सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला

हुम्ला। सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला परेका छन्।
Advertisement 1
चाडपर्वलाई लक्षित गर्दै हुम्लाको सदरमुकाम सिमकोटमा बजार अनुगमन गर्दा उक्त अखाद्य वस्तु फेला परेको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरबहादुर बुढाले बताए।
सिमकोट गाउँपालिकाले २ दिनसम्म सञ्चालन गरेको बजार अनुगमनका क्रममा २६ वटा खाद्यवस्तु तथा मासुजन्य पसलको निरीक्षण गरिएको थियो।
Advertisement 2
अनुगमनको पहिलो दिन खाद्यवस्तु बिक्री गर्ने १३ वटा पसलमा निरीक्षण गर्दा जुस, मसला, पिठोलगायत सामग्री म्याद गुज्रिएको अवस्थामा भेटिएका थिए। ती सामग्रीको कूल मूल्य रु ६ हजार ८६५ बराबरको थियो।
चाडपर्वका समयमा खाद्यवस्तुको खपत र कारोबार बढ्ने भएकाले बजारमा बिक्री हुने सामग्रीको गुणस्तर, म्याद, मूल्य, सरसफाइ तथा मासुजन्य पदार्थको सुरक्षित भण्डारणको अवस्थालाई मुख्य प्राथमिकतामा राखेर अनुगमन गरिएको हो।
Advertisement 3
यसैक्रममा व्यवसायीलाई उपभोक्ताको स्वास्थ्य र अधिकारलाई प्राथमिकतामा राखेर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ।
विशेषगरी खाद्यवस्तुको म्याद नियमित जाँच गर्न, स्पष्ट रूपमा मूल्यसूची राख्न, पसल तथा बिक्रीस्थल सफा राख्न र मासुजन्य वस्तुको सुरक्षित तथा स्वच्छ भण्डारणमा ध्यान दिन सुझाव दिइएको छ।
सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरबहादुर बुढाको नेतृत्वमा गरिएको अनुगमनले चाडपर्वका बेला बजारमा म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न खोजिएको छ।
उपभोक्तालाई स्वच्छ, गुणस्तरीय र सुरक्षित खाद्यवस्तु उपलब्ध गराउनुका साथै व्यवसायीलाई जिम्मेवार र उपभोक्तामैत्री बनाउन अनुगमन प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सिमकोट गाउँपालिकाको आयोजनामा, जिल्ला प्रशासन कार्यालय हुम्ला तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको समन्वयमा बजार अनुगमन गरिएको हो।
अनुगमन टोलीमा उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिकोसमेत सहभागिता रहेको थियो।








