यस्तो छ सामान्य प्रशासनले उत्कृष्ट ठहराएको तीन कविता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति सेवा दिवस २०७८को अवसरमा आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा  तेह्रथुमकी रेजिना अपागाई प्रथम भएकी छिन् ।यस्तै खोटाङका प्रकाश आचार्य द्धितीय र उदयपुरकी भवानी खतिवडाले तृतीय उपाधि जितेकी छिन् । सो प्रतियोगितामा प्रथम रेजिना अपागाईले इच्छा शीर्षकमा,दोश्रो भएका प्रकाश आचार्यले छन्द कविता भूस्वर्ग होस् देश यो शीर्षकमा र तृतीय भएकी भवानी खतिवाडले आस्थाको घाम शीर्षकमा कविता लेखेका थिए ।
उत्कृष्ट भएका तीन कवितामध्ये प्रथम हुनेलाई २५ हजार द्धितीय हुनेले १५ हजार र तृतीयलाई १० हजार पुरस्कार प्रदान गरिनेछ । कविता यस प्रकारको छ
प्रथम कविता –
इच्छा
चराहरूको रात्री स्वप्न
पूरा हुनुभन्दा अगाडि
निशालाई चिरेर रविले
निर्वाध स्पर्श गरेजस्तै पृथ्वीलाई
निर्विरोध टेक्न पाऊन् हरेक नेपालीले
दुई पाउ जमिन।
पूरा बनोस् तीन करोड आँखाले
एकैसाथ देखेको
बुद्धको छातीजस्तै शान्त नेपाल
निर्माण गर्ने अभिनव सपना
विदेशबाट आउने ठुलो जहाजमा
हरेक दिन नेपालबाट नउडुन्
अभावका रित्ता झोलाहरू।
हाम्रै बारीमा फल्ने अनारका दानाहरुले
सिकाइ रहन्छन् मेलमिलापको पाठ
मकैका दानाहरु टम्म मिलेर
बसेजस्तै खोयाहरुमा
सबै नेपाली निर्विवाद बस्न सकुन्
साझा आकाशमुनि।
हरेक रात सपनामा देखेको
फराकिलो बाटो
उज्यालो नेपाल
छिट्टै विपना बनोस्
कर्णालीले पनि देख्न पाओस्
समृद्धिको अनुहार
जुम्लाको स्याउसँग
ओलाङ्चुङगोलाको राडीपाखी
साट्न सकुन् नेपालीले।
युवाको पसिनाले सिञ्चित भएर
जन्माउन पाओस्
आफ्नो उर्वर गर्भबाट
माटोले लहलह अनाजपात।
कोदाली र जिन्दगी
पर्यायवाची बुझेका बिर्खे दाइ
थाप्लोको नाम्लो र सुख
एउटै सम्झेकी
मेरी बुढी आमाले
लिन पाउन् एक फोक्सो
सुखको सास
धनुले रेटेजस्तै
सारङ्गीको शरीर
महलहरूले रेट्न नपाउन
झुपडीको मुटु।
चित्रकारले क्यानभासमा
कोरेजस्तै सफल चित्र
पाठशालामा हाम्रा
कलिला नानीहरूले
कोर्न पाउन् उज्वल भवष्यका
सुनौला तस्वीरहरु।
सत्तामा गण्डकीको जलजस्तै
निष्कपट अनुहार
देख्न पाइयोस्।
पानी परेर खुलेको
आकाश जस्तै मन भएका
सयौँहुल मान्छेहरू अटाउने
एउटा सुन्दर वाटिका
बनाउनु छ अब
जहाँ खुसीले फुल्न पाओस्
चार जात छत्तिस वर्ण
जहाँ फुल्न पाओस्
हिमाल पहाड तराई।
रेजिना आपगाईँ
तेह्रथुम।
0000000000000000000000000000      00000000000000000000000
द्वितीय कविता:-
भूस्वर्ग हाेस् देश याे !
नाैलाे शिल्प कला उमार्छ मनले खाेपेर राैपाैँ यहीँ
हाेस् विस्तार विकासको क्रमिकता मेची र काली जहीँ ।
डाँफेझैँ नवरङ्गमा चहकिने यो मृत्तिका स्वर्ण हाे
साँचाैँ स्वप्न समृद्धिकाे नयनमा भूस्वर्ग हाेस् देश याे ।।१।।
आशा भर्नु छ कन्दरा निकटगै सद्भाव लम्काउँदै
छर्दै प्रेम सुशान्त भाव भवमा माधुर्य चम्काउँदै ।
प्याराे ठान्दछ राष्ट्रसेवक सधैँ नि:स्वार्थ सेवा अहाे
साँचाैँ स्वप्न समृद्धिकाे नयनमा भूस्वर्ग हाेस् देश याे ।।२।।
हाँसून् सन्तति चन्द्र सूर्य जसरी यी देशका सौरभ ।
अास्थाकाे घर वीरता सहिदकाे बाँचाेस् सदा गाैरव
जागून् चेतन राष्ट्रप्रेम रसले दायित्व जानेर याे
साँचाैँ स्वप्न समृद्धिकाे नयनमा भूस्वर्ग हाेस् देश याे ।।३।।
हाेस् सामाजिक न्याय अग्रगतिको सौभाग्य नानाथरी
मिल्ला रश्मि मधेश फाँट चुचुरा साैरम्य पाखाभरी ।
नाना उद्यमकाे सुगन्ध रसले बान्की थपाैँ देशकाे
साँचाैँ स्वप्न समृद्धिकाे नयनमा भूस्वर्ग हाेस् देश याे ।।४।।
सेवा शासनमा सुसज्जित बनाेस् संस्कारमा उच्चता
पाऊँ भाइ र भाइमा मधुमयी विश्वासिलो बन्धुता ।
हामी अब्बल भै प्रदर्शन गराैँ चम्किन्छ नेपाल याे
साँचाैँ स्वप्न समृद्धिकाे नयनमा भूस्वर्ग हाेस् देश याे ।।५।।
ल्याऊ सागर नित्य उन्नयनकाे अस्तित्वकाे ढालले
रम्नेछन् जनता सुवास मधुमा आनन्दकाे बागले
भ्रष्टाचारविहीन शासन बनोस् थैली बचाेस् देशकाे
साँचाैँ स्वप्न समृद्धिकाे नयनमा भूस्वर्ग हाेस् देश याे।।६।।
प्रकाश आचार्य”भावुक”(प्रभा)
दिक्तेल रुपाकाेट मझुवागढी न.पा. -१, खाेटाङ
हाल: जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा
00000000                                                         0000000000
तृतीय कविता :-
शीर्षक: आस्थाको घाम
——————————–
थाम्ने स्वराष्ट्रको भार गर्दछन् जसले प्रण
सगर्व जसले जप्छन् ‘सत्य सेवा सुरक्षण’
शौर्य साहसले आफ्नै जो फुल्छन् मरुभूमिमा
इतिहास तिनै रच्छन् श्रम-साफल्यको यहाँ ।
जलभण्डार बोकेर आफैँ प्यासी रह्यौँ भने
आफ्नै सुगन्ध बिर्सेका कस्तूरीझैँ बन्यौँ भने
भुली स्वाधीनता आफैँ छिन्नभिन्न भयौँ भने
के राष्ट्र रहला सग्लो द्वेष रोप्दै गयौँ भने ?
जहाँ संस्कृतिले आफ्नै भव्य सृष्टि सजाउँछन्
छर्कंदै शान्तिको रङ्ग इन्द्रेनी झल्मलाउँछन्
जहाँको मृत्तिकामा छन् नौला सम्भावनाहरू
स्रष्टा स्रोत जुटे फुल्छन् लाखौँ सृजनका तरु ।
देशवासी सबै आफ्ना भन्ने भाव छचल्कियोस्
राष्ट्रसेवकमा नौलो आस्थाको घाम झुल्कियोस्
एकतासूत्र यो हाम्रो नहोस् कैल्यै विखण्डित
रहोस् सृष्टि रहेसम्म देश हाम्रो अखण्डित ।
सिँगारौँ पसिना पोखी स्वदेशी मृत्तिका अब
खोलौँ समृद्धिको बाटो पुगौँ उत्कर्षमा सब
कीर्तिमाथि थपौँ कीर्ति चम्कौँ सत्-धर्म-कर्मले
उठौँ संसारमा हामी गर्विलो स्वाभिमानले ।
भवानी खतिवडा
तीनकुने, काठमाडौँ
प्रकाशित :२०७८ भाद्र २३, बुधबार १४:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry