कहाँ- कहाँ फेरिए निर्वाचन अधिकृत ?

निर्वाचन आयोगले हठात रौतहटको मौलापुर नगरपालिकामा निर्वाचन अधिकृत परिवर्तन गरेको छ । स्थानीय तहको निर्वाचनको मिति आउन १५ दिनमात्र बाँकी हुँदा यस अघिका निर्वाचन अधिकृतलाई हटाएर त्यहाँ अर्कै अधिकृतलाई खटाइएको हो । रौतहटको मौलापुरमा यसअघि सर्वोच्च अदालतका कर्मचारी डल्लुराम चौधरीलाई निर्वाचन अधिकृत बनाएर खटाइएको थियो । तर निर्वाचन आयोगले उनको ठाउँमा इशनाथ नगरपालिकामा कार्यरत संघीय मामिला मन्त्रालयका कर्मचारी खिलबहादुर भुजेललाई पठाएको हो ।

Advertisement 1

जिम्मेवारी छाड्ने र लिनेबीच आज बुझबुझारथ भएसँगै भुजेलले काम थालेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले अधिकृत हेरफेर गर्नुको कारण भने खुलाएको छैन । यस अघि आयोगले खटाएका निर्वाचन अधिकृतमध्ये एक सयभन्दा बढी हेरफेर गरेको थियो ।
यस्तै गत १२ गतेमात्र पाथिभराको याङबरङ गाउँपालिकामा पहिला खटाइएका युवराज महतको ठाउँमा महालेखा नियन्त्रक कार्यालयका छबिन्द्र बेल्वासेलाई खटाइएको थियो ।यस्तै गत वैशाख सातमा मात्र कालिकोटमा खटाइएका कालिकोट जिल्ला अदालतका प्रेम प्रकाश थापाको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत श्रीधर केसीलाई खटाइएको थियो ।

निर्वाचन आयोगले गत चैत्र १३ मा स्थानीय तह निर्वाचनका लागि तोकिएका ६७६ निर्वाचन अधिकृत तोकेकोमा अहिलेसम्म १०७ जनाको सूची हेरफेर भएको छ । आयोगले यस्लाई सामान्य प्रक्रिया भने पनि विज्ञहरुले भने, राजनीतिक दलका दबाब लाई प्रधान कारण भनेका छन् ।

Advertisement 2

यही कारण आयोगले यस अघि सार्वजनिक गरेको सुची पटक पटक गरी सात पटक संशोधन गरिसकेको छ । आयोगले सूची सार्वजनिक गरेको दश दिन पछि एकै पटक ८७ जनाको सूची संशोधन भएकोमा सातादिनपछि १२ जना (मुख्य निर्वाचन अधिकृतसहित) हेरफेर गर्न भ्याएको छ । यो क्रम हिजोसम्म जारी रह्यो ।

आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको रुपमा खटाएकोमा यस अघि भरतपुरको मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको थियो आयोगले मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर उनको स्थानमा न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो । यस अघि निर्वाचन आयोगले ७१ जना मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको थियो । यस्तै १६ जनाको संशोधन गरेको थियो । त्यसपछि पनि यो सिलसिला अस्ति २ गतेसम्म जारी रह्यो । आयोगले अस्ति शुक्रबारमात्र बैतडी र सप्तरीका दुई गाउँपालिकामा नयाँ अधिकृत नियुक्त गरेको थियो । आयोगले बैतडीको डिलासैनी गाउँपालिकामा निर्वाचन अधिकृतका रूपमा खटाइएका लोकबहादुर लोपचनलाई हटाएर उनको ठाउँमा विष्णुदत्त भट्टलाई खटाएको थियो । यस्तै सप्तरीको विष्णुपुर गाउँपालिकामा खटाइएका प्रकाशप्रसाद पोखरेललाई हटाएर उनको ठाउँमा यादवप्रसाद न्यौपानेलाई पठाएको थियो । यस्तै गत २९ चैत्रमा मात्र आयोगले यस अघि खटाएका १० जना निर्वाचन अधिकृतलाई पदबाट हटाएर उनीहरुको स्थानमा १० जना नयाँ निर्वाचन अधिकृतलाई खटाएको थियो भने आयोगले उपसचिव लक्ष्मीदेवी होमागाईलाई यस अघि पाँचथरको मिक्लाजुङ गाउँपालिकामा खटाएकोमा संशोधन गर्दै अब धनकुटाको महालक्ष्मी नगरपालिकामा खटाएको थियो ।
यो समेत गरी आयोगले पहिला खटाएकोमध्ये ९४ जना निर्वाचन अधिकृतलाई हटाएर तीनका ठाउँमा नयाँ निर्वाचन अधिकृत खटाएको छ भने २ जना मुख्य निर्वाचन अधिकृत हटाएर नयाँ खटाएको छ । यस्तै १७ जनाको संशोधन गरेको छ ।

प्रकाशित :२०७९ बैशाख १६, शुक्रबार ०९:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry