पद नासु,सम्पत्ति १ करोड १० लाख
मासिक ३५ देखि चालिस हजार तलब थाप्ने नायब सुब्बा तहको कर्मचारीको सम्पत्ति कति होला ?
Advertisement 1
इमान्दार ढंगले काम गर्ने कर्मचारी टिक्नै गाह्रो हुने बताइरहँदा एक जना नासु तहका कर्मचारीसँग १ करोड १० लाख सम्पत्तिको स्रोत नदेखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्धखा दायर गरेको छ ।
अख्तियारले तत्कालीन नायव सुब्बा शिवराज उपाध्यायले १ करोड १० लाख रुपैयाँभन्दा बढीको अवैध सम्पत्ति आर्जन गरी स्रोत खुलाउन नसकेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
Advertisement 2
बझाङको सुर्मा गाउँपालिकाका तत्कालीन नासु शिवराज उपाध्यायविरुद्ध अख्तियारले १ करोड १० लाख ६७ हजार ७३८ रुपैयाँ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।
उपाध्याय अहिले निलम्बनमा छन । ०५५ साल भदौं २५ बाट निजामती सेवामा पाइला राखेका उपाध्यायले २३ बर्षको अवधिमा सेवामा रहँदा आर्जन गरेकोमध्ये एक करोड १० लाख ६७ हजार ७३८ रुपैंया १७ बराबरको स्रोत नपुगेको देखिएको हुँदा सार्वजनिक पद धारण गरेका शिवराज उपाध्यायले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकाले निज स्रोत नखुलेको सम्पत्ति बराबरकै बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई निज शिवराज उपाध्यायले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट बढे–बढाई हाल कायम रहेको उल्लेखित सम्पत्ति समेतबाट भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी आरोपीको नाममा रहेको जग्गा जमिनबाट असूलउपर गरी जफत गर्न मागदाबी लिइएको छ ।
Advertisement 3
साथै, शिवराज उपाध्यायले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती जयादेवी उपाध्यायको नाममा जग्गा खरिद, घर निर्माण तथा बैंक खाताहरूमा रकम मौज्दात लगायतमा गरिएका खर्चहरूमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो जफत गर्ने प्रयोजनार्थ मात्र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ (ख) बमोजिम जयादेवी उपाध्यायलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ अख्तियारले जनाएको छ ।