नेपालमा धान उत्पादनको अवस्था र धान दिवसको महत्व
धान नेपालीहरुको प्रमुख खाद्यान्न बाली हो । हामी कहाँ करिब पन्ध्र लाख हेक्टर जमीनमा धान खेती लगाइन्छ । धान उत्पादनको हिसाबले नेपाल विश्वमा सत्रौं स्थानमा पर्दछ । तर उत्पादकत्वको हिसाबले भने नेपालमा प्रति हेक्टर ३.५ टन उत्पादन हुन्छ । बंगलादेशमा ४.४ टन प्रति हे. उत्पादन हुन्छ भने चीनमा ६.७ टन प्रतिहेक्टर उत्पादन हुन्छ ।
नेपालमाधान सिँचाइको व्यवस्था भएको खेतमा मात्र हैन पाखो बारीमा पनि धान खेती गरिन्छ । पाखोबारीमा लगाइने धानलाई घैया धान वा पाखे धान भनिन्छ । पहिलेपहिले घैया धान पनि ठूलो क्षेत्रमा लगाइने गरिन्थ्यो । तर अहिले केही वर्ष यताबाट घैया धान उत्पादन धेरै घटेको छ । नेपालमा धान तराई, पहाड र उच्च पहाडमा लगाइन्छ । धान उत्पादनको हिसाबले तराईले ६८ प्रतिशत, पहाडले २८ र उच्च पहाडी क्षेत्रले ४ प्रतिशत योगदान गरेको पाइन्छ (नेपाल सरकार, २०७७)। नेपालीहरुले करिब प्रति व्यक्ति वर्षेनी १३८ किलो चामल उपभोग गर्दछन् । यसरी हेर्दा हामीलाई करिब ४० लाख टन चामल आवश्यक पर्दछ । हाम्रो उत्पादनले हामीलाई नै पुग्ने देखिँदैन । करिब सात लाख पचास हजार टन चामल वर्षेनी आयात गर्नु पर्ने दखिन्छ । नेपाल पहिले धानमा आत्मनिर्भर थियो । बढी भएको धान निर्यात पनि गरिन्थ्यो । तर अहिले आफ्नो लागि पनि नपुगेर वर्षेनी रु ४० अर्ब बराबरको चामल आयात गर्नुपर्ने देखिन्छ ।
Advertisement 1
असार १५ मा यो वर्ष पनि राष्ट्रिय धान दिवस मनाइँदै छ । नेपाल सरकारले २०६२ सालबाट राष्ट्रिय धान दिवस मनाउन थालेको हो । धान खेतीलाई प्रोत्साहन दिई उत्पादनमा वृद्धि गराउन यो दिवस मनाउन थालिएको हो । हुन त नेपालका किसानहरुले पन्ध्र असार वा रोपाईं दिवस मनाउन थालेको शदियौंदेखि हो । यो दिवस कृषि जैविक विविधताको दृष्टिले पनि आफैंमा महत्वपूर्ण मानिन्छ । नेपालका कृषक समुदायले धेरै पहिलेदेखि धान रोपाईंलाई विशेष पर्वको रुपमा मनाउँदै आएका हुन् । पन्ध्र असारको दिनमा गाउँभरिका मानिसहरु कुनै एक किसानको खेतमा जम्मा भएर विशेष धुमधामका साथ, गाजाबाजा सहित जम्मा भएर असारे गाउँदै, हिलो खेल्दै, गोरु कुदाउँदै, धान रोपाइँ गर्ने र दही–चिउरा खाने प्रचलन धेरै पुरानो हो । काठमाडौं उपत्यकाका किसानहरुमा यो दिन विशेष पहिरनका साथ धान रोपाइँ गर्ने प्रचलन छ । पुरुषहरु दौरा सुरुवाल र महिलाहरु हाकु पटासी (कालो गुन्यू, सेतो पटुकी र चोलो) मा ठाँटिएर रोपाइँमा सामेल हुने र हिलो खेल्ने चलन चल्दै आएको छ ।
धान नेपालको लागि मात्र हैन विश्वको आधा भन्दा बढी मानिसहरुको जीवन आधार हो । विश्वका करिब ११४ देशमा धान खेती हुन्छ । विश्वभरमा १६ करोड हेक्टरमा धान खेती गरिन्छ र ७४ करोड ४० लाख मेट्रिक टन धान उत्पादन हुन्छ । यसको ९० प्रतिशत उत्पादन एसियाका देशहरुमा मात्र हुन्छ । नेपालमा करिब १४ लाख हेक्टरमा धान खेती गरिन्छ र करिब ३५ लाख मे. टन उत्पादन गरिन्छ । नेपालका ७७ जिल्ला मध्ये ७५ जिल्लामा धान खेती गरेको देखिन्छ । कूल खेती योग्य जमीनको ५० प्रतिशत क्षेत्रमा धान खेती गरिन्छ । नेपालमा धेरै प्रकारका धानको खेती गरिन्छ । यहाँ स्थान विशेष र मौसमलाई हेरेर वर्षे, चैते, भदौरे र हिउँदे धानको खेती गर्ने चलन छ । नेपालको तराईदेखि, मध्य पहाड र उच्च पहाडी भागमा समेत धान खेती गरेको पाइन्छ । यहाँ ६० मिटर देखि ३०५० मिटर उच्च भूभागमा पनि धान सफलतापूर्वक भएको देखिन्छ । संसारकै सबै भन्दा अग्लो स्थानमा धान खेती नेपालमा नै हुन्छ । जुम्ला धान खेती हुने संसारकै अग्लो स्थान हो । नेपाल कृषि अनुसन्धान परिषद्ले करिब ८२ वटा धानका जातहरु विकास गरिसकेको छ । तर नेपाली कृषकहरुले सयौं जातका धानहरुको बीउ संरक्षण गर्दै आएका थिए । तर अहिले आएर ती जातहरुको संख्या क्रमशः कम हुँदै गएको छ ।
Advertisement 2
नेपालको कूल ग्राहस्थ उत्पादनमा कृषिको योगदान करिब ३० प्रतिशत छ र ६० प्रतिशत जनसंख्या यसैमा निर्भर छन् । यसमा धानले मात्र २० प्रतिशत योगदान गरेको पाइन्छ । खाद्य सुरक्षाको दृष्टिले पनि धानको उत्पादन वृद्धि गर्नु जरुरी छ । यसै कुरालाई मध्य नजर राख्दै नेपाल सरकारले उत्पादन वृद्धिका योजनाहरु त बनाएको देखिन्छ । तर कार्यान्वयन प्रभावकारी बन्न सकेको छैन ।
धान उत्पादनमा वृद्धि ल्याउनको लागि धान दिवसको सुरुवात गरिएको हो । यो वर्ष धान खेती गर्ने क्षेत्रफल बढाउने र उत्पादनमा पनि वृद्धि गर्ने सोच बनाइएको छ । तर उत्पादन वृद्धिको नारा लगाएर र धान दिवस मनाउँदैमा उत्पादन वृद्धि हुने देखिँदैन । खेती गर्ने जनशक्ति विदेशिएर अहिले धेरै स्थानका जग्गाहरु बाँझै छन् । युवाहरु बाहिर छन् । बूढा, बालबालिका र रोगीहरु मात्र गाउँघरमा बसेका छन् । त्यो जनशक्तिको भरमा कुनै पनि खालको खेती सम्भव छैन । कि त यान्त्रिकीकरण गर्नु प¥यो । यो पनि तत्काल सम्भव देखिन्न, त्यसको लागि समय लाग्दछ । सम्भव गराउन राज्य सञ्चालकहरुमा व्यापक इच्छाशक्ति चाहिन्छ । त्यही अनुसारको पूर्वाधार पनि चाहिन्छ । दक्ष जनशक्ति, औजार, विषादी र मलको उत्पादन देशमा नै हुनु जरुरी हुन्छ ।
Advertisement 3
कृषि क्षेत्रको उत्पादनमा वृद्धि ल्याउनको लागि खेती योग्य जमीन, मलिलो माटो, पानीका स्रोतहरु र स्थानीय जातहरुको संरक्षण गर्नु पनि उति नै आवश्यक पर्दछ । सिँचाइको पनि उस्तै जरुरी हुन्छ । न त युवाहरुलाई स्वदेशमा नै राख्न राज्यले नीति बनाएको छ । न देशलाई आवश्यक पर्ने मल, बीउ, विषादीको उत्पादन स्वदेशमा नै गर्न सकिएको छ । जलवायु परिवर्तनको अहिलेको परिस्थितिमा स्थानीय जातका बीउहरुको ठूलो महत्व हुन्छ । बाहिरबाट ल्याइएका, बढी उत्पादनको लागि तयार गरिएका वर्णशंकर जातहरु दिगो हुन सक्दैनन् । हाम्रा आफ्ना प्रजातिहरु लोप हुँदै गएका छन् । त्यसको संरक्षणको लागि कुनै पनि ठोस योजना आउन सकेको छैन । बीउको छनोट गर्ने, संरक्षण गर्ने र विस्तार गर्ने हाम्रा पुराना पद्धतिहरुको बारेमा हाम्रो अहिलेको पुस्ता अनविज्ञ छ । अरुको देखासिकी गर्ने तर आफ्ना असल परम्परागत प्रविधिहरुको वास्ता नगर्ने हाम्रो बानी बनिसकेको छ ।
धान खेती गर्ने मलिला फाँटहरुलाई कंक्रिटको मरुभूमी बनाइँदैछ । राज्यले भूउपयोग नीति तयार नगर्दा प्लटिङको नाममा जथाभाबी उर्वरा भूमिलाई चिराचिरा पारी कंक्रिट ओछ्याएर तहसनहस बनाइएको छ । हाम्रा फाँटहरुलाई सिँचाइ गर्ने नदीहरु अहिले प्रायः प्रदूषित बनेका छन् । हाम्रा धानका पुराना परम्परागत जातहरु बिस्तारै लोप हुँदै गएका छन् । घैयाका धेरै जातहरुको खेती हाम्रा मध्य पहाडी क्षेत्रमा, टारहरुमा र भित्री मधेशका फाँटहरुको ठूलो क्षेत्रमा गरिन्थ्यो तर अहिले घैया खेती धेरै नै घटेको छ । महत्वपूर्ण धानका जातहरु बिस्तारै आधुनिक जातहरुले विस्थापित गर्दै लगेका छन् । जुम्लाको कालो मार्सी, कालो बुढो, कास्कीको पोखरेली मसिनो, एक्ले मसिनो, ठाँटर घैया धान, तौली धान आदि हराउँदै गएका छन् ।
धान दिवस मनाउनु त ठीक छ । साथै धानका स्थानीय जातहरुको संरक्षण गर्न सके, धान खेती हुने मलिलो माटो जोगाउन सके, धान खेतमा सिँचाइ गर्ने खोलानालाको पानी प्रदूषित हुनबाट बचाउन सके, भूउपयोग नीति तय गरी मलिला फाँटहरुको संरक्षण गर्न सके र खेतहरुको खण्डीकरण रोक्न सके मात्र धान दिवस मनाएको बढी सार्थकता हुनेछ ।