नेतृत्व विकासमा सनातन ग्रन्थको मार्गदर्शन

लेखसार (Abstract)
नेतृत्व मानव सभ्यतासँगै विकास हुँदै आएको अवधारणा हो। सनातन एवम् पौराणिक ग्रन्थ शास्त्रहरु देखि नै नेतृत्वका आधारभूत सिद्धान्तहरुको प्रतिपादन हुँदै आएको पाइन्छ। सनातने दर्शन वा ग्रन्थ अनुसार एउटा समाजको ससानो सङ्गठनदेखि राष्ट्र र बहुराष्ट्र (राज्य, साम्राज्य, लोक, परलोक) सम्मको समग्र विकासको मार्गदर्शन गर्न सक्ने बुद्धिमान र धार्मिक (Righteous) व्यक्तित्व नै नेता/राजा/शासकका रुपमा चित्रण हुँदै आएको छ। यस लेखमा नेता भन्नाले राष्ट्रियदेखि स्थानीयसम्म र बृहत् सङ्गठनदेखि सूक्ष्म सङ्गठनसम्मको तह वा निकायलाई अगाडि बढाउने वा व्यवस्थापन गर्ने जिम्मा पाएको वा लिएको अग्रदुतलाई इङ्गित गरिएको छ र त्यस्तो अग्रदुतको कार्यलाई नेतृत्व भनिएको छ। प्रस्तुत लेखमा नेतृत्वका आधुनिक सिद्धान्तहरु, नेतृत्वका सर्वोत्कृष्ट गुणहरु, आधुनिक नेतृत्वमाथि हुने गरेका आलोचनाहरूको चर्चा गर्दै वैदिक कालदेखिका सनातन ग्रन्थहरुमा नेतृत्वका विषयमा के कस्ता गुणहरु उल्लेख गरिएको थियो भन्ने विषय प्रस्तुत गरिएको छ। छ। यसरी विश्लेषण गर्दा प्रभावकारी नेतृत्वमा हुनुपर्ने गुणहरु, आधुनिक समाज रुपान्तरणका लागि नेतृत्वले सामना गर्नुपर्ने चुनौतीको व्याख्या गर्दै वैदिक एवम् सनातन ज्ञानबाट नेतृत्व कौशलका बारेमा के कुरा सिक्न सकिन्छ र त्यस्तो ज्ञानबाट दीक्षित असल नेताले कसरी प्रभावकारी मार्गदर्शन प्रदान गरी सफल नेतृत्व प्रदान गर्न सक्छ भन्ने विषयमा चर्चा गरिएको छ। सनातन ग्रन्थहरुले समग्रमा नेतृत्वको सार नै “सर्वेभवन्तु सुखिन “ अर्थात् नेतृत्वको अन्तिम लक्ष्य आफू र जगतको वास्तविकतालाई वा ब्रम्हसत्यलाई बुझ्नु र त्यसैअनुरुप आफूले नेतृत्व गरेका क्षेत्रको समग्र शान्ति र समृद्धिका लागि योगदान दिनु हो भन्ने चर्चा गरेका छन्। नेतृत्वमा वैराग्य, आत्मज्ञान, करुणा, प्रज्ञा निष्काम कर्मलगायतका असाधारण गुणहरु हुन आवश्यक रहेको हुन्छ साथै त्यस्ता गुणहरुले युक्त भएका नेताले मात्र दिगो र प्रभावकारी नेतृत्व प्रदान गर्न सक्दछ भन्ने कुरामा जोड दिँदै सनातन ग्रन्थहरु एकमतले नेताको विकल्पमा समेत धारणा राख्दछन्। शास्त्रका अनुसार यदि नेतामा असल गुणहरु भएनन् भने त्यस्तो नेताले समाजको बृहत्तर शान्ति र अग्रगमनका लागि मार्ग प्रशस्त गर्न नसक्ने हुनाले समाजमा समयानुकुल सुव्यवस्थाका लागि नवीन नेतृत्वको जन्म हुँदै जान्छ भनेर श्लोकका माध्यमवाट “यदा यदा हि धर्मश्य ग्लानिर्भवति भारत, अभ्युत्थानमधर्मश्य तदात्मानं सृजाम्यहमः“ भनिएको छ। यस श्लोकले इङ्गित गरेअनुसार समसामयिक नेतृत्वले समाजलाई सुव्यवस्थातर्फ डोर्याउन नसक्ने हो भने उक्त श्लोकले भने झै समयचक्रले पुराना नेतालाई पाखा लगाउँदै र नयाँ नेतृत्वलाई जन्माउँदै समाज निरन्तर अगाडि बढ्दै आएको र भविष्यमा पनि यसैअनुसार नेतृत्व विकास हुँदै जाने हुनाले नेतृत्वलाई सजगता प्रदान गर्न यस लेखको उद्देश्य रहेको छ।                                                          शब्दकुञ्जीः नेतृत्व, चरित्र, दर्शन, सिद्धान्त, सनातन ग्रन्थ शास्त्र।

Advertisement 1

पृष्ठभूमि (Background)
नेतृत्वका विश्वव्यापी सिद्धान्तहरुले कसरी प्रभावकारी कार्य सम्पादन गरेर वा गराएर आफ्नो समूहलाई मार्ग दर्शन गर्न उत्प्रेरित गर्ने वा प्रोत्साहन दिने भन्ने विषयको ज्ञान दिएर नेतालाई मार्ग दर्शन गर्दछन्। सनातनः दर्शन वा ग्रन्थअनुसार एउटा समाजका ससाना सङ्गठनदेखि राष्ट्र र बहुराष्ट्र (राज्य, साम्राज्य, लोक, परलोक) सम्मको समरा विकासको मार्गदर्शन गर्न सक्ने बुद्धिमान र धार्मिक व्यक्तित्व नै नेता/राजा/शासकका रुपमा चित्रण हुँदै आएको छ। यस लेखमा राष्ट्रदेखि स्थानीयसम्म र बृहत् सङ्गठनदेखि सुक्ष्म सङ्गठनसम्मको तह वा निकायलाई अगाडि बढाउने वा व्यवस्थापन गर्ने जिम्मा पाएको वा लिएको अगुवाको कार्यलाई नेतृत्व भनिएको छ। नेतृत्व सम्बन्धी प्रेरणादायी शैलीका केही सिद्धान्तहरु निम्नअनुसार चर्चा गर्न सकिन्छस:

दूरदृष्टि (Vision)

Advertisement 2

नेताको स्पष्ट र लक्ष्योन्मूख सोचले समूहको सदस्यलाई दिशा निर्देश गरेर लक्ष्यप्रति प्रेरित गर्दछ ।  दूरदृष्टि भएको नेताले एउटा सुन्दर भविश्यको सुष्पष्ट चित्र कोर्न सक्छ। नेताले नै लक्ष्य र उद्येश्यहरु उल्लेख गरेर समूहका सदस्यहरुलाई र सिङ्गो सङ्गठनलाई सफलताको बाटोमा डोर्याउन सक्दछ। त्यस्तो स्पष्ट र निर्दिष्ट उद्देश्य समूहका सदस्यमा आत्मविश्वास जगाउँछ र सबैलाई साझा उद्देश्य प्राप्तिका लागि एकताबद्ध भई अगाडि बढ्न उत्प्रेरणा प्रदान गर्दछ।

इमान्दारिता (Integrity)

Advertisement 3

नेतामा इमान्दारिता हुनुपर्दछ। उनीहरुका कार्यमा पारदर्शिता र एकरुपता हुनुपर्दछ। इमान्दारिताले नै विश्वासको जग बसाउँछ। विश्वासले नै सङ्गठनका सदस्यहरु बिचमा बलियो सम्बन्ध स्थापित गर्दछ। जब नेताले इमान्दारितापूर्वक कार्यसम्पादन गर्दछ तबमात्र आफ्ना मातहतका सदस्यहरुबाट सम्मान र सुझाव प्राप्त गर्दछ। यसबाट सङ्गठनभित्र सकारात्मक कार्य संस्कृतिको विकास हुन जान्छ।

सञ्चार (Communication)

प्रभावकारी सञ्चारले समूहका सदस्यहरुका बिच आपसमा विश्वास जगाउँछ, समझदारिता विकास हुन्छ र सहकार्यको भावना जागृत हुन्छ। प्रस्टसँग र निरन्तर सूचना आदानप्रदान गर्न सक्ने नेताले नै सबै सदस्यलाई एउटै डुङ्गामा छौ भन्ने भावनाको विकास गरेर असमझदारी हटाउँदै सिर्जनशील यात्रामा अगाडि बढाउन सक्छ। राम्रो सञ्चारका लागि असल श्रोता हुनु पनि जरुरी हुन्छ। यसले नेतालाई अरुका कुरा सुनेर समस्याको सही समाधान गर्न मदत गर्दछ साथै समूहका सदस्यको सम्बन्ध थप प्रगाढ बनाउँछ।

सशक्तीकरण (Empowerment)
अधिकारको प्रत्यायोजन र मातहतमा गरिने सहयोगले सङ्गठनको दक्षता र आत्मविश्वास बढ्छ। यसरी सशक्तीकरण गरिएका सङ्गठनका सदस्यले आफूलाई सङ्गठनमा महत्त्व दिइएको र विश्वास गरिएको अनुभूति गर्दछन् जसले उनीहरुको कार्यप्रतिको सन्तुष्टि बढाउने र उत्प्रेरणा जगाइदिने गर्दछ। फलस्वरुप आफ्नो संलग्नताको (engaged) अनुभूतिले उनीहरुमा अझ सिर्जनशील भई काम गर्न प्रेरणा मिल्छ र उनीहरुलाई सङ्गठनको श्रेय वृद्धि र सफलताउन्मुख कार्य सम्पादन गर्न उत्साहित बनाउँछ।

अनुकूलन क्षमता (Adaptability)
सफल नेतामा हुनुपर्ने अर्को महत्त्वपूर्ण गुण भनेको पारिवर्तित पारिस्थितिअनुकूल हुन सक्नु र सिर्जनशीलतालाई आत्मसात गर्नु पनि हो। आजको द्रुततर विकसित विश्व परिवेशमा परिवर्तनलाई अवश्यम्भावी यथार्थ मानेर तदनुकूलको नीति अवलम्बन गर्नु अति आवश्यक हुन्छ। नयाँ सोचविचार, विधि र प्रविधिबाट निरन्तर सिक्दै नवीन एवम् सकारात्मक क्रमभङ्गता ल्याउँदै अगाडि बढ्न सक्ने नेता सफल मानिन्छ।

असल नेतामा हुनुपर्ने उत्कृष्ट चरित्रहरु (Best Characters of a good leader)
कुसल नेतामा अरुलाई प्रोत्साहित गर्ने र मार्गदर्शन गर्ने लगायतका विलक्षण प्रतिभाहरु विद्यमान हुन्छन् । जसले उनीहरुलाई नेतृत्वमा स्वीकार्य बनाई रहन्छ। त्यस्ता अनुपम लक्षणहरु पनि यसप्रकार छन्:

भावनात्मक चातुर्य (Emotional Intelligence):

भावनात्मक चातुर्यलाई नेतृत्वको महत्त्वपूर्ण पक्ष मानिन्छ। किनकि यसबाट नै नेतालाई समूहका अन्य सदस्यहरुसँग गहिरोसँग अन्तर घुलन हुन मद्दत मिल्दछ। असल नेतामा अरुको भावनालाई आत्मसात गर्दै उनीहरुको बुद्धिलाई कदर गर्न सक्ने विशेष प्रकारका गुणहरु हुन्छन्। अरुको भावनालाई बुझ्ने र तदनुरुप व्यवस्थापन गर्न सक्ने नेताले नै सामान्य अवस्थादेखि विशेष चुनौतीपूर्ण परिस्थितिहरुमा सङ्गठनका सदस्यहरुसँग सुमधुर, सालिन र रचनात्मक आचरण पस्किन सक्दछ जो उसको सफलताको प्रमुख कारक बन्दछ।

निर्णय क्षमता (Decisiveness):  आत्मविश्वासका साथ र प्रस्ट रुपमा सही सूचनामा आधारित निर्णय गर्न सक्ने क्षमतालाई वास्तविक अर्थमा निर्णय क्षमता भनिन्छ। असल नेतामा निर्णय क्षमता हुन्छ जसका कारण उनीहरुले तोकिएको वा आवश्यक परेको समयमा नै सुसूचित निर्णय गर्न सक्छन्। यसका लागि नेताले विषयसँग सम्बन्धित आवश्यक सूचना सङ्कलन गर्ने, परिस्थितिको विश्लेषण गर्ने र विभिन्न विकल्पहरु मध्ये सङ्गठनका सदस्यको बृहत्तर हितका पक्षमा सर्वोत्तम विकल्प छनौट गरी निर्णय गर्दछन् ।

सहानुभूति (Empathy) : एउटा असल नेतामा हुनुपर्ने गुणहरु मध्ये अरुको पिरमर्का वा वेदनालाई बुझेर उनीहरु प्रति करुणा प्रस्तुत गर्न सक्ने क्षमता पनि महत्त्वपूर्ण हो। अरुको पिरमर्का वा अरुमा परेको भावनात्मक अवस्थाप्रति आफूले स्वयंको विषयमा जतिकै संवेदनशील भएर उनीहरुप्रति करुणा भाव राखु असल नेताको क्षमता र कर्तव्य दुवै हुन जान्छ। यसरी अरुका सही सरोकारलाई बुझ्नु र सक्दो सहयोग गर्नुले सङ्गठनमा सकरात्मक कार्य वातावरण सिर्जना गर्दछ साथै यसले परिस्थितिअनुसारका समस्यामा खुला सञ्चार र सहकार्यलाई बढावा दिन्छ।

लचकता (Resilience) : असल नेतामा चुनौतीहरूको व्यवस्थापन गर्न सक्ने र विषम परिस्थितिबाट सिकेर नयाँ ढङ्गले अगाडि बढ्न सक्ने लचक क्षमता हुनुपर्दछ। लचक नेताले विषम परिस्थितिलाई दृढ सङ्कल्प र लगनशीलताका साथ सामना गर्दछन्। यस्ता नेताले विषमतालाई अवसरको रुपमा लिन्छन्, यसैलाई सिकाइ र प्रगतिको मार्गका रुपमा ग्रहण गर्दछन् र समूहका सदस्यहरुलाई समेत यसैअनुरुप अनुशिक्षण, प्रशिक्षण र प्रोसाहित गर्दछन् ।

नखता (Humility): आफ्नो क्षमताको सीमिततालाई बुझ्ने र अरुको योगदानको उच्च मूल्याङ्कन गर्न सक्नु पनि विवेकशील नेताको बहुमूल्य गुण हो। यस्ता नेताले सबैकाम आफूले मात्र गर्न नसकिने भन्ने बुझेका हुन्छन् र तिनीहरुले आफ्नै कमीकमजोरीलाई मनन् गरेर अरुबाट सुझाव र सहयोगको अपेक्षा गर्ने गर्दछन्। यस्ता नम्र नेताबाट समूहका सदस्यहरुमा सहकार्य र पारस्परिक कदरको भावना जागृत हुन जान्छ।

सामसामयिक नेतामा हुनुपर्ने पुरक गुणहरु (Supplementary Characteristics of Contemporary leader)

आधुनिक समयमा नेताहरुले जटिल र चलायमान वातावरणसंग मिल्दोजुल्दो हुन सक्ने थप क्षमता समेत राखुपर्छ।

जस्तै :डिजिटल जानकार (Digital Savviness): आधुनिक समयमा प्रभावकारी सञ्चार गरी आफू, आफ्नो सङ्गठन र सदस्यरुको क्षमता प्रस्तुत गर्न तथा आवश्यकतानुसार सञ्चार, समन्वय, सहकार्यका माध्यमबाट उत्पादकत्व अभिवृद्धि गर्न डिजिटल प्रविधिको प्रयोगलाई आत्मसात गर्दै अगाडि बढ्नु पर्ने हुन्छ। विभिन्न प्रकारका डिजिटल उपकरणहरु र प्लेटफर्मका बारेमा जानकार एवम् प्रयोग गर्न अभ्यस्तसमेत हुनुपर्ने हुन्छ। यस्ता उपकरण र प्लेटफर्म जस्तै; फेसबुक, ह्वाट्सएप् युट्यूब, इन्स्टाग्राम, विच्याट, टिकटक, टेलिग्राम, स्न्याप्च्याट, भाइबर आदिको प्रयोगबाट नै प्रभावकारी सञ्चार सम्भव हुने गरेको छ। त्यसैगरी आयोजना व्यवस्थापनमा इनपुट, आउटपुट, आउटकम (नतिजा), इम्प्याक्ट (प्रभाव) को विश्लेषण गरेर विकास कार्यलाई विश्वस्त पार्न सक्ने क्षमताको पनि प्रस्तुत गर्नुपर्ने हुन्छ। निर्णय गर्दा तथ्याङ्कमा आधारित प्रक्रिया अवलम्वन गर्नका लागि निर्णय निर्माण चक्र, SWOT Analysis, रणनीतिक नक्सा (Strategic map), निर्णय सञ्जाल (Decision matrix) आदिलाई प्रयोग गर्न सक्ने नेता स्वभाविक रुपमा बढी क्षमतावान र तार्किक कहलिन्छ। यस्तो नेताले आम जनतामा थप आशा र भरोसा दिलाउन सक्छ।

वैश्विक मानसिकता (Global Mindset): सङ्गठनको सम्बन्ध विश्व बजार र बाह्य समुदायसँग समेत हुने भएकाले अन्तरराष्ट्रिय बजारअनुकूल समन्वय गर्नुका साथै सांस्कृतिक विविधतालाई बुझेर मात्र व्यापक सहकार्य गर्न सकिन्छ। यस्तो विश्व परिवेशमा प्रभाव विस्तार गर्न सक्ने नेतामा विश्व बजार र समुदायका व्यापक विषयवस्तुहरुका बारेमा जानकार हुने, त्यस्ता पक्षहरुलाई आत्मसात गर्ने, स्विकार वा अस्विकारको तर्कसङ्गत् धारणा प्रस्तुत गर्न सक्ने खुलापनको मानसिकता जरुरी हुन्छ। लचकतापूर्वक हरेक विषयलाई ग्रहण गर्न सक्ने, विविध संस्कृतिलाई सम्मान गर्न सक्ने र टाढैबाट त्यस्ता परिस्थितलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न सक्ने कुशलतासमेत जरुरी हुन्छ।

दिगोपनामा ध्यान केन्द्रित (Sustainability focus): आधुनिक समयमा नेताले कतावरणीय र सामुदायिक दिगो विकासका अवधारणालाई समेत रामरी विश्लेषण गरेर निर्णय निर्माण गर्नुपर्ने हुनाले तिनीहरुले वातावरण र समाजप्रति सकारात्मक धारणा र प्रभाव प्रस्तुत गर्न सक्नु पर्दछ । सङ्गठनलाई वातावरण र समाजप्रति दिगोपना र जवाफदेहिताको मूल्य मान्यतामा केन्द्रित गर्दै रणनीतिक रुपमा अगाडि बढाउदै जानुपर्ने हुन्छ।

नवप्रवर्तन उन्मुख (Innovation Driven) : यो विषय सिर्जनाशीलतालाई प्रवद्र्धन गर्ने र जोखिमलाई उन्नति र विस्तारको आधारशीला मान्ने कुरासँग सम्बन्धित छ। सोचयुक्त (Visionary) नेतामा प्रयोग गर्दै र सिक्दै विकासमा अगाडि बढ्ने निरन्तर प्रगतिको अवलम्वन गर्ने गुण रहेको हुन्छ। उनीहरुले आफ्नो मातहतका सदस्यलाई पुरातन ज्ञान, प्रविधि र प्रवृत्तिबाट माथि उढ्न उत्प्रेरित गर्दछन्, नविन अवधारणालाई स्वागत गर्दै रणनीतिक निर्णय गर्दछन तथा विकास र उन्नतीलाई सिघ्रगति प्रदान गर्दछन्।

चुस्त दृष्टिकोण (Nimble Approach): आधुनिक समय शिघ्र रुपमा परिवर्तन भइरहेको छ। यस्तो गतिमान वातावरणमा छिटोछिटो हुने परिवर्तनलाई आँकलन गर्दै लचकतापूर्वक आत्मसात गर्नसक्ने नेतालाई समाजमा स्विकार गरिन्छ। परिवर्तित परिस्थितिलाई शिघ्रतापूर्वक अपनाउनु नेतृत्व शैलीलाई सोहीअनुरुप समायोजन गर्न लचकता अपनाउनु, प्रयोग गर्दै र सिक्दै अगाडि बढ्नु अनिश्चतताप्रति सजग हुँदै त्यसबाट सिर्जना हुन सक्ने अवसरलाई पूँजिकृत गर्नसक्ने चुस्त दृष्टकोणयुक्त नेताले नै वास्तवमा समसामयिक परिस्तिथिमा सङ्गठनलाई गति दिन सक्छ।

आधुनिक समयमा नेतृत्वको आलोचनात्मक विश्लेषण (Critical Analysis of contemporary leadership)

वर्तमान समयमा केही सत्यवादी, धर्मपरायण, विवेकशील नेतालाई छाड्ने हो भने अधिकांश नेतृत्व अविवेकी, असत्य, अद्यर्मी, स्वार्थी, कानुन उल्लङ्घन गर्ने लगायतका आरोपबाट आलोचित हुँदै आएका छन्। वैदिक समयदेखिका सनातन ग्रन्थलाई साभार गर्ने हो भने कलियुगका नेता अर्थात् वर्तमान समयका नेताको चरित्रलाई वा तत्कालीन समयको भाषाअनुसार कलियुगका जुनसुकै सङ्गठनको नेतृत्व गर्ने नेता/राजा/शासकको चरित्रलाई लोभी, स्वार्थी, नियम कानुनको बर्खिलाप चल्नेलगायतका खराब व्यवहार र आचरणबाट ग्रसित तत्त्वको रुपमा समेत व्याख्या गर्ने गरिएको छ। अतः ग्रन्थमा उल्लेख भएअनुसारको कलियुगमा अर्थात् वर्तमान समयमा जो खराब छ भ्रष्ट छ, व्यभिचारी छ, लुट मचाउन सक्छ, उदण्डता देखाउन सक्छ, छल कपट, धुर्याई गर्न सक्छ, निहित स्वार्थमा काम गर्छ, विधि र पद्धतिलाई लत्याएर हिंड्छ, त्यस्तो चरित्र भएको व्यक्ति मात्र नेता/राजा/शासक हुन वा रहिरहन सक्छ भन्ने भविश्यवाणी त्यति बेलाकै ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ। यद्यपि यो समसामरिक रुपमा थप विश्लेषणको विषय हो। त्यस्ता भविष्यवाणीलाई विश्लेषण गरेर बुझ्दा आधुनिक समयमा नेतृत्वको नैतिक मानकमा र नेतृत्वको समग्र गुण/चरित्रमा सम्भावित क्षयीकरणलाई उही समयमा (वैदिक/पौराणिक सनातन समयमा) आँकलन गरेर त्यही रुपमा श्लोकका माध्यमबाट सावधानी अपनाउन प्रेरित गर्ने गरेको पाइन्छ।

अनुमानमा सत्यता थियो वा थिएन भनेर समीक्षा गर्नुपर्ने हुन्छ। आधुनिक समयका सबै नेतृत्वलाई त्यही रुपमा समीक्षा गर्ने कार्य गर्दा अविवेकी हुन सकिन्छ तर पनि वास्तविक रुपमा आधुनिक नेतृत्वको आचरण, व्यवहार र तिनीहरुको लगावलाई हेर्ने हो भने व्यापक प्रश्नवाचक चिन्हरु देखिने गरेको पाइन्छ। समसामयिक नेताहरु मध्ये केही नेतालाई छोडेर बाँकीको आचरण र व्यवहारलाई मूल्याङ्कन गर्दा अधिकांश नेतामा मूल्य मान्यता नभएका आरोप लाग्ने गरेको छ। त्यस्ता आरोपहरु मध्ये केही प्रमुख आलोचना निम्नअनुसार रहेका छन् :

स्वार्थ (Selfishness) : कुनै कुनै नेताहरुलाई लाग्ने गरेको ठूलो नराम्रो आरोपमध्ये उनीहरुले सामान्य निर्णयदेखि नीति निर्माणसम्ममा अनियमितता गर्ने र असमान वा अन्याय हुने किसिमका निर्णय गरेर आम जनताको पक्षमा भन्दा निहित व्यक्तिगत स्वार्थमा काम गरेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफूलाई वा आफ्नो नजिककालाई फाइदा पुग्ने कार्यहरु गर्ने गर्दछन्।

उत्तरदायित्वको कमी (Lack of accountability): कतिपय अवस्थामा सबैले देखे बुझ्ने गरी कसैलाई वा समाजलाई वा सङ्गठनलाई अहित हुने कार्य गरे वा निर्णय गरे वा नीति निर्माण गरे पनि नेताहरु त्यसको जिम्मेवारी नलिने वा उत्तरदायित्वबाट पन्छिने गर्दछन्। त्यस्तो कार्यलाई त सनातन ग्रन्थहरुमा झनै खराब आचरण वा लुटेराको संज्ञा पनि दिने गरिन्छ किनकि लुटेराले प्रचलित कानुनको खिलाफमा कार्य गर्न डर मान्दैन र निहित स्वार्थ पूर्तिका लागि जस्तो पनि हिंस्रक कार्य गर्न पछि पर्दैन।

कानुन र मापदण्डको अपमान (Disregard for rules and norms): कतिपय नेताहरु आफ्नो निहित स्वार्थपूर्तिका लागि कि त भएका कानुन र मापदण्डलाई आफ्नो अनुकूल हुने गरी हेरफेर (manipulate) गर्दछन् भने कतिपय अवस्थामा आफ्नो पक्षमा काम लिनका लागि स्थापित कानुन र मापदण्डलाई नै अनादर गर्दछन्। यस्तो प्रवृत्तिलाई पनि लुटतन्त्रका रुपमा लिइन्छ किनकि लुट गर्नेले कानुनी सीमा उल्लङ्घन गरेकै हुन्छन्।

धोखाधडी र हेरफेर (Deception and manipulation): कतिपय नेताले पद, प्रतिष्ठा र शक्ति आर्जनका लागि धोखाधडीको रणनीति अपनाउने र सीमाना, क्षेत्र, विधि आदिमा हेरफेर गर्ने गर्दछन् भन्ने आरोप लाग्ने गरेको छ। यस्तो कार्य पनि बेइमानले नै गर्ने भएकाले अचेलका कतिपय नेतालाई लोभी, पापी र बेइमानको पर्चायका रुपमा पनि व्याख्या गर्ने गरेको पाइन्छ।

सहानुभूतिको कमी (Lack of Empathy): कतिपय अवस्थामा नेताले आफ्नो सङ्गठन, सदस्य वा क्षेत्रको महत्त्वपूर्ण विषयमा संवेदनशील भएर नीति, निर्माण, विकास कार्य र निर्णय गर्नुको सट्टा आम समुदायको उन्नतिप्रति उदासीनता प्रस्तुत गर्ने गर्दछन्। सहानुभूति नभएकाले पनि अन्यायमा परेकाप्रति कुनै किसिमको दया, माया, करुणा वा समभाव नराखे हुनाले त्यस्ता असंवेदनशील कर्म गर्ने कतिपय नेतालाई समेत खराब नामले दोष लगाउने वा आरोपित गर्ने गर्दछन् ।

