कलाकारिता क्षेत्र र कलाकारको सुरक्षा
समाजको ऐनाको रूपमा रहेको कलाकारिता क्षेत्रलाई राष्ट्रको गहना भनिन्छ। कलाकारिताको क्षेत्र विहंगम छ। लेखनकला, चित्रकला, मूर्तिकला हस्तकला, काष्ठकला ,नाचगान , गीत संगीत, मोडेलिंग आदि सबै यो क्षेत्र संग संबन्धित छन् तर पनि लोक संस्कृति संग सम्बन्धित कलाले समाजका गतिविधिलाई प्रतिनिधित्व गर्छ।
Advertisement 1
त्यस्ता गतिविधिमा गायन, वाद्यवादन, नृत्य, मोडेलिॅग आदि पर्दछन्। यो क्षेत्रमा खासगरी यूवाहरू तथा टिन एजर समूहको बाहुल्यता हुन्छ। कलाकारिता क्षेत्रको प्रवर्द्धन र विकासमा निजी क्षेत्रको भूमिका अहं भएको पाईन्छ। स्कूल एजको यो उमेर अतिरिक्त कृयाकलाप सिक्ने उमेर पनि हो ।यसैले कलाकारिताको यो क्षेत्रमा टिन एजरको सहभागिता बढी नै हुने गरेको पाईन्छ। आजभोली त बिभिन्न टेलिभिजन च्यानलले यो क्षेत्रका प्रतिभाहरू खोजी गर्ने क्रममा बिभिन्न कार्यक्रम समेत चलाउदै देशका कुना काप्चा सम्म पुग्ने गर्छन्। यस्ता प्रयासहरूले नयां नयां कलाकारहरूलाई जन्माएको पाईन्छ जुन सकारात्मक पक्ष हो। यसरी विभिन्न प्रतियोगिताबाट खारिदै आउदा ओझेलमा परेका कलाकारहरू उजागर हुने मौका पाएर यिनीहरूले आफ्नो र देशको मुहार उज्यालो बनाएका छन्। जुनसुकै क्षेत्रको पनि दुईवटा पाटा हुन्छन् एउटा सकारात्मक र अर्को नकारात्मक।
यो कलाकारिता क्षेत्र सकारात्मक हुदा हुदै पनि यसको ब्यबस्थापन गर्न नजान्दा र नसक्दा यो क्षेत्रमा उदाउदै गरेका प्रतीभाहरू बीच मै खतरामा पर्ने गर्छन् र यिनिहरूको भविष्य अन्धकार हुन पुग्छ।यस्तो अबस्था आउनुका पछाडि धेरै कारण छन् ती मध्ये केही प्रमुख कारणहरू यहा उल्लेख गर्ने कोशिस गरिएको छ। सर्वप्रथम त यिनीहरूले संरक्षकत्वको अभाव महसुस गर्नु पर्ने हुन्छ। किनभने यिनीहरू घरको संरक्षकत्वबाट टाढा हुने र अर्को भर पर्ने र विश्वासिलो संरक्षकत्वको अभावमा बस्नु पर्ने हुदा यिनीहरू उपर सुरक्षा खतरा हुन्छ। यस्ता प्रतिभाहरुको कलाबाट जो कोही पनि आकर्षित हुन सक्छ र संरक्षकत्वको अभावमा सो आकर्षणको दुरूपयोग नहोला भन्न सकिदैन। त्यसैले यस्ता कलाकार सुरक्षाको खतरामा हुन्छन्। अधिकांश यस्ता कलाकार टिन एजर हुने हुदा यिनीहरू शारीरिक र मानसिक तवरले अपरिपक्व हुन्छन्। यिनीहरू संग सोच्ने शक्ति कमजोर हुन्छ। आफ्नो भविष्य बारे सोच्न नसक्ने बेलामा यिनीहरू उपर हुने असुरक्षाको आंकलन गर्न सक्दैनन्।
Advertisement 2
अधिकांश कलाकारहरूको पढ्ने उमेरमा यो क्षेत्र तिर आकर्षण बढ्दै जान्छ जसले यिनीहरूको शैक्षिक विकास रोकिन सक्छ। यसरी शैक्षिक विकासमा अवरोध आउनु निश्चय पनि सुखद पक्ष हैन। यो क्षेत्र अन्य क्षेत्रको तुलनामा बढी ग्ल्यामरस हुन्छ जुन स्वभावैले बढी खर्चिलो हुन्छ। यो पूरा गर्न खोज्दा कलाकारहरू कूलत तिर लाग्ने डर हुन्छ। त्यसै गरी हाम्रो समाज यो क्षेत्रमा जति बढी जिम्मेवार हुनु पर्ने हो त्यति जिम्मेवार हुनुको सट्टा तमासे भएको पाईन्छ जसले पनि यो क्षेत्रले संरक्षक विहीनताको समस्या झेल्दै गएको छ। यो समस्याबाट पुरूष कलाकारको तुलनामा महिला कलाकार बढी पीडित भएको पाईन्छ। यो क्षेत्रले प्रारम्भमा यस्तै समस्याहरु भोग्ने गरेको पाईन्छ तर यसबाट हरेश नखाई अगाडि बढ्ने र देखिएका समस्यालाई क्रमशः कम गर्दै जान सक्नु पर्छ। यसको निम्ति सम्बन्धित अभिभावक नै जिम्मेवार बन्नु पर्ने हुन्छ। आफ्ना सन्तानको कलाकारिता क्षेत्र तर्फको क्षमता पहिचान गरी उनीहरूको सहभागितालाई प्रोत्साहन र संरक्षण गर्न प्रारम्भमा स्वयं अभिभावक खट्नु पर्ने हुन्छ। जब उनीहरू परिपक्व हुदै जान्छन् अनि साथीहरूको साथमा छोड्न सकिन्छ।
त्यसै गरी विद्यालयले पनि आफ्ना विद्यार्थीको क्षमता पहिचान गरी उनीहरूको औपचारिक शिक्षामा वाधा नआउने गरी साथ सहयोग र संरक्षकत्व दिनु पर्ने हुन्छ। यसरी बहकिन सक्ने उमेरलाई ख्याल गरेर कलाकारको क्षमतालाई अगाडि बढाउने नीति स्थानीय सरकारले पनि लिनु पर्ने हुन्छ। कलाकारलाई समाजको ऐना र राष्ट्रको गहना बनाउन परिवार, समाज र सरकारको अहं भूमिका रहन्छ। यसैले यस तर्फ सम्बन्धित सबैले बेलैमा ध्यान पुर्याउन जरूरी छ।