म सक्छु
आफैबाट सुरु गर्छु
छ सात क्लास पढ्दाको कुरा हो । जेठी सक्रातीका दिन बासँग गण्डकी नुहाउन र मेला भर्न रिडी गएँ । नुहाएर ऋषिकेशव भगवानको दर्शन गरियो । बिछट्ट जाडो थियो । अहिले जस्तो चाइना जकेट पाइन्नथ्यो । हामी फेरि बगरमा गयौं । घाममा बसेर घरबाटै पकाएर ल्याएंको ढकनी र अर्सा खाइयो । टपरी गोमातालाई चढाएर हामी मेला हेर्न गयौं ।
एक बजेतिर बाले भन्नुभयो – हिँड् अब घर जाम ।
मलाई रामरमिता हेरेर पुगेकै थिएन । साथमा दमालीहरु पनि थिए । हामी चारजना केटा मिलेर रिडीमै बस्ने सल्लाह गर्यौं । बाले भन्नुभयो – राति अत्ति नै जाडो हुन्छ । जाडो खटाउन सक्छस् ?
मलाई बूढाहरुले केटाकेटीको जाडो बाख्राले खान्छ भन्ने गरेको सम्झना भयो ।
म – सक्छु ।
बाले एक मोहर दिनुभयो । अरुका बाले पनि दिए होलान ।
घाम हुन्जेल खूब मजा आयो । दश पैसा खर्च गरेर बाइस्कोप पनि हेरियो । साँझ पर्नासाथ परिचित भक्तिनीकहाँ मस्यौराको झोल र भात खायौं ।
सात आठ बजेपछि शीत बोकेको सिरेटो चल्न थाल्यो ।
अलि परको सानो मन्दिरमा एकजना दमालीले चिन्ने विद्यार्थी बस्दारहेछन् ।
दमाली – जाम तेतै बसम जाद्रै जो जाडो भयो ।
म – डर लाग्दैन ? लैजान सक्छौ ?
दमाली – सक्छु ।
हामी काँप्दै अघि बढ्यौं । गण्डकी आफ्नै सुरमा मस्त सुसाइरहेको थियो । जताततै सन्नाटा । तल लास पोलेको देखियो । हामी हिँड्दा हिँड्दै दौड्न सुरु गर्यौं ।
मन्दिरे विद्यार्थी बरा ! आफै त खैरात खाएर बटुक्याइँ गरेर बसेका । एउटा साँघुरो कोठामा सानसानो गुन्द्रो रहेछ । एउटा गम्छा ल्याए । उनले विनम्रतापूर्वक भने – मसँग भएको यही हो ।
झन फसाद पर्यो । मैले दमालीलाई भने – फर्कौ । बरु उता बगरमा जोगीसँग बसेर मुढा तापम्ला ।
दमाली – मलाई गण्डकी सुसाएको सुन्दा डर लाग्छ । लास पनि पोलिरहेका छन् । अब म सक्दिन।
मैले बटुकलाई सँगै जान अनुरोध गर्दै भने – हामीलाई पुर्याउन जान सक्छौ ?
बटुक – सक्छु । तर जन्न ।
हामीसँग एकबट्टा आशा चुरोट र सलाई थियो । चुरोट खानेले त्यही तानेर जाडो भगाउने प्रयत्न गरियो । त्यो पनि सकियो । बिहान उज्यालो भएपछि हामी घरतिर उकालो लाग्यौं ।
जङ्गबहादुरको पुरानो दुश्मन केही सीप नलागेर मुर्मुरिएर बसेको थियो । अब यो जुनीमा जङ्गेको एउटो रौं पनि उखेल्न सकिने हैन । तैपनि कुनै जुक्तिले बेस्सरी गाली गर्ने मेलो मिलाउनु पर्यो भनेर इन्द्रचोकतिर गएछ । इन्द्रचोकमा जाँड खाएका भरियाहरु जम्मा भएर जङ्गे नामको घिउ साहुलाई तथानाम गाली गर्दै थिए ।
मान्छेले अलि जोसिलो भरियालाई सोध्यो – अझै ठूलो जङ्गेलाई गाली गर्नु छ , सक्छौ ?
भरिया – सक्छु ।
मलाई रिसुठेको जङ्गेलाई मेरो मर्जीले गाली गर्छु । तिमिलाई रिसुठेको जङ्गेलाई गाली गर्न त खर्च गर्नुपर्छ ।
मान्छेले एक ढुङ्ग्रो जाँड किनिदियो । भरियामा जङ्गेलाई गाली गर्ने अभ्यास त थियो नै । उसले जङ्गबहादुरको घरको गेटमा उभिएर भक्कु ननभेज गाली गर्यो ।
भरियालाई एउटा सिपाहीले गारतमा लगेर थुन्यो । भोलिपल्ट सबेरै उसलाई जङ्गबहादुरका हजुरमा हाजिर गराए । जाडोयाम , भरिया लगलग काँप्दै थियो । बयान सकिएपछि कप्तान – गाली गर्न उक्साउने मान्छेलाई चिन्न सक्छस् ?
भरिया – सक्छु हजुर ।
कप्तान – त्यसको हुलिया बताउन सक्छस् ?
भरिया – सक्छु । कालो दौरा , सेतो फेटा , पहेँलो बर्को र
माउखाने टोपी लाको मान्छे त हो नि ।
तर चिन्नको लागि त्यो मान्छेले जे खान दिएको थियो त्यही चाहिन्छ । भरियाले दुई ढुङ्र्ग्रो धोकेर भन्यो – त्यो मान्छेको घर देखाइदिनुहोस् अनि चिन्छु ।
जङ्गबहादुर – देखिस् कप्तान यसको चलाखी ? ठाउँको ठाउँ जङ्गेलाई चराउन सक्ने मान्छे पनि भेटियो यो मुलुकमा । यसलाई अरु दुई ढुङ्ग्रो दिएर पठा ।
पन्चायती व्यवस्था सुरु भएपछि गाउँ पन्चायत गठन हुन थाले । एउटा गाउँमा केन्द्रबाट खटिएको दौडाहाले मान्छे जम्मा गराएर सोधेछ – प्रधान उपप्रधान चलाउन सक्ने को छ ?
भूतपूर्व लाहुरे – म सक्छु ।
पछि लाहुरेले यसो सोच्यो – प्रधानभन्दा त उपरप्रधान ठूलो हो । अब आफै उपर बनेर एउटो सोझोलाई प्रधान बनाउँछु । झोलासोला बोकाउन काम लाग्छ ।
लाहुरे उपप्रधान भयो । प्रधानलाई झोलासोला बोकाएर हिड्न थाल्यो । गाउँमा दौडाहा आयो । उपभन्दा प्रधान ठूलो हो भन्ने दुबै पन्चले थाहा पाए ।
प्रधान बाठो भइसकेको थियो ।
प्रधान – ए उपजी ! झोला बोक्न सक्छौ ? प्रधान्नी त म आफै चलाउन सक्छु ।
लाहुरे (रिसाउँदै) – थुक्क दाउ !
विकासे मन्त्रालयमा एउटा झुर प्रोजेक्ट थियो । कोही पनि प्रोजेक्ट चलाउन सक्छु भन्ने निस्केन । अत्ति नै भएपछि मन्त्रीले मिटिङ बोलाएर दर्जा पुगेका सबै साहेबहरुलाई को सक्छ ? भनेर सोध्यो । सबै मुन्टो झुकाएर बसिरहे ।
पर सबैभन्दा पछाडि एकजना कहिल्यै हाकिम हुन नपाएको सोझो दर्जा पुगेको कर्मचारी जुरुक्क उठेर भन्यो – म सक्छु ।
मन्त्री – ल सचिवजी आजै खटाइदिनुस् ।
सोझो – मेरो कुरा सकिएकै छैन हजुर ! म पर्सि अण्ठाउन्न पुग्दैछु । साठी कायम भयो भने सक्छु ।
एकजना दरपिया अमिताभ बच्चनको घरमा पुग्यो ।
अमिताभ – कति कामले पाल्नुभो ?
दरपिया – कौन बनेगामा भाग लिने मेसो गर्नु पर्यो ।
अमिताभ – सक्नुहुन्छ ?
दरपिया – सक्छु ।
अमिताभ – ल म टेस्ट लिन्छु है त । यहाँबाट रेखाको घर जान सक्नुहुन्छ ?
दरपिया – सक्छु । किसी जमानेमे मै रेखासे प्यार करता था । जब आपने उसपर आँख लगाया तो मैने छोड दिया ।
अमिताभ – मल्लिका सेराबतको बारेमा सोध्छु । भन्न सक्नुहुन्छ ?
दरपिया – सक्छु ।
अमिताभ – मल्लिकाको बाबुको नाम भन्नहोस् ।
दरपिया – मल्लिकाको कुरा सोध्नुस् न ! एक एक जवाफ दिन सक्छु म । कुरा नतर्काऊ है बिग बी ।
अमिताभ – आप पास हो गये भाइसाब ।
अन्त्यमा – बिरालाको घाँटीमा कसैले घण्टी बाँध्न सकेको छैन भन्ने लोकविश्वास छ । एउटा मुसोले म सक्छु भनेको धेरै वर्ष भयो । घण्टी बाँध्न सक्यो कि सकेन मलाई मात्र थाहा छ । म यो कुरा भन्न त सक्छु , तर बिजोडा सालमा भन्दिन ।