आधुनिक समाजमा देखिने र भोगिने केही नेताका खराब आचरण र व्यवहारलाई मात्र आधार मानेर समग्र नेतृत्वको चरित्रका विषयमा आम धारणा बनाउनु युक्ति सङ्गत हुँदैन। विश्वमा शासन सत्तामा रहिरहेका समसामयिक नेता मध्ये धेरै जसोले राम्रा गुणहरु प्रस्तुत गरेर सङ्गठन, समाज, राष्ट्रदेखि विश्वलाई नै सुमार्ग प्रदान गरिरहेको पनि पाइन्छ। यस्ता असल नेताहरुमा अखण्ड सेवाभाव, करुणा, सदाचारिता, धार्मिकता, सहानुभूति, लोकतान्त्रिक मूल्यमान्यताको अवलम्बन, समाज र राष्ट्र एवम् जगतको कल्याणलाई नै आफ्नो मूलमन्त्र मान्ने गरेको गुण समेत पाईन्छ।

वेदका ऋचाहरु, सनातन तथा पौराणिक ग्रन्थका लोकहरुबाट नेतृत्वको गुणका विषयमा साभार गरिएका केही विषयहरुको विश्लेषण (Relevance of Vedas and Scriptures shlokas in understanding leadership Qualities):

पौराणिक ग्रन्थहरुमध्य श्रीमद्भागवत पुराण, श्रीमद्भागवत गीता, रामायण, महाभारत लगायतका ग्रन्थहरुलाई अध्ययन गर्दा विभिन्न प्रसङ्गमा नेतृत्वका गुणको चर्चा, नेतृत्वको आफ्नो अभूतपूर्व गुण र क्षमताका कारण आफ्नो राज्य साम्राज्य÷सङ्गठनमा अलौकिक निर्णय गरेर आफ्नो सरहदमा शान्ति सुव्यवस्था र समृद्धिमार्फत आम जनसमुदायलाई लामो समयसम्म नेतृत्व प्रदान गरेको पाइन्छ। त्यस्तो उत्तम नेतृत्वमा स्वयं भगवानको अवतारका रुपमा उल्लेख भएका ब्रम्हा, विष्णु, महेश, कृष्ण तथा विभिन्न समयका ऋषिमुनिहरु र राजा महाराजाहरुलाई उद्धृत गर्ने गरिएको पाइन्छ। त्यसरी उद्धृत गरिएका श्रेष्ठ पात्रहरु नेतृत्वमा हुनुपर्ने ब्रम्हज्ञान सहित वैराग्य (सांसारिक मोहबाट मुक्त धारण गरेकाले निहित स्वार्थवाट माथि उठेर बृहत्तर हितमा काम गर्न सक्ने), आत्मज्ञान (आफ्नै सबल पक्ष, दुर्बल पक्ष र सीमितता बुझेको नेताले विवेकपूर्ण निर्णय गर्न सक्ने), करुणा (सबैको दुःखप्रति दया राखेर सो को निवारण गर्न सक्ने), प्रज्ञा (वर्तमान भन्दा परको वस्तुको पहिचान गरेर समग्र समाजको बृहत्तर हितमा काम गर्ने बुद्धिमान र दूरदर्शी), निष्काम कर्म (मोह र घमण्डवाट मुक्त भएर कार्य गर्ने) गुणसमेत निहित रहेको पाइन्छ। यस्ता गुणले युक्त नेतृत्वमा मात्र भूतकालबाट सिकेर, वर्तमानको आधारमा टेकेर, भविष्यको उत्तरोत्तर विकासमा योगदान पुर्याउन सक्ने अभूतपुर्व मानक रहन्छ भन्ने शास्त्रको उदाहरण आजको हाम्रो समाजका हरेक तहका नेताका लागि मार्गदर्शक मूल्य मान्यताका रुपमा लिन सकिन्छ। नेतृत्वको सवालमा भन्नुपर्दा यो आदेश दिनेमात्र वा निर्णय गर्नेमात्र कार्य नभएर आफू र अरुमा समभाव र सन्तुलन कायम राख्दै एकताको सूत्रमा आबद्ध गर्न सक्ने क्षमतालाई उत्तम मानिन्छ। त्यस्ता नेताले मात्र निहित स्वार्थ र मोहबाट पर रहेर समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन। त्यसको विपरीतका नेताहरु समय क्रमसँगै बढारिदै जान्छन्। समाजले नवीन नेतृत्वलाई जन्माउँदै वा नयाँ नेतृत्व जन्मदै समाजलाई सुव्यवस्था र समृद्धिको दिगो मार्गमा डोर्‍याउन सकेका प्रशस्त उदाहरणहरु पाइन्छन् ।

वेद, सनातन तथा पौराणिक ग्रन्थहरुले नेतृत्वका गुणको विषयमा महत्त्वपूर्ण ब्रम्हज्ञान प्रदान गरेका छन्। ती सबै ग्रन्थ र श्लोकलाई एउटा सामान्य लेख रचनामा समावेश गर्न सम्भव नहुने भएकाले त्यहाँ उल्लेख भएका अनेकानेक श्लोकहरु मध्य केही महत्त्वपूर्ण श्लोकलाई आधारका रुपमा सभार गरिएको छ। यस प्रकारको संक्षिप्त उल्लेख गराइले समग्र वैदिक वा सनातनी ज्ञान भण्डारलाई गहग रुपमा छुन सम्म पनि नसक्ने भए तापनि वेद वा सनातन शास्वहरु ज्ञानको आदिम र अनन्त भण्डार थिए र हुन् भन्ने कुरालाई स्मरण सम्म गराउने छ। नेतृत्व सिप, कला, क्षमता, गुण, आदिका विषयमा वैदिक, सनातन एवम् पौराणिक ग्रन्थहरु कति गहन ज्ञानले भरिपूर्ण थिए र कति लामो समयसम्म सान्दर्भिक रहिरहन सकेछन् तथा कति दूरदशीं ज्ञानका भण्डार रहेछन् भन्ने विषयमा झल्को दिने सम्मको प्रयास यस लेखमा गरिएको छ।

ऋग्वेदमा उल्लेख भएको “यस्मात् सहायो भव तेना युक्ताह महाभजनह“ श्लोकलाई संक्षिप्त रुपमा बुझ्दा नेता समझदार, सहयोगी र समर्थक स्वभावको हुनु पर्ने व्यहोरा वैदिक कालमा नै उल्लेख भएको पाइन्छ। एउटा नेताले अरुलाई गर्ने व्यवहार यस्तो हुनु पर्दछ कि अरुले आफूलाई कस्तो व्यवहार गरोस भन्ने ठानेको हुन्छ त्यसै अनुरुपको व्यवहार अरुप्रति गर्नु गर्दछ। त्यसैगरी तैतिरीय उपनिषद्मा उल्लेख भएको “यस्य मतिह श्रद्धा विहय यततोआत्मन ततो यतककत् श्लोकले नेता नियन्त्रित हुनुपर्ने र आम हितलाई सर्वोपरि लक्ष्य राखु पर्ने साथै चरित्रवान हुनुपर्ने कुरामा जोड दिएको पाइन्छ। नेताले अहङ्कार र दम्भ त्यागेर राष्ट्रिय हितमा जोड दिनुपर्ने हुन्छ। आफ्ना सदस्यको अगाडि अनुकरणीय त्यागिपना प्रस्तुत गर्न सक्नु पर्दछ। आफ्नो सङ्गठनको हितमा अटल प्रतिबद्ध भएर काम गर्नुपर्दछ भन्ने विषयमा सदस्यलाई सदैव प्रोत्साहित र उत्प्रेरित गरिरहने नेता नै असल नेता हो भन्ने शिक्षा यस श्लोकले प्रदान गरेको पाइन्छ।

श्रीमद्भागवत पुराणलाई मुक्ति मार्गको असल ज्ञानको र नैतिक शिक्षाको सदाबहार ग्रन्थको रुपमा लिन सकिन्छ। यस पवित्र ग्रन्थको अद्योपान्त अध्याय र श्लोकहरु पवित्रभन्दा पनि पवित्र मान्ने गरिन्छ। यसैको श्रवण, मनन, चिन्तनले मानव जीवनलाई जीउन सरल बनाउँदै मुक्तिधाम प्रदान गर्ने र यसका लागि मानवले जीवनका हरेक कर्मलाई असल नियतले सम्पादन गर्नुपर्ने कुरामा जोड दिँदै नैतिकतालाई नै बलवान व्यक्तिको शक्तिको आधार मानेको छ। यसमा उल्लेख भएका सबै श्लोकहरुलाई अनन्त ज्ञानको श्रोतको रुपमा अङ्गीकार गर्न सकिन्छ । यस लेखमा नेता र नेतृत्वको प्रसङ्ग उल्लेख गर्न खोजिएको हुनाले नेतामा हुनुपर्ने असल गुणको बारेमा उल्लेख भएका केही श्लोकहरुलाई साभार गरी व्याख्या गरिएको छ। यस पवित्र ग्रन्थको प्रथम स्कन्धको सत्रौ अध्यायको श्लोक नम्बर ३१ देखि ३८ सम्म उल्लेख भएको विषय राजा परिक्षित जो परमज्ञानी, धर्मात्मा, असल चरित्रवान राजा/ नेता/शासक भएको कुरा उल्लेख गर्दै उनको राज्यमा सर्वत्र शान्ति समृद्धि र अमनचयन कायम रहेको, सबै जनता/प्रजामा खुसी नै खुसी व्याप्त भएको, यत्रतत्र सर्वत्र धार्मिक कार्य (Righteous Actions), पवित्र कार्य, सहिष्णुता, समभाव, वैराग्य, आत्मज्ञान, करुणा, प्रज्ञा, निष्काम कर्म आदि सगुरूमा मात्र विद्यमान रहेको प्रसङ्ग उल्लेख गरिएको छ। त्यही समयमा कलि (कलियुगका पर्याय) जसलाई खराब चरित्रका रुपमा चित्रा गर्दै त्यस्को आगमन भएमा धर्मको (Righteous Actions) नास हुने, सम्पूर्ण जगत (स्थावर, जङ्गम समेत) मा अशान्ति बढ्न सक्ने, हिंसा, घृणा, अत्याचार, अशान्ति, अमर्यादा, अशिष्ट, असभ्य, असमझदारी लगायतका कुशासनका प्रवृत्तिहरुको वर्चश्च बढ्ने निश्चित भएका हुनाले राजा परिक्षितले (असल राजाले) आफ्नो राज्यमा सुशासन अबलम्बन गर्न र गराउनका लागि कलिजस्तो महाखराब चरित्र भएको पात्रलाई देश निकाला गरेर राज्यमा सुशासन कायम गराउन पुर्याएको अभूतपूर्व योगदानको युगौ युगसम्म अमृतमय भागवत कथाको माध्यमबाट श्रवण एवम् प्रचार प्रसार हुँदै आएको छ। यसरी राजा परिक्षितले दिएको योगदान, उनको अनुकरणीय व्यक्तित्व र खराब आचरण भएको कलिलाई आफ्नो बृहद राज्यबाट नै अलग गराएको प्रसङ्गले असल राजा/नेता/शासकले राज्यमा सुशासन कायम गर्दै सबै नागरिकलाई असल बनाउन सकेको र कलि जस्तो खराब शक्तिलाई राज्यच्यूत गराएको प्रसन्न हाम्रो सुशासनका लागि र आजको नेतृत्वलाई प्रदान भएको अलौकिक ज्ञानका रुपमा लिन सकिन्छ। तल दिइएको श्लोकलाई नियालेर

हेर्दा र व्याख्या गर्दा त्यो कुरा अझ प्रस्ट हुन्छ (१ः१७ः३१–३८)

न ते गुडाकेशयशोधराणां बद्धाञ्जलेवें भयमस्ति किञ्चित्।

न वर्तितव्य भवकता कञ्चन क्षेत्रे मदिये त्वमधर्मवन्धुः ।।

त्वां वर्तमान नरर्देवंदेहेश्वनु प्रवृतोऽ यमधर्मपूगः ।

लोभोऽ नृतं चौर्यमनार्यमंहो ज्येष्ठाच माया कलहश्च दम्भः ।।

न वर्तितव्य तदधर्मबन्धो धर्मेण सत्येन च वर्तितव्ये।

ब्रम्हाबर्ते यत्र यजन्ति यज्ञैर्यज्ञेश्वर यज्ञवितान विज्ञाः ।।

यस्मिन हरिर्भगवानिज्यामान इज्यामूर्तजतां शं तनोति ।

कामानमोधान्स्थिरजंङ्गमानामन्तर्बहिर्बायुरिवैष आत्मा। ।

प्रस्तुत श्लोकमा राजा परिक्षितले कलिलाई खलनायकको संज्ञा दिएको र कलिले आफ्नो खलनायकिपनाका कारण नेतालाई लोभी, छली, चोरी, दुराचारी, अधर्मी, दरिद्र, धोखाधरी, हिंस्रक बनाएर स्खलित बनाएका कारण कलिलाई आफ्नो राज्यमा स्थान दिन नहुने निश्चय गरेको कुरालाई उल्लेख गरिएको छ। उक्त कुरा बुझेका परम प्रतापी र धार्मिक राजा परिक्षितले कलिलाई आफ्नो साम्राज्यबाट निकाला गर्ने आदेश दिन्छन्। असल नेताले खराब तत्वलाई चांडै चिन्नुपर्ने र त्यस्ता तत्त्व र व्यक्तित्वलाई त्याग गरेमा मात्र एउटा राज्यले आफ्नो भूमिमा ईश्वरीय गुण कायम राखेर सर्वोपरी सुशासन र समुन्नति हासिल गर्न सकिन्छ भन्ने महान तत्त्वज्ञान प्रस्तुत श्लोसबाट प्रकट गरिएको छ। श्रीमद्भभागवत महापुराणको अर्को प्रसङ्गमा राजा पृथु र राजा इन्द्रको प्रतिद्वन्द्वितालाई भगवान श्री कृष्ण (जस्लाई राजाहरुका समेत नेता/राजा/मार्गदर्शक मानिएको छ) ले लोक कल्याणका लागि मध्यस्तता गर्न कसरी राम्रो भूमिका निर्वाह गर्नुभयो र एउटा विषम् परिस्थिति निम्त्याउन सक्ने असमझदारीलाई बुद्धिमत्तापूर्वक हल गरेर समभावको विधिवाट मेलमिलापमा परिणत गराएको प्रसन्न चतुर्थ स्कन्धको बिसौ अध्यायको श्लोक नं २ मा उल्लेख भएको छ।

