स्मार्ट सेल प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्मार्ट टेलिकम प्रा.लि.को सम्पत्ति लिलामी तथा बिक्री प्रक्रियासम्बन्धी अनुसन्धानका क्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ।
Advertisement 1
सीआईबी प्रशासन शाखाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नेपाल दूरसञ्चार प्राधिकरण जफत तथा व्यवस्थापन समितिले २०७९ पुस १ गते स्मार्ट टेलिकमको सेवा सञ्चालनका लागि जारी गरेको अनुमतिपत्र नवीकरण नगरिएको, अनुमतिपत्र बापतको रकम तथा रोयल्टीसमेत नतिरेको र पटक–पटकको निर्देशन अटेर गरेपछि कम्पनीको दूरसञ्चार सेवा, संरचना, प्रणाली तथा उपकरण नेपाल सरकारको स्वामित्वमा ल्याई सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय गरेको थियो।
विज्ञप्तिअनुसार बीटीएस–०१÷मेमो २०७९ नम्बरको निर्णयमार्फत कम्पनीको सम्पूर्ण चल–अचल सम्पत्ति नेपाल सरकारको स्वामित्वमा ल्याई सञ्चालन तथा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको थियो। त्यसक्रममा २०७९ फागुन २ गते कम्पनीको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली तथा टावर नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो।
Advertisement 2
सीआईबीले सरकारी हक–हित संरक्षण गर्ने उद्देश्यले गठित ‘लिक्विडेसन रिकभरी कमिटी’ (एलआरसी)का अध्यक्षसमेत रहेका पाण्डेमाथि उक्त सम्पत्ति लिलामी प्रक्रियामा संलग्न रही गैरकानुनी लाभ पु¥याउने कार्य गरेको आरोप लगाएको छ।
प्रहरीका अनुसार काठमाडौँको रक्तकाली स्थायी ठेगाना भई हाल ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कबाट वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरिएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा इलाका प्रहरी कार्यालय भिमानको सहयोगमा नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।
Advertisement 3
सीआईबीका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २०८१ वैशाख १० गते निकालेको सूचनाको आधारमा स्मार्ट टेलिकमसँग सम्बन्धित विभिन्न उपकरण, टावर तथा दूरसञ्चार सामग्री लिलामी बिक्री गरिएको थियो। तर, लिलामी प्रक्रियामा प्रयोग भएका उपकरणहरूको लागत, मूल्यांकन तथा बिक्रीसम्बन्धी विवरणमा अनियमितता देखिएको र “नभएको उल्लेख गरी भएको तथा भएकोलाई नभएको देखाउने” लगायतका कार्यमार्फत सरकारी सम्पत्तिमा हानि पु¥याइएको आशंकामा अनुसन्धान अघि बढाइएको हो।
पाण्डेविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा सरकारी सम्पत्तिसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।












