ओली सरकारका ९ राजदूतको नियुक्ति बदर,को-को छन् राजदुत बन्ने लाइनमा ?
पूर्ववर्ति ओली सरकारले गरेका ११ राजदुतमध्ये ९ राजदुत नियुक्तिको सिफारिसलाई देउवा सरकारले बदर गरेको छ ।
ओली सरकारले कृष्णचन्द्र शर्मा दक्षिण कोरिया,सुम्निमा तुलाधर अष्ट्रेलिया,युवराज कार्की बहराइन, रमेशचन्द्र पौडेल श्रीलंका, नारायणप्रसाद संग्रौला म्यानमार, कुलप्रसाद नेपाल ब्राजिल,सुमित्रा सुवेदी डेनमार्क,मेराज मुसलमान साउदी अरेबिया र जंगबहादुर चौहानलाई रसियाका लागि सिफारिस गरेको थियो ।
यस्तै परराष्ट्र सेवाबाट निर्मलराज काफ्ले अष्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टको राजदुतमा सिफारिस गरिएको थियो । सिफारिस भएकामध्ये दुई कर्मचारीको नियुक्ति कायम राखी बाँकी ९ जनाको सिफारिस अस्ति शुक्रवार बसेको मन्त्रिपरिषद्ले बदर गरेको छ ।
Advertisement 1
राजदुत नियुक्ति गर्दा ५० प्रतिशत परराष्ट्र सेवाबाट र बाँकी ५० प्रतिशत राजनीतिक क्षेत्रका नियुक्ति गर्नुपर्नेमा त्यसो नगरी ११ जना राजदूत सिफारिस गर्दा २ जना परराष्ट्र सेवाका कर्मचारीबाहेक ९ जना राजनीतिक क्षेत्रबाट नियुक्त गरिएको थियो । यसरी बाहिरका मान्छे टिपेर राजदुत नियुक्ति गरिँदा परराष्ट्र सेवाका कर्मचारीहरु मारमा पर्दै आएका थिए ।
हालै सहसचिवमा बढुवा भएका कर्मचारीहरुको व्यवस्थापनमा सकस भइरहेकै समयमा सरकारले ९ राजदुतको नियुक्ति उल्टाइदिएको हो ।
असार अन्तिममा मात्र परराष्ट्र सेवाका ६ उपसचिव र ५ सहसचिवमा बढुवा भएका थिए । सहसचिवमा बढुवा भएकामध्ये कृष्णचन्द्र अर्याल, धनबहादुर ओली,सुधिर भट्टराई,घनश्याम लम्साल र तेजबहादुर क्षेत्री छन् ।
यस्तै उपसचिवमा बढुवा भएकाहरुमा ललीता सिलवाल,मुदिता बज्राचार्य र सीता बस्नेत, कुल बहादुर मगर,शिवानी बस्नेत र सबिता नकर्मी लगायतछन् ।
अब राजदुत नियुक्ति गर्दा ५० प्रतिशत परराष्ट्र सेवाबाट र ५० प्रतिशत राजनीतिक क्षेत्रबाट गर्ने सरकारको तयारी छ । हालै सह सचिवमा बढुवा भएका वा विदेशका नियोगबाट फर्किएकामध्येबाट राजदुत नियुक्तिका लागि सिफारिस हुनेछन् ।
Advertisement 2