“एष तेडकारषीद्धङ्गं हयमेधशतस्य ह। क्षमापयत आत्मानममुष्य अन्तुमर्हसिः ।। २।।

“ श्लोकका माध्यमबाट १०० वटा यज्ञ गर्ने सङ्कल्पका साथ अगाडि बढिरहेका राजा पृथु को कार्यमा राजा ईन्द्रले ९९ भन्दा बडी यज्ञ गर्न नदिनका लागि व्यवधान गरेका कारण राजा पृथुले राजा इन्द्रलाई संहार गर्न लागेका समयमा भगवान स्वयम् उपस्थित भएर राजा पृथुलाई सम्झाएको प्रसङ्ग छ र उक्त मा इन्द्रले सयवटा यज्ञ गर्ने सङ्कल्पमा विध्न पारेको हो तर अहिले आफ्नो अपराध स्विकार गरेर त्यसका लागि क्षमा मागेको हुनाले उनलाई क्षमा दिनुपर्छ भनेर सम्झाइएको छ। यसमा नेतृत्वका लागि एउटा प्रेरणा प्रदान भएको पाइन्छ। नेतृत्वलाई धेरै समस्या र चुनौती आइपरिरहन्छन्। शत्रुले दुःख दिन सक्छन तर त्यो शत्रुले आफ्नो गल्ती स्विकार गरेमा उसलाई क्षमा प्रदान गरेर मेलमिलाप गरियो भने जगतमा हुने विध्वंसलाई रोकेर सृजनात्मक मार्गमा अगाडि बढ्न सकिन्छ भन्ने प्रेरणा मिलेको छ।

त्यसैगरी ऐ श्लोक नं।। १३।। “समः समानोत्तममध्यमाधमः सुखे च दुःखे च जितेन्द्रियाशयः।

मयोपक्लृप्ताखिललोकसंयतो विद्यत्सव वीराखिललोकरक्षणम्।। श्लोकमा भगवानले राजालाई“ हे वीर; उत्तम, मध्यम र अधम पुरुषमा समान भाव राखेर सुखदुःखादिलाई एउटै सम्झ तथा मन र इन्द्रियलाई जितेर सम्पूर्ण लोकको रक्षा गर“ भन्दै नेतालाई मोह र स्वार्थबाट माथि उठेर लोककल्याणमा केन्द्रित हुन प्रेरणा दिइएको छ।

रामायण ग्रन्थलाई पुर्विय दर्शनको एउटा अतुलनीय प्रेरणादायी ग्रन्थको रुपमा लिइन्छ। एउटा असल राजा कति करुणामय हुनुपर्दछ र सहयात्री जनता/प्रजाप्रति कहाँ सम्म आत्मीयता कायम राख्ख सक्नु पर्दछ भन्ने शिक्षा दिन यो ग्रन्थ कोषेढुङ्गा सावित हुदै आएको छ। यस पुस्तकको मुख्य पात्र अर्थात राजा रामले आफ्ना सहयोद्धा भाई/सेनाप्रति युद्ध मैदानमा दर्शाएको करुणा र आत्मियताले राजा/सेना/शासक/प्रशासकलाई सहयात्री जनताप्रती सदभाव, करुणा र आत्मियता प्रस्तुत गर्न सकेमा त्यस्तो नेता मर्यादा पुरुषोतम जस्तो पगरीले विभुषित हुनुका साथै राज्यमा सुशासन कायम राखेर रामराज्य जस्तो गौरवमय नामले सुसोभित राज्य स्थापना गर्न सक्छ भन्ने प्रेरणा नेतृत्वलाई प्रदान गर्दछ।

महाभारत ग्रन्थलाई राजनीतिक नेतृत्व विकासको रणनीतिक शास्व समेत मानिन्छ। यसबाट रणनीतिक निर्णयका लागि नेतृत्वलाई शिक्षा प्राप्त हुन्छ। महाभारत ग्रन्थको छैठौ पर्वको तेइसौ श्लोकमा कसरी विषमभन्दा विषम परिस्थितिमा डर र द्धिविधाका बिचबाट पनि अर्जुनले साहसपूर्ण तरिकाले दिगो भविष्यका पक्षमा निर्णय लिन्छन र अधार्मिक चरित्रको परिचायक कौरव साम्राज्यलाई परास्त गर्न सक्छन भन्ने उल्लेख गरिएको छ। उक्त प्रसङ्गले नेतृत्वका लागि विसम परिस्थितिलाई सामना गर्न, साहसिक र रणनीतिक निर्णय लिएर बृहत्तर हित स्थापित गर्न सकिन्छ भनेर प्रेरणा दिएको छ। यस खण्डमा सेनाको नेतृत्व कर्ता (अर्थात् राजा, नेता, सेनापति) ले एउटा असल पदप्रदर्शकको रणनीतिक उपदेश, सल्लाह, परामर्शलाई आत्मसात गर्दछ र त्यसै अनुरुप कार्यान्वयन गरेर जगत् कल्याणको हित गर्न सक्छ भन्दै नेतृत्त्वले राम्रो सल्लाह चाहिँ जसको पनि ग्रहण गर्नु पर्छ भन्ने मार्गदर्शन गरिएको छ। तसर्थ यसमा मूल रुपमा भगवान श्रीकृष्णको चरित्रको उल्लेख गर्दै राक्षसी प्रवृतिको परिचायक भएको कौरव राज्य र कौरव कूलको संहार गरेर धार्मिक प्रवृति भएको पाण्डव राज्य स्थापना तथा तिनका कूलको रक्षा गरिएको प्रसङ्गलाई प्रस्तुत गरिएको छ। लाखौ लोकहरु आफैमा पवित्र ज्ञानका खानी छन्। नेताको वा राजाको प्रसङ्गमा केही लोकहरु सान्दर्भिक छन् जस्तै; “धर्मष्य ग्लानिरो भवती भातृयो विधिवधिन“: प्रस्तुत लोकमा नेतामा हुनुपर्ने सिद्धान्त, मूल्य र मान्यताका बारेमा उल्लेख गर्दै नेताले अनुकरणीय उदाहरण बन्न सक्नु पर्ने कुरा बताउँदै सत्य एवम् धर्मका विधिमा अडिग रही बलियो सैद्धान्तिक धरातलमा र मूल्य मान्यतामा चल्ने नेताले मात्र आफ्ना सदस्यलाई प्रोत्साहित गर्न सक्छ तथा आफ्ना सदस्यबाट सम्मान प्राप्त गर्न सक्दछ भन्ने उल्लेख गरिएको छ। अतः त्यस्ता नेताको कर्मले मात्र सदाचारिता र जवाफदेहितालाई जगेर्ना गर्न सक्दछ।

