सिमसार क्षेत्रमा देखिएका समस्या र यसको समाधान
Advertisement 1
सिमसार क्षेत्र जैविक विविधताको हिसाबले अति महत्वपूर्ण मानिन्छ । यो नै धेरै मानिसहरुको बाँच्ने आधार पनि हो । यस महत्वलाई बुझेर यसको संरक्षण हुनु पर्छ भनी मानिसहरुले काम गर्न थालेको धेरै भयो तर पनि दिनानुदिन यो क्षेत्र संकटमा परिरहेको छ । पानी भएको जमीन, तालतलैया, पोखरी, दह, कुवा, दलदले जमीन, खोला, खोल्सा, नदीनाला र वरपरको जमीन, जहाँ वर्षैभरि पानी जमिरहन्छ, पानीले पूरै वा आंशिक रुपमा ढाकिरहन्छ, ओसिलो भइरहन्छ, त्यसलाई सिमसार भनिन्छ । इरानको रामसार भन्ने स्थानमा भएको प्रथम विश्व सिमसार दिवस १९७१ ले दिएको परिभाषा अनुसार सिमसारलाई यसरी परिभाषित गरिएको छ ः ‘प्राकृतिक वा कृत्रिम रुपले सिर्जित अस्थायी वा स्थायी रुपमा रहेका ६ मिटरसम्म गहिरा, पानीले ढाकेका, पानी बग्ने वा झरनाको रुपमा खसेर बनेका रह, दलदलहरु, ढाप, जरुवा, पानी भएको क्षेत्र, स्वच्छ वा नुनिलो पानीले ढाकेका जमीनलाई सिमसार भनिन्छ ।
सिमसार क्षेत्रहरुले मानवजाति र सिंगो पर्यावरणलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभ प्रदान गरेका हुन्छन् । सिमसार क्षेत्र भनेका मानिस, जीवजन्तु, वनस्पतिहरुका लागि विभिन्न किसिमका पर्यावरणीय सेवा प्रदान गर्ने अत्यन्तै महत्वपूर्ण क्षेत्रहरु हुन् । जसको सम्वन्ध मानवजातिको उज्यालो भविष्य तथा दिगो जीवनयापनसँग गाँसिएको छ । विश्वमा जतिपनि धान खेती गरिन्छ, पाखे धान बाहेक सबै सिसारमा नै गरिन्छ । करिब ३ अर्ब मानिसले दैनिक उपभोग गर्ने चामल सिमसार क्षेत्रबाटै उत्पादन हुन्छ । नेपालको सिमसारहरुमा धानका ४२ भन्दा बढी स्थानीय प्रजाति पाइने गर्दछन् । यिनीहरु सबैको आफ्नै खालको महत्व छ । त्यो बाहेक माछा पालन, पर्यटन, यातायात जस्ता व्यवसायहरु यो क्षेत्रमा नै निर्भर गर्दछन् ।
पिउने पानी, सिँचाइको लागि आवश्यक पानीको प्रमुख स्रोत पनि सिमसार क्षेत्रहरु हुन् । हामीलाई दैनिक आवश्यक पर्ने स्वच्छ पानीको एउटा स्रोत भूमिगत जल पनि हो । पिउने पानी, सिँचाइको लागि चाहिने पानी, जलविद्युत उत्पादनको लागि आवश्यक पानीको स्रोत पनि सिमसार हो । सिमसारले जमीनमा चार्ज गरेको पानी नै भूमिगत जल हो । पहाडी भेगमा रहेका सिमसारहरुबाट जमीनमा सोसिएको पानी नै तल्लो भेगमाा निस्कने मूलहरुको स्रोत हुन् । यी नै पछि खोल्सा, खोला र नदी बनेर बग्ने गर्दछन् ।
सिमसार क्षेत्र जैविक विविधताको दृष्टिले पनि अत्यन्त महत्वपूर्ण क्षेत्र हो । सिमसारहरुले विभिन्न जीवजन्तुहरुलाई वासस्थान, आवश्यक खानेकुरा, पानी र प्रजनन स्थल आदि उपलब्ध गराएर सुरक्षा प्रदान गरिरहेका हुन्छन् । पानीमा पाइने माछा, गोही, कछुवा, सर्प, भ्यागुता, शंखेकीरा (घोगी), चिप्लेकीरा आदि मात्र हैन जंगलमा पाइने गैंडा, हात्ती, बाघ, मृग, जरायो, बनेल, कीटपतंक, चराहरु पनि सिमसारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आश्रित रहेका हुन्छन् । कोशी टापु, बीसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल आदि क्षेत्रमा स्थानीय लगायत विभिन्न देशबाट बसाइँ सरेर आउने विभिन्न प्रजातिका चराहरुको लागि पनि महत्वपूर्ण बासस्थान बनेका छन् । सिमसारहरुलाई विभिन्न जनावर, चराहरु आदिले कसैले बासस्थानको रुपमा, कसैले आहारा खोज्ने स्थलको रुपमा, कसैले क्रिडास्थलको रुपमा, कसैले प्रजनन् स्थल वा बच्चा हुर्काउने स्थलको रुपमा प्रयोग गरिरहेका हुन्छन् । यिनीहरुबाट मानिसहरुले विभिन्न प्रकारका खाना, औषधिजन्य वस्तु, निर्माण समग्री र कच्चा पदार्थ प्राप्त गरेका हुन्छन् ।
त्यसरी नै सिमसारहरुमा विभिन्न प्रजातिका वनस्पतिहरु पनि रहेका हुन्छन् । ती बोट तथा रुखबिरुवाले विभिन्न रासायनिक पदार्थलाई सोसेर पानीलाई स्वच्छ बनाउने काम गर्छन् । सिमसार क्षेत्रमा भएका वनस्पति, जनावर र सूक्ष्म जीवाणुहरुले औद्योगिक क्षेत्रबाट उत्पादन हुने विषाक्त पदार्थहरु, पहाडबाट बगेर आउने ढुंगा, माटो लगायतका रासायनिक पदार्थलाई छानेर लिई पानीलाई स्वच्छ बनाउने काम गर्छन् । उदाहरणको लागि समुद्रमा पाइने ओष्टर नामको जनावरले एक दिनमा २०० लिटर पानीलाई फिल्टर गरेर स्वच्छ बनाउने गर्छ भन्ने अनुसन्धानबाट थाहा भएको छ । अर्को एक अध्ययनअनुसार स्वच्छ पानी भएका ३५ सिमसार क्षेत्रले पृथ्वीको ३० प्रतिशत कार्बनलाई सञ्चय गरिराखेको छ । जुन पृथ्वीमा पाइने वन क्षेत्रले सञ्चय गर्ने कार्बनडाइअक्साइडको दुई गुणा हो । सिमसारहरुले प्राकृतिक रक्षाकवचको काम गरेर बाढी, पहिरो रोक्न पनि ठूलो भूमिका निर्वाह गरेका हुन्छन् ।
Advertisement 2
सिमसार क्षेत्र स्थानीय रैथाने प्रजातिका लागि आधार स्थलहरु हुन्, जसको सम्बन्ध मानव सभ्यता र मानव अस्तित्वसँग जोडिएको छ । नेपालकै सिमसार क्षेत्रलाई हेर्ने हो भने कैलाली जिल्लाको घोडाघोडी तालमा पाइने पानीहाँस नेपालकै महत्वपूर्ण स्थानीय प्रजाति हो, जुन अन्य क्षेत्रमा पाइँदैन । नेपालका सिमसारहरुमा १७० वटा चराका प्रजातिहरु, १८५ माछाका प्रजातिहरु, नेपालमा पाइने ६५०० वानस्पतिक प्रजातिहरु मध्ये २५ प्रतिशत जति सिमसार क्षेत्रमा रहेका पाइन्छन् । रैथाने प्रजाति मात्र हैनन् नेपालका सिमसारहरुमा त रुस, दक्षिण अफ्रिका, इण्डोनेशिया, चीन आदिबाट बसाइँ सरेर आउने चराहरु पनि आउने गर्दछन् ।
पृथ्वीमा रहेका ६१.८५ प्रतिशत जनताको जीविकोपार्जनको प्रमुख आधार सिमसार क्षेत्र बनेको छ । अहिले संसारभरमा ६६ करोड जनता माछा पालन र यससँग सम्बन्धित व्यवसायमा आधारित रहेका छन् । त्यसको अलावा सिमसार क्षेत्रबाट मानिसले जनावरको लागि घाँस, जैविक तेल, जडीबुटी आदि प्राप्त गर्छन् । नेपालका थारु, मुसहर, मलाहा, दुसड, केवट, राजवंशी, बोटे, दराई, अल्पसंख्यक मुस्लिम आदि आदिवासी जनता अझै पनि सिमसार क्षेत्रबाटै जीविकोपार्जन गर्ने गर्दछन् ।
Advertisement 3
सिमसार क्षेत्रहरु मनोरन्जन र पर्यटन विकासको दृष्टिले पनि अति महत्वपूर्ण छन् । सिमसारहरुले बाढीको प्रकोप र भूक्षयको नियन्त्रणमा पनि सहयोग गरिरहेका हुन्छन् । यिनीहरुले वर्षाको पानीलाई समन गर्ने र बगेर आएको माटोलाई धारण गरेर बाढीको समस्याको केही हदसम्म समाधान पनि गर्दछन् ।
मानव जातिका लागि जीवनको आधार बनेका यस्ता महत्वपूर्ण सिमसार क्षेत्रहरु अहिले मानिसहरुकै क्रियाकलापले गर्दा जोखिममा परेका छन् । हामीले गरेका विकास निर्माणका कार्यहरु, बढ्दो सहरीकरण, मानिसको अतिक्रमण, औद्योगिक क्षेत्रबाट निस्कने फोहोर, रासयनिक मल र रासायनिक विषादी आदिको कारण नै सिमसार क्षेत्र बढी संकटमा छ । सन् १९९० यतामात्रै पृथ्वीमा भएका सिमसार क्षेत्रहरुमध्ये ६४५ सिमसार क्षेत्रहरु लोप भैसकेका छन् ।
लोप भएका क्षेत्रहरुमध्ये धेरैजसो एसियामा र मुख्यगरी पहाडी क्षेत्रमा छन् । यिनीहरुको उचित संरक्षण नगर्ने हो भने हामी नै उनीहरुले पु¥याउने फाइदाबाट वञ्चित हुन पुग्दछौं । यसले हाम्रो जनजीविकालाई नै असर पु¥याउँदछ । हुन त अहिले सिमसार क्षेत्रको संरक्षण गर्ने कुरा धेरै गरेको सुनिन्छ तर मानिसहरुले गर्ने विभिन्न क्रियाकलापलाई नियाल्दा भने यो सम्भव देखिन्न ।
सिमसार क्षेत्रको अतिक्रमण, जथाभावी गरिने विकास निर्माण, औद्योगिक क्षेत्रबाट निस्कने प्रदूषित बस्तुहरुको विसर्जन, खेतबारीमा अत्यधिक मात्रामा प्रयोग गरिने रासायनिक विषादी र मलको निकास, भूक्षय र बाढीपहिरोको असर, बढ्दो सहरीकरण आदिले गर्दा सिमसार क्षेत्रहरु संकटमा पर्दै गएका छन् । सिमसारहरुमा पर्ने यस किसिमको प्रभावबाट अन्तमा सिंगो पर्यावरण र मानव जाति नै प्रभावित हुने देखिन्छ । यसको लागि हरेक जन समुदाय सचेत भई संसारको प्रत्येक कुनाकुनाबाट संरक्षणको विशेष अभियान चाल्नु जरुरी भइसकेको छ । यो अभियानमा सबैको सहभागिताको आवश्यकता छ ।