यो वर्षको प्रगति ९० प्रतिशत पुर्याइनेछ : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चालु आर्थिक वर्षमा ९० प्रतिशत प्रगति हासिल गर्नेगरी काम गरिने बताएका छन् ।
Advertisement 1
मन्त्रालय र पूर्वाधार पत्रकार समाजले २०८० साउन ३१ गते आयोजना कार्यक्रममा उनले गत वर्ष ७० प्रतिशत प्रगति भएकामा चालु आवमा २० प्रतिशत बढाइने बताए। कोभिडको असर बाँकी रहनु, निर्वाचनको वर्ष हुँदाहुँदै पनि हासिल भएका उपलब्धि नराम्रो नभए पनि अझै सुधार गर्नुपर्ने ठाउँ रहेको उनको भनाइ छ ।
भौगोलिक अवस्थाका कारण बाढीपहिराले ठाउँठाउँमा सडक अवरुद्ध भए पनि सकेसम्म चाँडो खुलाएको उनले बताए। बाढीपहिरोको जोखिम रहेका स्थानमा उपकरण तयारी अवस्थामा राखी सडक अवरुद्ध हुनासाथ खुलाएको मन्त्री ज्वालाको भनाइ थियो ।
Advertisement 2
उनले भने, “हेवा खोलामा आएको बाढीले अवरुद्ध सडक तदारुकताका साथ खुलाइयो भने नारायणगढ–बुटवाल सडक खुलाउँदै आइएको छ ।” मन्त्री ज्वालाले आगामी दशैँसम्ममा काठमाडौँ उपत्यकाका सडक खाल्डाखुल्डीरहित बनाइने बताए ।
अहिले वर्षाका कारण ठाउँठाउँमा खाल्डाखुल्डी देखिएको भए पनि वर्षा कम हुनासाथ हटाइने उनको भनाइ छ । मन्त्री ज्वालाले निर्माण व्यवसायीको मागप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै उनीहरुको माग पूरा गर्नका लागि छलफल भइरहेको जानकारी दिए । उनले भने, “भुक्तानीको समस्या समाधान भएपछि अरु समस्या पनि कसरी समाधान गरिने भन्ने विषयमा छलफल हुनेछ ।”
Advertisement 3
भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले भुक्तानीको समस्या र कोभिडको असर हुँदाहुँदै पनि देशभरका आयोजनाको औसत प्रगति राम्रो भएको दाबी गरे । काठमाडौँ उपत्यकामा कतै खानेपानीको पाइप त कतै नेपाल विद्युत् प्राधिकरणको ‘अण्डर ग्राउण्ड’ तारका कारण सडकमा समस्या आएको उनको भनाइ थियो ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले देशभरमा ठूलो सङ्ख्यामा पुल निर्माण भइरहेको बताए । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले देशभरका सडकको वर्गीकरण सुुरु गरिएको भए पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सहभागी नहुँदा गति नलिएको बताए ।
पूर्वाधार पत्रकार समाजका अध्यक्ष जीवन बस्नेतले मन्त्रालय र सडक विभागले कुनै घटना वा आयोजनाको समयमै र सही व्यक्तिले सूचना नदिँदा मिडियायामा गलत सूचना जान गरेको उल्लेख गरे ।