपानेले फेरेको हुलाकको मुहार !

अञ्जनकुमार ।
जिल्ला हुलाक कार्यालय लमजुङको प्रमुखका रूपमा शाखा अधिकृत श्याम विक्रम न्यौपानेले जिम्मेवारी सम्हालेपछि हुलाक सेवामा गुणात्मक सुधार देखिएको छ। २०८२ पुसमा न्यौपानेले कार्यालय प्रमुखको जिम्मा लिएयता डाँक तथा हुलाक बस्तुको ओसारपसार र वितरणमा शीघ्रता आएको मात्र होइन, कर्मचारीको कार्यसम्पादन र उत्तरदायित्वमा समेत स्पष्ट मार्गचित्र स्थापित भएको छ। सरकारी सेवाका अतिरिक्त साहित्यका उच्च विधामा कलम चलाउने न्यौपानेको सिर्जनात्मक सोचले कार्यालयको प्रभावकारिता अभिवृद्धिमा नयाँ जाँगर भरेको छ।
Advertisement 1
खण्डहरबाट कार्यालयसम्म –
यो प्रसङ्ग बेसीशहर नगरपालिका वडा नं. ११, फलियासाँघुमा रहेको जिल्ला हुलाक कार्यालयको करिब डेढ रोपनी जग्गा र पक्की भवनको हो। कुनै बेला सञ्चारको मुख्य साधन हुँदा यस संरचनाले उल्लेख्य सेवा दिएको थियो। तल मस्र्याङ्दी नदी र बाँधले बनेको विशाल ताल, माथि सालको जङ्गल र बीचमा समथर उर्वर जमिन – यस्तो मनोरम परिवेशमा रहेको हुलाक घर पछिल्लो समय चासो अभावमा झाडीभित्रको भग्नावशेषमा परिणत भएको थियो।
न पर्याप्त बजेट थियो, न भरपूर स्रोत साधन। थियो त केवल कार्यालयलाई ब्युँताउने प्रवल इच्छाशक्ति। सोही इच्छाशक्तिको बलमा वडा कार्यालय, साथीभाइ र कार्यालयकै सानो टिमको सहयोगमा न्यौपानेले स्याल कराउने खण्डहरबाट आज सुन्दर र चिटिक्कको हुलाक काउन्टर खडा गर्नुभएको छ।
Advertisement 2
बेसीशहर बजारबाट करिब १० किलोमिटर टाढा स्थापना भएको यो काउन्टरले दोर्दी गाउँपालिकासम्मको डाँक ओसारपसारमा सहजता ल्याएको छ र त्यस क्षेत्रका नागरिकलाई हुलाक सेवा लिन बेसीशहर नै धाउनुपर्ने बाध्यता हटेको छ।सरकारले हुलाक सेवालाई सरकारी कुरियर सेवाका रूपमा विस्तार गर्ने नीति लिएपछि यसको महत्त्व झन् बढेको छ।
अब अर्गानिक अतिथिगृहको सपना–
Advertisement 3
न्यौपानेको सपना यतिमा रोकिएको छैन। उनी यसलाई एउटा कार्यालयमा मात्र सीमित नराखी अर्गानिक अतिथिगृहसम्म विस्तार गर्न चाहन्छ्न।
उनको योजना अनुसार भवनको तल्लो तलामा कार्यालय सञ्चालन गर्ने र माथिल्लो तलामा अतिथि कक्ष तयार गर्ने, करिब डेढ रोपनी जमिनमा कलात्मक विश्रामस्थल, ढकमक्क फूलबारी, साना माछा पोखरी र मौरीका घार राख्ने परिकल्पना छ। बाँकी जमिनमा रासायनिक मल बिनाको फलफूल र तरकारी खेती तथा कुखुरापालन गर्ने, जसबाट प्राङ्गारिक मल र अर्गानिक मासु प्राप्त होस् भन्ने उहाँको सोच छ।
विभिन्न निकायबाट अनुगमन, अवलोकन वा गोष्ठीका क्रममा आउने अतिथिहरूलाई होटलको सट्टा यही अतिथिगृहमा राख्ने र यहीँको अर्गानिक मह, माछा, मासु र तरकारी खुवाउने सपना उहाँले बुनिरहनुभएको छ।
यसको प्रारम्भिक परीक्षण स्वरूप अहिले पनि न्यौपाने आफैँ केही कर्मचारी साथीहरूसँग सरसफाइ र निर्माणमा खटिरहेको देखिन्छ। परिसरमा मखमली, सयपत्री र गोदावरी ढकमक्क फुल्न थालेका छन्, लटरम्म बोडी फलेका छन् भने केही कुखुराका जोडाहरू डुलिरहेका छन्।
यस्तो बलियो इच्छाशक्ति बोकेका युवा अधिकृतको यो अर्गानिक सपनाले अवश्य सार्थकता पाउने विश्वास लिन सकिन्छ।