वेद, पुराण लगायतका सनातन दर्शनका विभिन्न प्रसङ्गमा “यथा राजा तथा प्रजा“ भनिएको छ। अग्रदूत वा राजा/नेता/शासक/जस्तो हुन्छ प्रज्ञा/जनता/नागरिक पनि त्यस्तै हुन्छन्। राजा/नेता/शासकको चरित्र र कार्यले नै प्रजा/जनता/नागरिकलाई प्रभावित पारेको हुन्छ। त्यसैगरी “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःख भाग्जनः।“ उल्लेख गरिएको सर्वप्रिय श्लोकले रामराज्यका लागि शासक/नेता/राजाको भूमिका कस्तो हुनु पर्दछ भनी बताएको छ। एक असल नेता सबै जना सुखी रहुन, सबैजना दुःख, पीडा, रोगबाट मुक्त रहुन भन्ने लक्ष्यका साथ कार्य गर्दछ। उक्त कुरालाई मनन गरेर हुनसक्छ नेपालको राष्ट्रिय पत्रिका अर्थात् गोरखापत्रको मुखपृष्ठमा सोही कुरा लेखिएको छ। यसले सरकारको दूरदृष्टि, सोच, लक्ष्य, उद्देश्य, नीति, योजना, कार्यक्रम कस्तो हुनुपर्दछ भनेर मार्गदर्शन गर्न खोजेको देखिन्छ। त्यसैगरी “वसुधैव कुटुम्बकम्“ तथा “सत्यमेव जयते“ आदि मन्त्रहरु बृहत् सोच भएका असल नेताका लागि सञ्जिवनी नै हुनसक्छन्।

निष्कर्ष (conclusion)

नेतृत्व भनेको एउटा जटिल अवधारणा हो। यो सदियौंदेखि आधारभूत सिद्धान्तसहित उत्पति र विकसित हुँदैआएको छ। प्रभावकारी नेतामा हुनुपर्ने प्रमुख असल गुणहरुका बारेमा जानकार भएर, समसामयिक चुनौती हरुलाई अनुकुलन गर्दै वैदिक सनातनी एवम् पौराणिक ग्रन्थमा उल्लेख भएका ज्ञानवर्धक मार्गदर्शनलाई मूलमन्त्र मानेर नै एउटा असल तर महत्वाकांक्षी नेताले प्रभावकारी र सफल नेतृत्वको मार्ग निर्धारण गर्न सक्छ। जुन नेताले बदलिंदो विश्वपरिवेशमा यस्ता पवित्र सैद्धान्तिक मूल्य र मान्यतालाई अङ्गीकार गर्न सक्छ त्यही नेताले आधुनिक समाजका जटिलतालाई सामना गर्न सक्ने क्षमता राख्दछ र आफ्नो सङ्गठन, राष्ट्र र विश्वलाई नेतृत्व दिन सक्दछ। वर्तमान समय अर्थात् ग्रन्थमा उल्लेख भएअनुसार हालको कलियुगीय अवस्थामा केही नेताहरुमा लोभी, चोरी, दुराचारी, अधर्मी, दरिद्रता, धोखाधडी, हिंस्रक जस्ता खराब आचरण देखिएको भए तापनि कैयौ नेताको असल गुण र सकारात्मक योगदानका कारण विश्व क्रमिक रुपमा अग्रगामी हुँदै गएको छ। आधुनिक विश्वमा असल नेताहरु जसले न्यायका पक्षमा, असमानताका विपक्षमा र थप सुधारको अभिष्टका साथ समाजलाई अगाडि बढाउन दिइरहेको अमूल्य योगदानलाई सम्मान गर्दै अगाडि बढौ भन्ने भावना राख्तछ त्यस्ता नेताले समाजको अग्रगतिको मार्ग बनाउँछन् र सबै नेता खराब मात्र हुन्छन भन्ने नकरात्मक भाष्यलाई सकरात्मक सोचको साथ शक्तिमा बदल्छन्। तसर्थ आधुनिक समयमा असल नेता हुन नेतृत्व कौशलको विकास गरौं। नेतृत्व कौशल आधुनिक सिद्धान्तका अतिरिक्त सनातन वैदिक एवम् पौराणिक ग्रन्थहरुबाट सिकौ र व्यवहारमा उतारौ। राज्यमा देखा पर्ने कलि प्रवृतिलाई समयमै चिन्नु पर्दछ र त्यस्तो खराब प्रवृत्तिलाई रुपान्तरणको मार्ग अथवा परित्यागको निर्णय मध्य जुनबाट सजिलो, लिंटो र प्रभावकारी हुन्छ त्यही विधिबाट राज्यमा बञ्चित गरिनु पर्दछ। अनिमात्र राज्यमा सर्वे भवन्तु सुखिनको मन्च सार्थक बन्न सक्दछ। नेतृत्वले समयमा नै बृहत्, ब्रम्हाण्ड कल्याणको सोच नलिने हो भने यो समाज अझ खराब भएरै चलिरहन सक्दैन। सुधारका लागि कीं न कहींबाट कोही न कोही असल अग्रदूत/नेता जन्मने छ। त्यसैले त श्रीमद्भागवत गीतामा “यदा यदा हि धर्मश्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मश्य तदात्मानं श्रृजाम्यहम :। जस्तो शक्तिशाली आत्मविश्वासको मन्त्रमयी स्रोकलाई अति महत्वकासाथ प्रस्तुत गरिएको छ। यदि सुशासन क्षीण हुँदै जाने हो र कुशासनको भुण बढ्दै जाने हो भने समाजले अवश्य विकल्पको बाटो रोज्ने छ। समयको मागसँगै कि त सध्धारिएको नेतत्व कि त ससंस्कत गणले यक्त नवीन नेतृत्व जन्मने कुरा सनातनको शास्त्र दूरदृष्टि विपरीत हुने छैन। तसर्थ शास्त्रोक्त मार्गदर्शनलाई समयमै अवलम्बन गरौं।

सन्दर्भ सामाग्री
आचार्य युदुनन्दन भारद्धाज, (२०७४), श्रीमद्भागवत महापुराण (सि.के. ३२। ३८), नेपाली खपडा।
आठकाण्ड रामायण, (१९८०), गोर्खा वस्तु भण्डार, नेपाली खपडा।
ऋग्वेद संहिता, (२०७७), विद्यार्थी पुस्तक भण्डार, भोटाहिटी।
वोद्यनारायण दास, (१९९७), श्रीमद्भागवत गीता यथारुप भक्तिवेदान्त बुक ट्रष्ट, हरेकृष्णकधाम।
महाभारत (१९६५), बाबु माधव प्रसाद शर्मा, के २३÷११९।
बराल, लोक राज. (२००४)Leadership in Nepal, Adroit Publisher

योगेश वराहक्षेत्र, (२०७५), श्रीमद्भागवत कथासार।

Covey. S R.(1989). The & Habits of Highly Effective People. Free Press.

Gandhi, M.(1977). Hind Swaraj or Indben Home Rule (M. Desai, Trans.). Navajivan Publishing House.

Sinek, S. (2014) Leaders Eat Last. Penguin Books=

Vyasa. (Various publications).The Vedas. Oxford University Press Penguin Books.

 

प्रकाशित :२०८२ कार्तिक २५, मंगलवार १२:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry