… … हराएमा डर छैन

न्यू रोडमा सुनका पसल नजिकै नक्कली गहनाका पसलहरू पनि पाईन्छन् । सुनको मूल्यले उचाई लिई रहदा सर्व साधारणलाई लोभ्याउन सुन भन्दा कम छैन, हराएमा डर छैन भन्ने सूचनाहरू यी पसललाई लक्षीत गरी राखिएको पाईन्छ। हाम्रो परम्परामा बिहेवारी जस्ता कर्ममा सुनको माग बढी रहेको सन्दर्भमा यस्ता नक्कली गहनाले ग्राहकको ध्यान आकृष्ट गरेको पाईन्छ र यस्ता गहना हेर्न दर्शकहरू यी पसलमा झुम्मिन्छन् तर उक्त पर्वका लागि भने जति महंगो भए पनि सक्कली सुन नै किन्ने गर्छन्।
यो प्रसंग किन ल्याईएको हो भने यही फागुन २१ मा हुन गै रहेको प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलले आ-आफ्नो पसल थापेका छन् तर ती पसलहरू सबै सक्कली सुनका पसलहरू भने हैनन् । ती पसल मध्ये सडकको छेऊमा राखिएका कथित दलका पसलमा सुन जस्तै देखिने तर वास्तविक रूपमा सुनको गुण नभएका गहनाहरू पनि राखिएका छन्। यस्तो परिस्थितिमा ग्राहकको रूपमा सुन खोजेका हामी मतदाताहरू सजग र सतर्क भै सक्कली सुन चिनेर मात्र लगानी गर्न सक्नु पर्छ।
यस पटक हुन गै रहेको निर्वाचनबाट आउने परिणामले मुख्य त मुलुकमा बढ्दै गएको कुशासन र भ्रष्टाचारको संवोधन हुने अपेक्षा गरिएको छ। यसको संवोधन गर्न सक्ने गरी संसदमा प्रतिनिधित्व हुन सकेमा मात्र यो चुनावको सार्थकता रहन्छ तर यसरी थापिएका पसलहरू मध्ये अधिकांश पसलहरू सुन भन्दा कम छैन हराएमा डर छैन भन्ने स्वभावका छन्। सस्ता पसलका रूपमा मतदाता समक्ष पुग्ने यी दलहरू संग न गन्तब्य प्रष्ट छ न गन्तब्यमा पुग्ने मार्ग छ, छ भने सस्तो लोक प्रीयता मात्र छ। यस्ता खहरे खोला जस्ता क्षणिक स्वभावका राजनीतिक दल र यसका नेतालाई विश्वास गरेर यिनीहरूलाई मतदान गरियो भने हतारमा निर्णय गर्ने फुर्शदमा पछुताउने उखान चरीतार्थ हुन पुग्छ।
दलहरूमा आएको यो बाढीमा दलहरू र यसका नेताहरूको छनौट गरेर मात्र मतदान गर्नु आजको आवश्यकता हो। हामी मतदाताको अमूल्य मतलाई सदुपयोग गर्न सकेनौ भने हाम्रो पुस्ता मात्र हैन भविष्यको पुस्ताले समेत हालको समस्यालाई यथावत् रूपमा सहनुको विकल्प रहदैन। यसैले आवेगमा आएर सस्तो लोकप्रीयताको पछाडि लागेर हैन भविष्यलाई सोचेर मतदान गर्नु पर्छ।

Advertisement 1

हामी संसदीय लोकतन्त्रमा विश्वास राख्ने भएकोले यो मान्यतामा रहेका पार्टीहरू मात्र हाम्रो छनौटमा पर्नु पर्छ। कानूनी शासन, पारदर्शिता, सहज डेलिभरी, न्यायीक सर्वोच्चता, वैयक्तित स्वतन्त्रता जस्ता विशिष्टतालाई अगाल्ने लोकतन्त्रलाई संस्थागत गर्ने राजनीतिक दललाई सत्तामा पुर्याएर उनीहरूबाट कार्य सम्पादन गराउनु आजको आवश्यकता हो।
यति खेर अधिकांशले भन्दै आएको एउटा थेगो के छ भने यस वर्षको भदौ २३ गते जेन जीले उठाएको माग सम्बोधन गर्न चुनाव गर्न जानु परेको हो। यो कुरा सत्य हो कि जेन जी ले उठाएको माग केही राजनीतिक दलका यूवा पंक्तिबाट केही समय पहिले देखि उठाउदै आएका हुन् तर यी मागलाई ती दलका पुराना नेताले सुनेको नसुन्यै गर्नाले भदौ २३ मा जेन जी ले सतहमा ल्याई दिएका हुन् तर त्यति खेरको सत्ताले सो दिनको आवाजलाई सुन्नु त कता हो कता कर्कलालाई बन्चरो भने जस्तो विद्यालयको पोशाकमा आएका ती कलीला बालकलाई ताकी ताकी गोली प्रहार गर्यो र अनाहकमा कलीला विद्यार्थीको ज्यान गयो। सो को भोली पल्ट त्यसैको प्रतिरोधमा भएको आन्दोलनका कारण तत्कालीन सरकार अपदस्थ हुन पुग्यो र त्यस पछि बनेको अन्तरिम सरकारले यही फागुन २१ मा निर्वाचन गराउने गरी राष्ट्रपतिको सिफारिसमा प्रतिनिधि सभा भंग गर्यो।
यो पृष्ठभूमिमा हुन गै रहेको निर्वाचनमा सहभागी हुन गै रहेका राजनीतिक दलहरू मध्ये अधिकांश दलहरू संग कुनै नीति र कार्यक्रम छैन जसले भदौ २३ को आन्दोलनको मर्म बुझेको होस्। अझै यी मध्ये त्यस्ता दल पनि चुनावमा भाग लिएका छन् जसले जेन जी को आन्दोलनलाई अपराध सम्म पनि भन्न भ्याएका छन् भने पछि यस्ता दलका प्रतिनिधिले चुनावमा जितेर सरकार बनाए भने जेन जीको माग पूरा गर्नु त के उल्टो यो आन्दोलनमा लागेकालाई खोजी खोजी मुद्दा लगाउन समेत पछि पर्ने छैनन्। त्यसैले यस्ता दल र नेतालाई समय मै चिनेर पाखा लगाउनु पर्छ।

जनताका आखामा छारो हालेर,जनतालाई झुक्क्याएर पहिला पहिला आफ्नो पक्षमा मतदान गर्न लगाउन सफल हुन्थे राजनीतिक दलहरू तर वर्तमान समयमा सन्चारमा आएको परिवर्तनले मतदाताहरू पहिला भन्दा सचेत भएका छन्। त्यसैले धमीलो पानीमा माछा मार्न सकिन्छ कि भने जाल खेल्ने नक्कली दल र यिनका नेताले नक्कली सुनको पसल थापेर नबसे हुन्छ। मतदाताहरू नक्कली र सक्कली छुट्याउन सक्ने भै सकेका छन्।
यस पटकको चुनावी बाढीमा मतदान गर्दा हामीले खहरेको रूपमा देखा परेका पार्टी र नेतालाई पन्छाउन सक्नु पर्छ र नीति र दर्शन बिनाका पार्टीलाई समेत मतदान गर्नु हुदैन। त्यसै गरी जेन जी र पुराना पुस्तालाई जोड्न नसक्ने पार्टी र नेतालाई पनि छाडी दिनु पर्छ। यस प्रसंगमा देशलाई विदेशीको ईशारामा चलाउन खोजेका नेता र तिनीहरूको पार्टीलाई चिनेर तिनीहरूलाई पाखा लगाउन सक्नु पर्छ।

प्रकाशित :२०८२ फाल्गुन १, शुक्रबार १५:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry