हेलिकोप्टर जम्मै यताबाट हटाइँदै
त्रिभुवन विमानस्थलमा रहने हेलिकप्टरहरूलाई अन्यत्रै सार्ने तयारी शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणको नाममा भक्तपुरको नलिञ्चोकमा रहेको करिब ३६ रोपनी जग्गामा उडान र अवतरण स्थल बनाउन अध्ययन शुरु गरिएको हो । गत आइतबारको प्रारम्भिक अवलोकनबाट यो स्थल हेलिप्याड अवतरण र विश्राम थलोको लागि उपयुक्त देखिएको छ । हेलिकोप्टरहरूलाई अन्त सार्न सकियो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको जहाजको चाप कम हुनेछ । त्रिभुवन विमानस्थललाई साना, ठूला–आन्तरिक र बाह्य उडानका जहाजसहित सेना र प्राइभेट हेलिकप्टर कम्पनीहरूले प्रयोगमा ल्याइरहेका छन् । नेपालमा दर्ता रहेका हेलिकप्टर कम्पनीहरू करिब दुई दर्जनको हाराहारीमा छन् भने ३० वटा जति नियमित उड्छन् ।
उपयोगिताविहीन आफ्नो जग्गाको स्थिति बुझ्न हवाई विभागका डिजी प्रदीप अधिकारीसहितको टोली अस्ति भक्तपुर पुगेको थियो । यो स्थललाई हेलिकोप्टरले मात्रै प्रयोग गर्दा पूर्र्वी क्षेत्रहरूको उडानमा निकै ठूलो सहयोग पुग्ने देखिन्छ । रामेछाप, सोलुखुम्बुको लुक्लालगायतका अति व्यस्त एअरपोर्टहरूको निम्ति उडान र इन्धनका हिसाबले नलिञ्चोक निकै उपयुक्त रहेको बताइन्छ । यो स्थल निर्माण शुरु गरेको एक वर्षभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।