वैदेशिक रोजगार : केही सहजता, केही असहजता

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो तीन महिनामै २ लाख १० हजारले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश उडेका छन्। वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको पहिलो तीन (साउन–असोज महिनासम्ममा) २ लाख १० हजार ५ सय १६ जनाले श्रम स्वीकृति लिएको जनाएको छ ।
Advertisement 1
विभागका अनुसार चालु आ.व. २०८२/८३ को साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको जानेको यो संख्या अघिल्लो बर्षको तुलनामा बढेको देखिन्छ ।
यो संख्याले आधिकारिक माध्यमबाट देश छोडेका नेपालीलाई मात्र समेट्छ। अधिकारीहरूका अनुसार विदेशमा रोजगारी खोज्ने वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान छ। किनभने धेरै युवा भिसा भ्रमणमा गएर पछि रोजगारीमा संलग्न हुँदै आएका छन्। साथै यसमा अध्ययनका लागि देश छाडेका युवाको संख्या समेटिएको छैन।
गत आ.व. २०८१/८२ को सोही अवधिमा १ लाख ७० हजार ६ सय ३ जनाले श्रम स्वीकृति लिएको तथ्यांक विभागसँग छ। चालु आ.व.मा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ३९ हजार ९ सय १३ जनाले बढी रहेको विभागको तथ्यांकले देखाएको छ।
Advertisement 2
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेटस (युएई), साउदी, कतार, ओमान, बहाराइन, कुवेतमा नेपाली श्रमिक रोकिएको बताइए पनि ती देशमा जानेको संख्यामा कमी नआएको तथ्यले देखाएको छ ।
गत आ.व.मा रोजगारी खोज्दै ८ लाख ३९ हजार बढी युवा बिदेसिएका थिए ।
Advertisement 3
कोभिड–१९ महामारीपछि कामका लागि नेपाली युवा विदेश जाने क्रम बढिरहेको छ। आव २०८१/८२ मा आठ लाख ३९ हजार दुई सय ६६ नेपाली युवाले वैदेशिक रोजगारीका लागि अनुमति पाएका थिए। यो संख्या विगत तीन दशकमा सबैभन्दा बढी हो।
श्रम स्विकृतीमा सहजता
विभागले दिएको सेवाले पनि श्रमस्विकृति लिनेको संख्या उल्लेख्य रहेको विभागले जनाएको छ। एकैदिनमा छिटो छरितो अनलाइन सेवा दिँदा श्रम स्विकृति लिन सहज भएको हो।
विभागमा महानिर्देशक कमल भट्टराईका अनुसार वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि श्रम स्वीकृति लिन अब अघिल्ला वर्षहरूभन्दा सजिलो भएको छ।
सरकारले लागू गरेको अनलाइन श्रम स्वीकृति प्रणाली (FEIMS) र डिजिटल भुक्तानी व्यवस्थाले श्रमिकहरूलाई ठूलो सहजता पुर्याएको उनले बताए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार, श्रमिकले अब घरमै बसेर feims.dofe.gov.np मार्फत नयाँ वा पुनः श्रम स्वीकृति लिन सकिने उनले बताए।
यसअघि जस्तो ताहाचलस्थित विभागमा कागजपात बोकेर धाउनुपर्ने झन्झट अब आवश्यक छैन। डिजिटल भुक्तानी प्रणाली लागू भएपछि, शुल्क तिर्नका लागि बैंकमा लामो लाइन बस्नुपर्ने अवस्था पनि अन्त्य भएको छ।
विभागका अधिकारीहरूका अनुसार सबै कागजात सही भएमा श्रम स्वीकृति १ देखि २ दिनमै जारी गर्न सकिने व्यवस्था गरिएको छ। यसलाई ‘द्रुत सेवा (Fast Track)’ को रूपमा सञ्चालन गरिएको हो।
त्यस्तै, हाल श्रमिकको बीमा र प्रवासी कल्याण कोष समेत अनलाइन प्रणालीमै जोडिएको छ। यसअघि जस्तो बीमा प्रमाणपत्र र कल्याण कोषको रसिद लिएर छुट्टै कार्यालय धाउनुपर्ने आवश्यकता अब हटेको छ।
कसरी लिने पुनः श्रम स्वीकृति
वैदेशिक रोजगार विभागले अब पुनः श्रम स्वीकृति (रि-इन्ट्री) पूर्णरूपमा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने भएको छ। यससँगै विदेशमा रोजगारीका लागि गएका नेपालीले घरमै बसेर पुनः श्रम स्वीकृति लिन सक्ने सुविधा पाउने भएका छन्।
विभागका अनुसार अनलाइन प्रणालीमा बायोमेट्रिक प्रक्रिया — आँखाको स्क्यान वा फिंगर प्रिन्ट — पूरा गरेपछि पुनः श्रम स्वीकृति (रिइन्ट्री) लिन सकिन्छ। यो सेवा लिनका लागि आवेदकले वैदेशिक रोजगार विभागको वेबसाइटमा उपलब्ध अनलाइन श्रम स्वीकृति प्रणाली (FEIMS) मा गएर आवश्यक विवरण भर्ने छन्। फारम भरेपछि आफ्नो सुविधाजनक शाखा चयन गर्नुपर्ने व्यवस्था गरिएको छ।
यदि कुनै कारणवश आवेदन अस्वीकृत भयो भने, त्यसको कारणसहितको सूचना आवेदकले विभागमा श्रम स्वीकृति लिँदा प्रयोग गरेको मोबाइल नम्बर, इमेल वा युजर अकाउन्टमार्फत प्राप्त गर्नेछन्। त्यसैले विभागले युजरनेम, पासवर्ड र प्रयोग गरिएको मोबाइल नम्बर सुरक्षित राख्न आग्रह गरेको छ।
रेमिट्यान्सको टेको
एकातिर सहजता अर्को तर्फ वैदेशिक रोजगारका लागि नेपाली परदेशीरहेको तथ्य सोचनीय विषय हो। भौगोलिक विविधता र प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालबाट दैनिक हजारौँ युवायुवतीको विदेश पलायन गम्भीर प्रश्नहरू खडा हुन्छन्। बाध्यताका कारण वैदेशिक रोजगारीमा गएका नेपालीहरू अहिले रहर, प्रतिष्ठा र निराशाको कारणले देश छोड्न बाध्य छन्।
यस प्रवृत्तिका पछाडि राजनीतिक अस्थिरता, रोजगारको अभाव, भ्रष्टाचार, असमान अवसर र सरकारी उदासिनता प्रमुख कारणहरू हुन्। नेतृत्व र दीर्घकालीन योजनाको कमीले गर्दा नेपालका अथाह स्रोत–साधन प्रयोगविहीन भएका तथ्य लुक्न सकेको छैन। जल, जंगल, जमीन, जडीबुटी र पर्यटनका सम्भावनाको उचित उपयोग गर्न सके देशले आफ्नै जनशक्तिलाई रोजगारी दिन सकिने आधारहरू बन्न सक्छन्।
गत आव ०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स मुलुकमा भित्रिएको थियो। नेपाल राष्ट्र बैंकले दिएको विवरणअनुसार रेमिट्यान्समा साढे १६ प्रतिशतले वृद्धि भएको हो।
कफनमा फर्किनेको संख्या
पारिवारिक सपना र आर्थिक समस्या टार्न विदेश गएका नेपाली युवाले पैसा पठाउने वा परिवारको आर्थिक हैसियत फेर्छन् भन्ने छैन। धेरै नेपालीहरू कफिनमा फर्कनुपर्ने दुखद अवस्था पनि रहेको छ।
विदेश जाने कोही कसैको रहर हुँदैन। तर, बेरोजगारी र अभावले थिचिएपछि नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य छन्।
रोजगारीका लागि विदेश गएका नेपाली कामदारमध्ये विगत आर्थिक वर्ष २०८१/८२ (२०२४/२५) मा कुल १,४०१ जनाको शव नेपाल फर्काइएको छ। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरूको यो तथ्याङ्कले परदेशमा नेपाली कामदारको असुरक्षित अवस्थाको गम्भीर चित्र देखाएको छ।
तथ्यांकअनुसार औसतमा प्रत्येक दिन करिब तीनदेखि चार जनाको शव कफिनमा मातृभूमि फर्किरहेको छ। यीमध्ये धेरैजसो मृत्युका कारणहरूमा कार्यस्थलका दुर्घटना, हृदयघात, आत्महत्या, र उपचारको अभाव प्रमुख रूपमा उल्लेख गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार, वैदेशिक रोजगारमा जाने नेपालीहरूको मृत्यु दर पछिल्ला वर्षहरूमा घट्ने सट्टा स्थिर या कहिलेकाहीँ बढ्दो अवस्थामा छ।
घरखेत साहुलाई बन्धकी राखेरै भए पनि युवा विदेश भासिने क्रम निरन्तर छ। कति लुटिन्छन्,कति कामकै सिलसिलामा अंगभंग हुन्छन्। कतिले ज्यान गुमाउँछन्। गत आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३४६ युवाले ज्यान गुमाएका थिए।
यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको संख्या अझै धेरै छ। पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठूलो संख्यामा नेपाली युवा मृत्युवरण गर्न बाध्य छन्।
आर्थिक वर्ष ८०/८१ मा सबैभन्दा बढी मलेसियामा युवाहरूको मृत्यु भएको देखिनेछ। बोर्डले दिएको तथ्यांक अनुसार मलेसियामा ३४१ जना नेपालीको मृत्यु भएको छ भने साउदी अरबमा २२६ जनाको मृत्यु भएको छ। त्यस्तै यूएईमा १५५, कतारमा ११७ र कुवेतमा ४० जनाको मृत्यु भएको छ।













