माघी वा माघे सक्रान्तिको महत्व

नेपालमा मनाईने विभिन्न चाड पर्वहरू मध्ये माघे सक्रान्ति पनि एक हो। यसलाई मकर सक्रान्ति पनि भनिन्छ। किनभने यसको वरपर पारेर सूर्य उत्तरायण हुन्छ वा सूर्यको किरण मकर रेखा बाट भू-मध्य रेखा हुदै मकर रेखा तिर सिधा हुदै जान्छ, अर्थात पृथ्वीको उत्तरी गोलार्द्धमा गर्मी बढ्दै जान्छ। यही सौर्य मण्डलीय गतिविधिलाई आधार मानेर यो सक्रान्ति मान्ने गरिन्छ। यस अर्थमा हाम्रा पूर्खाहरु ज्योतिषीय हिसाबले पनि अनुभवि रहेछन् भन्ने प्रमाणित हुन्छ।

Advertisement 1

यो दिनलाई नेपालको आदिवासी जनजाती वर्गमा पर्ने मगर समुदायले नयां वर्ष कै रूपमा मनाउने गरेको पाईन्छ भने पश्चिम तराईमा बस्ने थारू जाती जुन आदिवासी पनि हो, यसले माघीको रूपमा यो दिनलाई मनाउने गरेको पाईन्छ। नेपालमा बैंकिंग कारोवारले ब्यापकता नपाएको बेलामा यो समुदायले आजको दिनलाई वार्षिक आर्थिक कारोवार गर्ने दिनको रूपमा लिने गरेको पाईन्छ। पहिला पहिला थारू समुदायमा यो दिनलाई ऋण लिने र ऋण चुक्ता गर्नका लागि पनि प्रयोग गरिन्थ्यो तर आजभोली आर्थिक संस्थाहरूको ब्यापकताले यो चलन क्रमशः हराउदै गएको पाईन्छ।

यसै गरी गुरूंग समुदायमा पनि यो पर्वलाई महत्वका साथ मनाउने गरेको पाईन्छ। त्यसै गरी बाहुन, क्षेत्री, ठकुरी, सन्यासी आदि जातजातीमा पनि यो पर्वलाई महत्वका साथ मनाईन्छ। यसरी यो पर्व नेपालको कुनै भागलाई मात्र नसमेटेर नेपालको पूरै भूगोल र समुदायको महत्वपूर्ण चाड बन्न पुगेको छ। चाड पर्व भन्दा बित्तिकै यो खानपान र वेशभूषा संग जोडिन पुग्छ। यो पर्वमा खासगरी वन पैदावार जस्तै तरूल, गिठा, भ्याकूर, सक्खर उसिनेर खाने, च्यूरा, गुंड, तीलको लड्डू, खुदो आदि गर्मी उत्पन्न गराउने खानेकुराहरू र कन्दमूल खाने गरिन्छ। खासगरी हाम्रा पूर्खाहरूले जमानामा खाने गरेका कन्दमूल खाएर हाम्रा पूर्खालाई सम्झने दिनको रूपमा पनि यो सक्रान्तिलाई मान्ने गरिन्छ।
माघे सक्रान्तिको अवसरमा खाईने अर्को महत्वपूर्ण परिकार खिचडी पनि हो। खिचडी चामल र मासको दाल मिसाएर पकाईन्छ र यसमा जडिवुटीजन्य गुण भएका अदूवा र वेसार पनि राखिन्छ र अन्त्यमा घ्यू पनि हालेर यसलाई बढी स्वादिलो बनाईन्छ। यो परिकार नखाईकन माघ महिनामा कोदो, फापर जस्ता खाद्यान्न खान हुदैन भन्ने चलन भएकोले यसलाई माघको १ गते नै खाईन्छ तर यो खिर्चो खान सोमवार वा बुधवारलाई रोज्ने गरिन्छ। यस पटक भने सोमवार परेकोले त्यसै दिनमा खिर्चो (खिचडी) खाएर उक्त बन्धन फुकाउन मिल्ने देखिन्छ। यो पर्वको अवसरमा मेला लाग्ने चलन नेपालका कतिपय ठाऊमा अझै कायम छ। उदाहरणको लागि लमजुंग जिल्लाको उत्तरी भेकमा पर्ने स्यांगेमा सो भेग र मनांगको तल्लो भेगबाट आएर मेला भर्ने गरेको सम्झना छ। त्यस अबसरमा छेलो ( ठेलो ) फ्याक्ने, हाट बजार थाप्ने, रोधीं बस्ने, स्थानीय परिकार खाने चलन अझै पनि छ। सो अवसरमा स्थानीयहरू आ आफ्नो परम्परागत पहिरनमा मेला भर्न आउने गर्छन्।

Advertisement 2

त्यसै गरी यसै दिनको अवसर पारेर नुवाकोट जिल्लाको तारूकामा गोरू जुधाउने गरिन्छ। गोरू खासगरी हाम्रो जस्तो कृषि प्रधान देशका लागि महत्वपूर्ण पशु हो। यो जति बलियो भयो बाली लगाउन उती सहज हुन्छ भनेर बलियो गोरूको छनौटका लागि यो प्रतियोगिता गर्ने चलन गरिएको हुनु पर्छ। यस पर्वमा स्थानीय उत्पादन लगायत दैनन्दिन चाहिने सामानहरू किनवेचका लागि विभिन्न ठाऊमा हाटहरू लाग्ने गर्छन्। यी हाटहरू १ देखि २ हप्ता सम्म रहेर त्यस पछि अन्य ठाऊमा स्थानान्तर हुने गर्छन्। यसरी यस्ता पर्वमा लाग्ने हाट बजारहरू ले स्थानीय आवश्यकता पूरा गर्ने मात्र नभएर स्थानीय उत्पादनका बजारका रूपमा पनि काम गर्छन्।

यस्ता चाडपर्वहरूको कुरा गरिरहदा नेपालीहरु संस्कृति र परम्पराका हिसाबले अति धनी रहेको प्रतीत हुन्छ तर यस्ता चालचलन र संस्कृतिको जगेर्ना र संरक्षण गर्न हाम्रो नयां पुस्तालाई हामीले सक्षम बनाउन सक्छौ कि सक्दैनौ प्रश्न यस मै छ। जव हामीले यसलाई दीगो रूपमा संरक्षण गर्न सक्दैनौ तव हामीले हाम्रो पहिचानलाई बचाउन सक्दैनौ। त्यसैले हामीले नेपाली भनेर हाम्रो पहिचानलाई बचाउने हो भने हाम्रो दोश्रो तेश्रो पुस्तालाई हाम्रो संस्कार, संस्कृति, भाषा, पहिरन, चाडपर्व आदि सबै हस्तान्तरण गर्न सक्नु पर्छ, अन्यथा हाम्रो पहिचान पनि हराउदै जानेछ।

प्रकाशित :२०८० पुष २९, आईतवार ०८:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry