दसैँअघि सार्वजनिक यातायातमा जीपीएस लागू गर्ने तयारी

काठमाडौं। यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा प्रविधिमैत्री जीपीएस प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ। विभागका महानिर्देशक राजीव पोखरेलले दसैँअघि नै जीपीएससम्बन्धी आवश्यक सूचना जारी गरिने बताएका छन्।

Advertisement 1

चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले आयोजना गरेको छलफल कार्यक्रममा महानिर्देशक पोखरेलले सार्वजनिक यातायातमा प्रयोग हुने जीपीएसलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने तयारी भइरहेको जानकारी दिएका हुन्।

उनका अनुसार जीपीएस प्रणालीको गुणस्तर, लागत, विद्यमान प्रणालीसँगको समायोजन तथा अन्य प्राविधिक पक्षबारे अध्ययन भइरहेको छ। अध्ययन पूरा गरी दसैँअघि नै आवश्यक सूचना सार्वजनिक गर्ने तयारी विभागको छ।

Advertisement 2

सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउँदै यात्रुको सुरक्षा र सेवा प्रवाहलाई थप व्यवस्थित गर्ने उद्देश्यले जीपीएस प्रणालीलाई प्रभावकारी बनाउने तयारी गरिएको विभागले जनाएको छ।

यसैबीच, यातायात क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षाको दायरामा अनिवार्य रूपमा ल्याउने विषयमा पनि कानुनी प्रक्रिया अघि बढिरहेको महानिर्देशक पोखरेलले बताए। सामाजिक सुरक्षासम्बन्धी व्यवस्था आगामी ऐनमा समेटिने उनको भनाइ छ।

Advertisement 3

उनले सार्वजनिक यातायातको सुरक्षा, यातायात मजदुरको संरक्षण र यात्रुलाई सहज सेवा उपलब्ध गराउन राज्य, यातायात व्यवसायी तथा मजदुरबीच समन्वय आवश्यक रहेको बताए।

चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले सेवा, सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षबीच सहकार्य आवश्यक रहेको विभागको जोड छ।

प्रकाशित :२०८३ आश्विन ५, सोमबार २०:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry