सार्वजनिक खरिदका विधि र प्रक्रिया
सामान्य अर्थमा सरकारले आफ्नो कार्यसम्पादनका लागि आवश्यक पर्ने चिजवस्तु खरिद गर्ने कार्यलाई सार्वजनिक खरिद भनेर बुझिन्छ । व्यापक अर्थमा भन्दा सरकारले मुख्यतयाः गर्ने कार्य शान्ती सुरक्षा र अमन चयन , सेवा प्रवाह र विकास निर्माण सम्बन्धी कार्य प्रमुख रुपमा रहेका छन् उक्त कार्यहरु गर्नका लागी विभिन्न मालसामान प्राप्त गर्ने, परामर्श सेवा तथा अन्य सेवा लिने र निर्माण कार्य गराउनुपर्ने हुन्छ उक्त कार्यका लागी गरिने खरिदकार्यलाई नै सार्वजनिक खरिद कार्य भनिन्छ। यसरी गरीने खरिद कार्यका लागी मार्गदर्शनका लागि कानुनी व्यवस्था जरुरी हुन्छ तसर्थ नेपाल सरकारले सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शि, वस्तुनिष्ठ र विश्वसनीय बनाउन सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बनाई लागु गरेको छ। यो सार्वजकि खरिद कार्यका लागी मार्गदर्शक कानुनी व्यवस्थाका रुपमा रहिआएको छ।
सार्वजनिक खरिद ऐनको दफा २(क) ले खरिदको स्पष्ट पभिाषा गरेको छ जसअनुसार खरिद भन्नाले सार्वजनिक निकायले यस ऐन बमोजिम कुनै मालसामान, परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा कुनै निर्माण कार्य गर्ने वा गराउने कार्य सम्झनुपर्दछ भनी उल्लेख गरेको छ । त्यसैगरी उक्त पभिाषा खण्डमा सार्वजनिक निकाय, मालसामान, निर्माण कार्य, परामर्श सेवा र अन्य सेवाको अलग अलग र स्पष्ट परिभाषा समेत गरेको छ । यसले गर्दा के के र कस्ता कार्यलाई सार्वजनिक खरिद भनीने हो भन्ने विषयमा अन्यौलता रहेको पाइदैन । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ एवम् बिभिन्न नियमहरुमा गरेको व्यवस्थाहरुका आधारमा सार्वजनिक निकायले खरिद गर्दा देहायको कुनै एक विधि अपनाई खरिद गर्नुपर्ने व्यवस्था रहेको छ ।
खरिद विधि र प्रक्रिया
सार्वजनिक खरिदमा संलग्न हुने तथा चासो राख्ने अधिकांशहरुमा विधि र प्रक्रियालाई उस्तै वा एकैशव्द जसरी प्रयोगमा ल्याउने गरेको पाइन्छ तर यी दुइ शव्दहरु उस्तै नभई फरक फरक अर्थ बोकेका र सँगै प्रयोग हुने शव्दहरु हुन् । खरिद बिधीले बिभिन्न खाले खरिदहरु जस्तै मालसामान, निर्माण कार्य, परामर्श सेवा तथा अन्य सेवा खरिद गर्ने अलग अलग बिधीहरुबारे चर्चा गर्दछ भने प्रक्रियाले ति प्रत्येक विधि पुरा गर्ने चरणगत व्यवस्थाहरुलाई जनाउँदछ । उदाहरणका लागी निर्माण कार्यको खरिद गर्दा उपभोक्ता वा लाभग्राही समुदाय मार्फत गराउन सकिन्छ यो निर्माण कार्य खरिद गर्ने बिभिन्न विधिमध्ये एउटा विधि हो भने उपभोक्ता समिति कस्तो हुने कति जनाको रहने, गठन प्रक्रिया, दर्ता र संचालन, लागत अनुमान र भुक्तानी तथा अनुगमन र लेखापरिक्षण आदी बिषयहरुको सिलसिलेवार व्यवस्था प्रक्रिया हो । यस्तो खरिद विधिलाई खरिद प्रकारका आधारमा दुई प्रकारमा विभाजन गरी हेर्ने गरीन्छ । मालसामान, निर्माण कार्य, तथा अन्य सेवा खरिद गर्ने विधि एकै खालको छ भने परामर्श सेवा खरिद गर्ने विधि अर्को खालको रहेको छ । यसै आधारमा हामी यहाँ खरिद विधि र प्रक्रियाको बारेमा चर्चा गर्नेछौं।
खरिद विधि छनौट
खरिद विधि छनौट गर्दा देहायका बिषयमा ध्यान दिनु पर्दछ :
– खरिद कार्यको प्रकृति जस्तो मालसामान, निर्माण कार्य, परामर्श सेवा वा अन्य सेवा मध्ये के खरिद गर्ने हो सो का आधारमा कुन विधि उपयुक्त हुन्छ सोही विधि छनौट गर्नुपर्दछ।
– खरिद मूल्यको सीमा अर्थात कुल लागत अनुमानको आधारमा पनि खरिद विधि फरक फरक हुनेगर्दछ जस्तो ५ लाख भित्रको मालसामान खरिद सोझै वार्ताद्वारा गरीन्छ भने कुल लागत अनुमान २० लाख माथीको भए बोलपत्र विधिबाट गर्नुपर्ने हुन्छ।
– खरिद गर्ने अवस्था, समय भन्नाले उत्पन्न परिस्थिति र खरिद गर्ने समय सीमाका आधरमा अर्थात बिशेष परिस्थीति ( भुकम्प, बाढी, पहिरो, महामारी आदी ), तत्काल खरिद गर्नुपर्ने अवस्था, सुरक्षा र सामरिक महत्वका सामाग्री, कार्यक्रम स्वीकृतिको समय जस्ता बिशेष समय र अवस्थालाई जनाउँछ।
– आपूर्तिकर्ताको उपलब्धताको आधारमा समेत खरिद विधि छनौट गर्नुपर्दछ। कुनै मालसामान वा सेवा मुल्यको हिसावले कम भएतापनि त्यस्तो मालसामान वा सेवा स्वदेशमा उपलव्ध नहुन सक्छ त्यस्तो अवस्थामा लागत अनुमान कम भएतापनि अन्तरराष्ट्रियस्तरवाट खरिद गर्नुपर्ने हुन सक्छ।
– खरिद योजना अर्थात खरिद कार्य सम्पादन गर्नु पर्ने समय तालिकाका आधारमा समेत खरिद विधि तय गरीन्छ। खरिद कानुन बमोजिम खरिद कार्य गर्नु अघि अनिवार्यरुपमा बार्षिक खरिद योजना र खरिद गुरुयोजना तयार गर्नुपर्दछ उक्त योजनामा खरिद विधि निश्चित गरिएको हुन्छ यसरी निश्चित गरिएको विधि अनुसारनै खरिदकार्य गरिन्छ।
खरिद विधिः
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ एवम् बिभिन्न नियमहरुमा गरेको व्यवस्थाहरुका आधारमा सार्वजनिक निकायले खरिद गर्दा देहायको कुनै एक विधि अपनाई खरिद गर्नुपर्ने व्यवस्था रहेको छ।
(क) मालसामान, निर्माण कार्य वा अन्य सेवा खरिद गर्नु पर्दाः
– राष्ट्रिय स्तरमा खुल्ला बोलपत्र आह्वान गरी गरिने खरिद विधि,
– अन्तर्राष्ट्रिय स्तरमा खुल्ला बोलपत्र आह्वान गरी गरिने खरिद विधि,
– सिलबन्दी दरभाउपत्र आह्वान गरी गरिने खरिद विधि,
– सोझै वार्ताद्वारा खरिद विधि,
– उपभोक्ता समिति वा लाभग्राही समुदायलाई सहभागी गराई निर्माण कार्य गराउने विधि,
– अमानत विधि,
– एकमुष्ट दर विधि,
– उत्पादक वा अधिकृत विव्रmेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) खरिद गर्ने विधि,
– सीमित बोलपत्रदाताले भाग लिने (लिमिटेड टेण्डरिङ्ग) खरिद विधि,
– नयाँ लिने पुरानो दिने (वाई व्याक मेथड) खरिद विधि,
– स्वदेशी बोलपत्रदाताहरू बीच मात्र प्रतिस्पर्धा गराई खरिद गरिने विधि।
(ख) परामर्श सेवा खरिद गर्नुपर्दाः
– प्रतिस्पर्धात्मक प्रस्ताव माग गरी
– सोझै वार्ताबाट
क. मालसामान, निर्माण कार्य वा अन्य सेवा खरिद विधि
१. अन्तर्राष्ट्रिय स्तरमा खुल्ला बोलपत्र आहृवान गरी,
सार्वजनिक निकायको माग अनुरुपको मालसामान वा निर्माण कार्य प्रतिस्पर्धात्मक मूल्यमा नेपाल राज्य भित्रका एक भन्दा बढी निर्माण व्यबसायी वा आपूर्तिकर्ताबाट प्राप्त नहुने भएमा, मालसामान, निर्माण कार्य वा अन्य सेवा खरिदका लागि राष्ट्रियस्तरमा बोलपत्र आव्हान गर्दा कुनै बोलपत्र नपरी बिदेशबाट प्राप्त गर्नु पर्ने भएमा, दातृपक्षसंग भएको सम्झौता बमोजिम वैदेशिक सहायता श्रोतबाट विदेशी मालसामान वा निर्माण कार्य खरिद गर्नु पर्ने भएमा, विशेष तथा जटिल किसिमको मालसामान वा निर्माण कार्य भएकोले अन्तर्राष्ट्रिय स्तरको बोलपत्रबाट खरिद गर्नु पर्ने भनी सार्वजनिक निकायले प्रमाणित गरेकोमा अन्तर्राष्ट्रिय स्तरकोे कम्तिमा पंैतालिस दिनको अवधि दिई बोलपत्र वा पूर्व योग्यता आह्वानको सुचना गर्नु पर्नेछ। अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना अंगे्रजी भाषामा प्रकाशन गर्नु पर्नेछ र बोलपत्र वा पूर्व योग्यता सम्बन्धी सबै कागजात अंग्रेजी भाषामा उपलव्ध गराउनु पर्नेछ। बोलपत्र वा पूर्व योग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचना राष्ट्रिय स्तरको दैनिक समाचारपत्रमा प्रकाशन गर्नु पर्नेछ र अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको हकमा अन्तर्राष्ट्रिय संचार माध्यममा समेत प्रकाशन गर्न सकिनेछ।
२. राष्ट्रिय स्तरमा खुल्ला बोलपत्र आहृवान गरी,
सामान्यतया बीस लाख रुपैयाँ भन्दा बढी लागत अनुमान भएको खरिद कार्य गराउँदा यो विधि अपनाउनु पर्दछ। यो विधिबाट खरिद गर्दा सामान्यतया राष्ट्रियस्तरको पत्रिकामा तिस दिनको सुचना दिई बोलपत्र आव्हान गरी सिलबन्दी दरभाउ माग गरी नियमानुसारको मुल्यांकन समितिबाट मुल्यांकन गराई सिफारीस अनुसार योग्य बोलपत्रदाता छनौट गरीन्छ। यसरी छनौट गर्दा एक मात्र योग्य बोलपत्र परेपनि सारभुतरुपमा प्रभावग्राही भएको भनी मुल्यांकन समितिले सिफारीस गरेमा त्यस्तो बोलपत्र छनौट हुन सक्नेछ।
३. सिलबन्दी दरभाउपत्र आहृवान गरी,
सोझै खरिद गर्ने सीमाबाहेक सामान्यतया बीस लाख रुपैयाँसम्म लागत अनुमान भएको मालसामान, निर्माण कार्य वा अन्य सेवा लिँदा यो विधि छनौट गरीन्छ। तर पचास लाख सम्मको एक्सरे, इसिजि, औषधीजन्य मालसामान, रोगको निदान तथा उपचारको लागी प्रयोगमा आउने स्वास्थ्य सम्बन्धी उपकरणहरु समेत खरिद गर्दा भने उल्लेखित सिमा आकर्षित नहुने व्यवस्था सार्वजनिक खरिद नियमावली, २०६४ ले गरेको छ।
४. सोझै खरिद,
सार्वजनिक खरिद नियमावली, २०६४ नियम ८५ बमोजिम सामान्यतया एक लाख देखि माथी दश लाख रुपैयासम्म लागत अनुमान भएको निर्माण कार्य, मालसामान वा अन्य सेवा खरिद गर्दा मौजुदा सुचीमा रहेका कम्तीमा तिनवटा फर्म वा कम्पनीसँग लिखितरुपमा दरभाउ मागगरी खरिद गर्न सकिने व्यवस्था गरेको छ। साथै नेपालमा उत्पादित पन्ध्र लाख रुपैयाँसम्मको मालसामान उत्पादकबाट खरिद गर्दा, बिस लाख सम्मको औषधीजन्य मालसामान, बिश्व स्वास्थ्य संगठनवाट पुर्वयोग्यता प्राप्त एकमात्र उत्पादक कम्पानी भएमा जतिसुकै रुपैयाँ सम्मको, नेपाल सरकारको निमन्त्रणमा नेपाल भ्रमणमा आउने अति विशिष्ट र विशिष्ट व्यक्तिलाइ आतिथ्यता र होटलवास वापतको लागी ५० लाख सम्म, विदेशस्थीत दुतावास र नियोगहरुको मर्मतमा २५ हजार अमेरीकी डलर सम्म, कुनै सार्वजनिक निकायलाई आवश्यक पर्ने मालसामानको उत्पादक नेपालमा एउटा मात्र भएको र अन्य उपयुक्त विकल्प नभएमा खरिद गर्ने सार्वजनिक निकायको प्रमुखले सोही व्यहोरा अभिलेख गरी उत्पादक सँग खरिद गर्दा लगायतमा यो विधि अपनाउन सकिने व्यवस्था रहेको छ।
साथै एक आर्थिक बर्षमा एकै पटक वा पटक–पटक गरी सीमाभन्दा बढी रकमको वा एउटै व्यक्ति फर्म कम्पनी वा संस्थाबाट एक पटक भन्दा बढी सोझै खरिद गर्न नसकिने, घरेलु उद्योग संग २५ लाख सम्मको, एउटै आपुर्तिकर्ता भएमा प्रोपाइटरी स्वरुपको अतिरिक्त मालसामान वा सेवा खरिद गर्नु पर्दा ३० प्रतिशतसम्म।अन्तर्राष्टिय अन्तरसरकारी संस वा विदेशी सरकार वा उक्त सरकारको सार्वजनिक निकाय सँग खरीद गर्दा एक सार्वजनिक निकायले अर्को सार्वजनिक निकायवाट उत्पादित वा वितरीत कुनै मालसामान वा सेवा खरीद गर्दा खरिद गरिने मालसामान आपूर्ति गर्ने अधिकार एउटा मात्र आपूर्तिकर्तासँग भएको र अन्य उपयुक्त विकल्प नभएमा पनि यसै विधिवाट खरिद गर्न सकिनेछ।
५. उपभोक्ता समिति वा लाभग्राही समुदायमार्फत निर्माण कार्य :
कुनै निर्माण कार्य गराउँदा मितव्ययिता, गुण स्तरीयता वा दिगोपना अभिबृद्धि हुने भएमा वा परियोजनाको मुख्य उद्देश्य नै रोजगारीको श्रृजना गर्ने र लाभग्राही समुदायलाई सहभागी गराउने भएमा एक करोड रुपैयाँसम्म लागत अनुमान भएको निर्माण कार्य वा सो सम्बन्धी सेवा सार्वजनिक खरिद नियमावली, २०६४ नियम ९७ बमोजिम उपभोक्ता समिति वा लाभग्राही समुदायवाट गराउन वा प्राप्त गर्न सकिनेछ।
सो प्रयोजनको लागि सम्बन्धित काम वा सेवाको प्रकृति, परिमाण, लाग्ने रकम, उपभोक्ता समिति वा लाभग्राही समुदायले व्यर्होने वा व्यहोर्नु पर्ने रकम र अन्य आवश्यक कुराहरु खुलाई सार्वजनिक निकायले सार्वजनिक सूचना प्रकाशन गरी प्रस्ताव माग गर्न वा त्यस्तो समिति वा समुदाय आफैले प्रस्ताव वा निवेदन पेश गर्न सक्नेछ यसरी प्रस्ताव वा निवेदन प्राप्त भएपछि सम्बन्धित सार्वजनिक निकाय र त्यस्तो उपभोक्ता समिति वा लाभग्राही समुदायले आवश्यकतानुसार छलफल, वार्ता वा निर्माण स्थलको भ्रमण गरी त्यस्तो काम वा सेवाका सम्बन्धमा खरिद सम्झौता गर्नुु पर्नेछ।
६. अमानत विधि:
सामान्य प्रकृतिको मर्मत सम्भार, सानातिना नियमित कार्य वा सरसफाई जस्ता कार्य गराउन सार्वजनिक खरिद नियमावली, २०६४ नियम ९८ बमोजिम अमानतबाट गराउन सकिनेछ। निर्माण कार्य गर्नु परेमा त्यस्तो काम एक लाख रुपैयाँमा नबढाई खण्ड खण्ड गरी वार्ताबाट गराउन वा निर्माण सम्बन्धी काम आवश्यक निर्माण सामाग्री उपलब्ध गराई ज्यालामा दिन सकिने। सार्वजनिक निकायले अमानतबाट काम गर्नु पर्दा सो कामको लागि आवश्यक पर्ने प्राविधिक सेवा र निर्माण सामाग्री ऐन र नियमावलीको प्रक्रिया बमोजिम खरिद गरी ज्यालामा काम गराउनु पर्नेछ। साथै अमानतबाट काम गर्न एक तह माथिको अधिकारीको पूर्व स्वीकृति आवश्यक पर्ने व्यवस्था गरेको छ।
७. एकमुष्ट दर विधिः
सार्वजनिक खरिद नियमावली, २०६४ नियम ३१क बमोजिम सार्वजनिक निकायले कुनै योग्यता आवश्यक नपर्ने प्रकृतिको दुई करोड रूपैयाँसम्म लागत अनुमान भएको निर्माण कार्य खरिद गर्नु पर्दा लागत अनुमान सार्वजनिक गरी राष्ट्रियस्तरको बोलपत्रको माध्यमद्वारा एकमुष्ट दर विधिको आधारमा प्रतिस्पर्धा गराई खरिद गर्न सक्नेछ। उक्त बमोजिम बोलपत्रदाताले बोलपत्र दाखिला गर्दा कूल लागत अनुमानमा निश्चित प्रतिशत घटी वा बढी प्रतिशतमा काम गर्ने एकमुष्ट दर कबोल गरी बोलपत्र पेश गर्नु पर्नेछ। यो विधि बहुवर्षीय सम्झौता गर्नु पर्ने खरिद कारबाहीमा प्रयोग गर्न सकिने छैन।
८. उत्पादक वा अधिकृत विक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) खरिद विधिः
सार्वजनिक खरिद नियमावली, २०६४ नियम ३१ख बमोजिम सार्वजनिक निकायले हेभी इक्विपमेन्ट, सवारी साधन, औजार, मेशिनरी, उपकरण, एक्सरे वा एमआरआई जस्ता स्वास्थ्य सेवाको लागि आवश्यक पर्ने उपचारजन्य यन्त्र वा यस्तै अन्य यान्त्रिक मालसामानहरू त्यस्तो समान स्तरको मालसामान उत्पादन वा वितरण गर्ने उत्पादक कम्पनी वा त्यसको आधिकारिक बिक्रेतालाई कम्तीमा सात दिनदेखि बढीमा पन्ध्र दिनसम्मको लिखित सूचना दिई प्रतिस्पर्धा गराई खरिद गर्न सक्नेछ। सूचना प्राप्ति भएपछि त्यस्तो मालसामान बिक्री गर्न चाहने उत्पादक कम्पनी वा त्यसको आधिकारिक बिक्रेताले उत्पादनको आधिकारिक स्पेशिफिकेशन, गुणस्तर, मूल्य र सुविधा सहितको विवरण (क्याटलग वा ब्रोसर) संलग्न राखी त्यस्तो सार्वजनिक निकायमा निवेदन दर्ता गराउनु पर्नेछ। तर यसरी निवेदन दर्ता गर्दा बोलपत्र जमानत आवश्यक पर्ने छैन। दर्ता भएका उत्पादक कम्पनी वा त्यसको आधिकारिक बिक्रेताले पेश गरेको स्पेशिफिकेशन, गुणस्तर, मूल्य र सुविधा सहितको विवरण (क्याटलग वा ब्रोसर) हेरी समान स्पेशिफिकेशन र गुणस्तर भएका उत्पादनहरूको उत्पादक कम्पनी वा त्यसको आधिकारिक बिक्रेताको सूची तयार गर्नु पर्नेछ। त्यस्तो सूचीको आधारमा खरिद गरिने मालसामानको परिमाण खोली उत्पादक वा अधिकृत बिक्रेताबाट तोकिएको मूल्य र सुविधा मध्ये मूल्यमा छुट वा सुविधामा थप हुन सक्ने विवरण सहितको आर्थिक प्रस्ताव माग गर्नु पर्नेछ। प्रस्ताव प्राप्ता भएपछि मूल्यमा पाइने छुट र सुविधामा हुने थप समेतको आधारमा यस नियमावली बमोजिम मूल्याङ्कन गरी न्यूनतम मूल्याङ्कित सारभूत प्रभावग्राही प्रस्तावदाताको छनौट गर्नु पर्नेछ। यसरी छनौट भएको प्रस्तावदातासँग नियम ११० बमोजिम कार्यसम्पादन जमानत लिई खरिद सम्झौता गर्नु पर्नेछ। योे विधि पनि बहुवर्षीय सम्झौता गर्नु पर्ने खरिद कारबाहीमा प्रयोग गर्न सकिने छैन।
९. सीमित बोलपत्र (लिमिटेड टेण्डरिङ्ग) खरिद विधि:
सार्वजनिक खरिद नियमावली, २०६४ नियम ३१ग बमोजिम सार्वजनिक निकायले सीमित मात्रामा उपलव्ध भएको वा हुने कुनै मालसामान, निर्माण कार्य, परामर्श सेवा वा अन्य सेवा खरिद गर्नु परेमा त्यस्तो प्रकृतिको आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवाप्रदायकहरू तीन वा सो भन्दा कम सङ्खयामा उपलब्ध भएको अवस्था यकिन गरी त्यस्ता आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवाप्रदायकहरू बीच मात्र प्रतिष्पर्धा हुने गरी पन्ध्र दिनको बोलपत्र आह्वानको सूचनाको माध्यमद्वारा बोलपत्र वा प्रस्ताव माग गरी खरिद गर्न सक्नेछ। यो विधि बहुवर्षीय सम्झौता गर्नु पर्ने खरिद कारबाहीमा प्रयोग गर्न सकिने छैन। सार्वजनिक निकायले सीमित बोलपत्र विधिको माध्यमबाट खरिद गर्नु पर्दा एक तह माथिको अधिकारीको पूर्वस्वीकृति लिनु पर्नेछ।
१०. नयाँ लिने पुरानो दिने (बाई व्याक मेथड) खरिद विधिः
सार्वजनिक खरिद नियमावली, २०६४ नियम ३१घ बमोजिम सार्वजनिक निकायले आफनो स्वामित्वमा रहेको कुनै सवारी साधन, औजार, मेशिनरी उपकरण, यन्त्र, रसायन, मल, विषादि वा यस्तै प्रकृतिका अन्य मालसामानहरूको उत्पादक कम्पनीले तोकेको वारेन्टी वा ग्यारेन्टीको समयसीमा अवधि पूरा भएपछि मर्मतसम्भार गरी सञ्चालनमा ल्याउँदा लागत प्रभावकारी नहुने र त्यस्तो उत्पादक कम्पनीले तोकेको मापदण्ड अनुरूपको परिणाम नदिने वा पुनःप्रयोग गर्न नमिल्ने वा औचित्यहीन हुने र त्यस्ता मालसामान जनस्वास्थ्य वा वातावरणीय दृष्टिले भण्डारण गरी राख्ने वा लिलाम गर्न समेत उपयुक्त नहुने अवस्था भएमा त्यस्तो अवस्थाको यकिन गरी पुरानो मालसामान सम्बन्धित उत्पादक वा आधिकारिक बिक्रेता वा आपूर्तिकर्तालाई फिर्ता दिई सोही प्रकृतिको नयाँ मालसामान सोही उत्पादक वा आधिकारिक बिक्रेता वा आपूर्तिकर्ताबाट सट्टापट्टा गरी लिन सक्नेछ।
उक्त बमोजिम सट्टापट्टा गर्दा त्यस्तो मालसामानको उत्पादक वा आधिकारिक बिक्रेता वा आपूर्तिकर्तासँग पुरानो मालसामानको मूल्याङ्कन प्रस्ताव लिई नयाँ मालसामानको निर्धारित बिक्री मूल्यमा पुरानो मालसामानको मूल्याङ्कित रकम कट्टा गरी खरिद सम्झौता गरी खरिद गर्नु पर्नेछ। यस नियम बमोजिम खरिद गरिने नयाँ मालसामान मान्यता प्राप्त संस्थाबाट गुणस्तर प्रमाणित भएको हुनु पर्नेछ। यस्तो खरिद सम्झौता गर्दा खरिद हुने नयाँ मालसामानको जीवन चक्र पश्चात यस विधि प्रयोग गरी पुनः सट्टापट्टा गर्न सकिने वा नसकिने कुरा खुलाउनु पर्नेछ। सार्वजनिक निकायले यसै बमोजिम खरिद गर्दा पुरानो मालसामान र बजारमा उपलब्ध नयाँ मालसामानको सूची तयार गरी विभागीय प्रमुखबाट स्वीकृति लिएर मात्र खरिद गर्नु पर्नेछ। यो विधि बहुवर्षीय सम्झौता गर्नु पर्ने खरिद कारबाहीमा प्रयोग गर्न सकिने छैन।
११. स्वदेशी बोलपत्रदाताहरू बीच मात्र प्रतिस्पर्धा गराई खरिद गरिने विधि: सार्वजनिक खरिद नियमावली, २०६४ नियम ३१ङ बमोजिम सार्वजनिक निकायले एक चरणको खुला बोलपत्र आह्वान गर्दा दुई करोड रूपैयाँभन्दा बढी र पाँच अर्ब रूपैयाँसम्मको लागत अनुमान भएको निर्माण कार्यको खरिदमा ऐनको अन्तर्राष्ट्रियस्तरको बोलपत्र खोल्ने अवस्था बाहेक राष्ट्रियस्तरको खुला बोलपत्रको माध्यमद्वारा स्वदेशी बोलपत्रदाताहरू बीच मात्र प्रतिस्पर्धा गराई खरिद गर्नु पर्नेछ। यसरी खरिद गर्नु पर्दा प्राविधिक र आर्थिक प्रस्ताव दुई अलग अलग खाममा राखी सिलबन्दी गरी प्रत्येक खामको बाहिर कुन प्रस्ताव हो स्पष्ट रूपले उल्लेख गरी दुवै प्रस्तावलाई अर्को छुट्टै बाहिरी खाममा सिलबन्दी गरी बोलपत्र पेश गर्नु पर्ने व्यहोरा बोलपत्र आह्वानको सूचना र बोलपत्र सम्बन्धी कागजातमा खुलाउनु पर्नेछ। बोलपत्र सम्बन्धी कागजात तयार गर्दा प्राविधिक प्रस्तावको लागि प्राविधिक तथा आर्थिक र वित्तीय क्षमता प्रमाणित गर्ने योग्यताको आधार उल्लेख गर्नु पर्नेछ। प्राविधिक प्रस्ताव खोली परीक्षण गरी सारभूत रूपमा प्रभावग्राही बोलपत्र निर्धारण गर्नु पर्नेछ।
योग्यताको सबै आधारमा सफल हुने बोलपत्र सारभूत रूपमा प्रभावग्राही बोलपत्र मानिनेछ र त्यस्तो सफल सबै बोलपत्रदाताहरूलाई आर्थिक प्रस्ताव खोल्ने स्थान, मिति र समय उल्लेख गरी सो मिति र समयमा उपस्थित हुन कम्तीमा सात दिनको अवधि दिई सूचना गर्नु पर्नेछ। प्राविधिक प्रस्तावको मूल्याङ्कन गर्दा योग्यताको आधारमा असफल हुने बोलपत्रदाताको आर्थिक प्रस्ताव सम्बन्धित बोलपत्रदातालाई फिर्ता गर्नु पर्नेछ। तर विद्युतीय खरिद प्रणालीद्वारा बोलपत्र पेश गर्ने बोलपत्रदाताको आर्थिक प्रस्ताव फिर्ता हुने छैन। सफल बोलपत्रदाताहरूको आर्थिक प्रस्ताव खोली ऐनको आर्थिक तथा विशेष मूल्याङ्कन गरी न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही बोलपत्रको छनौट गर्नु पर्नेछ।
२. परामर्श सेवा खरिद गर्नु पर्दा
क. प्रतिस्पर्धात्मक प्रस्ताव विधि
सार्वजनिक निकायले विस लाख रुपैयाँ भन्दा बढी मुल्यको परामर्श सेवा खरिद गर्न ऐनको दफा ३० बमोजिम कम्तिमा १५ दिनको अवधि दिई राष्ट्रियस्तरको समाचारपत्रमा तोकिए बमोजिमको कुराहरु खुलाई सूचना प्रकाशन गरी आशयपत्र माग गर्नु पर्ने। सामान्यतया १० करोड रुपैया भन्दा बढीको रकमको परामर्श सेवा खरिद गर्नु परेमा अन्तराष्ट्रियस्तरको आशय पत्र माग गर्नु पर्ने। संक्षिप्त सूची तयार भएपछि आशयपत्रदाताहरुलाई कम्तीमा ३० दिनको समय दिई निजहरुबाट प्रस्ताव माग गर्नु पर्ने। सार्वजनिक निकायले विस लाख रुपैयासम्मको रकमको परामर्श सेवा आफ्नो कार्यालयमा तयार गरिएको मौजुदा सूचीमा रहेका परामर्शदाताबाट लिखितरुपमा प्राविधिक र आर्थिक प्रस्ताव माग गरी खरिद गर्न सक्ने। प्रस्ताव माग गर्दा सम्भव भए सम्म ६ वटा र कम्तीमा तीनवटा परामर्शदातालाई प्रस्ताव सम्बन्धी कागजात पठाई प्राविधिक र आर्थिक छुट्टा छुट्टै खाममा माग गर्नु पर्ने।
ख. सोझै खरिद
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४१ (१) ले ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायको अवस्थामा परामर्श सेवा वा अन्य सेवाको हकमा पनि सोझै खरिद गर्न सकिने व्यवस्था गरेको छ।
सामान्यतया पाँच लाख रुपैयासम्म लागत अनुमान भएको परामर्श सेवा खरिद गर्नु पर्दा खरिद सम्बन्धी शर्तहरु पुरा गर्ने प्राविधिक दक्षता वा क्षमता एउटा मात्र परामर्शदातासँग भएमा, सम्बन्धित कामको लागि कुनै विशिष्ट (युनिक) योग्यता भएको खास परामर्शदाताको सेवा तत्काल आवश्यकता भएमा वा साविकको परामर्शदाताबाट नै सेवा लिनु पर्ने अपरिहार्य कारण भएमा तथा पूर्वानुमान गर्न नसकिएको कारणले शुरु सम्झौतामा समावेश नभएको र शुरु सम्झौताबाट अलग गरी सम्पन्न गर्दा प्राविधिक वा आर्थिक कारणले कठिनाई हुने भई तोकिए बमोजिमको सीमा भित्रको अत्यावश्यक परामर्श सेवा खरिद गर्नु परेमा सार्वजनिक निकायमा रहेको मौजुदा सुचीमा सुचीकृत भएका व्यक्ति, फर्म वा कम्पनीवाट कार्यक्षेत्रगत शर्तहरु तयार गरी सो का आधारमा लिखित प्रस्ताव माग गरी घटी प्रस्ताव पेश गर्ने व्यक्ति, फर्म वा कम्पनीलाई छनौट गर्नुपर्दछ।
३. अन्य विधिहरु:
क. विशेष परिस्थितिमा खरिद
सार्वजनिक खरिद ऐन, २०६३ मा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भएतापनि ऐनको दफा ६६ को उपदफा १ अनुसार विशेष परिस्थिति उत्पन्न भई तत्काल खरिद नगर्दा सार्वजनिक निकायलाई थप हानि नोक्सानि हुने अवस्था आई परेमा सार्वजनिक निकायले तत्काल खरिद गर्न वा गराउन सक्नेछ।सार्वजनिक निकायका प्रमुखले विशेष परिस्थिति र तत्काल गर्नु पर्ने खरिद सम्बन्धी विवरणको जानकारी एक तह माथिको अधिकारीलाई दिनु पर्ने।
ख. छुट्टै कार्यविधिबाट खरिद
सार्वजनिक खरिद ऐन, २०६३ मा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६७ अनुसार देहायको अवस्थामा ऐन अनुसारको खरिद प्रक्रिया अपनाउनु नपर्ने तर यसरी निर्णय गर्दा नेपाल सरकारले खरिद गर्नु पर्ने कारण खुलाई तत्सम्बन्धी छुट्टै कार्यविधि समेत निर्धारण गर्नु पर्दछ।
– खरिद ऐन बमोजिमको प्रक्रिया अपनाई सुरक्षा, सामरिक वा प्रतिरक्षा सम्बन्धी खरिद गर्न राष्ट्रिय सुरक्षा वा प्रतिरक्षा सम्बन्धी दृष्टिकोणबाट उपयुक्त नहुने भनी नेपाल सरकारले निर्णय गरेमा वा
– नेपाल सरकार र दातृ पक्ष बीच भएको सम्झौता बमोजिम सो पक्षको खरिद निर्देशिका (प्रोक्योरमेन्ट गाईडलाइन्स) अनुरुप खरिद ंगर्नु परेमा।
ग. गैरसरकारी संस्थावाट
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४६ तथा नियमावली, २०६४ को नियम ९९ बमोजिम जनचेतना सम्बन्धी तालिम, अभिमुखीकरण, सबलीकरण, मुल प्रवाहीकरण जस्ता कार्य गैर सरकारी संस्थाबाट गराउँदा छिटो छरितो, प्रभावकारी र मितव्ययी हुने भएमा सार्वजनिक निकायले गैर सरकारी संस्थाबाट कार्य गराउन सक्नेछ यसका लागि त्यस्तो कामको आवश्यकता, किसिम, समयावधि, कामको गुणस्तर, जनशक्ति, कार्य सञ्चालन विधि सहितको कार्यक्षेत्रगत शर्त र लाग्ने रकमको मोटामोटी अनुमान तयार गर्नु पर्नेछ। सार्वजनिक निकायले दश लाख रुपैयाँसम्मको काम गराउनको लागि त्यस्तो काम गर्र्ने उद्देश्य राखी प्रचलित कानून बमोजिम दर्ता भएको र मौजुदा सूचीमा समावेश भएका गैर सरकारी संस्थालाई कम्तीमा पन्ध्र दिनको अवधि दिई राष्ट्रियस्तर वा स्थानीयस्तरको दैनिक समाचारपत्रमा सूचना प्रकाशन गरी सो संस्थाबाट प्रस्ताव माग गर्नु पर्नेछ। सार्वजनिक निकायले यसरी माग अनुसार पर्न आएका प्रस्तावहरु प्रस्तावदाताको रोहवरमा खोली मुचुल्का तयार गर्नु पर्नेछ। मूल्याङ्कन समितिले कार्यक्षेत्रगत शर्त पूरा गरी न्यूनतम रकम प्रस्ताव गर्ने प्रस्तावदाताको प्रस्ताव स्वीकृतिका लागि सार्वजनिक निकाय समक्ष सिफारिस गर्नु पर्नेछ। उक्तानुसार सिफारिस भएको प्रस्ताव उपयुक्त देखिएमा सार्वजनिक निकायले त्यस्तो प्रस्ताव स्वीकृत गरी सम्बन्धित प्रस्तावदातालाई सम्झौता गर्न आउन मिति खोली सूचना दिनु पर्नेछ र त्यस्तो मितिमा निज उपस्थित भएमा निजसँग सम्झौता गर्नु पर्नेछ। उक्त बमोजिम सूचना दिइएको प्रस्तावदाता सम्झौता गर्न नआएमा निज पछिको कार्यक्षेत्रगत शर्त पूरा गरी सबैभन्दा कम रकम प्रस्ताव गर्ने प्रस्तावदातासँग सम्झौता गर्न सकिनेछ। तर दश लाख रुपैयाँभन्दा बढी लागत अनुमान भएको काम गराउनको लागि नियम ७० बमोजिम खुला रुपमा आशयपत्र माग गरी परामर्श सेवा खरिदको प्रक्रिया अवलम्बन गर्नु पर्नेछ भन्ने व्यवस्था सार्वजनिक खरिद नियमावली, २०६४ नियम ९९ उपनियम ८ मा व्यवस्था गरिएको छ।
४. बोलपत्रका प्रकृया र चरण
खुला बोलपत्र आव्हान गर्दा आवश्यकतानुसार राष्ट्रिय वा अन्तरराष्ट्रिय बोलपत्रको माध्यम हुने छ यसरी बोलपत्रद्वारा खरिद गर्नु पर्दा पूर्व योग्यता निर्धारण गरी वा पूर्व योग्यता निर्धारण नगरी (पश्चात योग्यता) चरणगतरुपमा एक वा दुई चरणमा बोलपत्र आहृवान गर्न सकिने व्यवस्था सार्वजनिक खरिद ऐन, २०६३ को दफा ११ मा गरेको छ। साथै सामान्यतया देहायका अवस्था परेमा दुई चरणको बोलपत्र आहृवान गरीनेछ अन्यथा एक चरणको बोलपत्र आहृवान गरी खरिद कार्य गरीने व्यवस्था सार्वजनिक खरिद ऐन, २०६३ को दफा २८ मा गरेको छ।
– खरिद गरिने मालसामान वा निर्माण कार्य वा सेवाको प्राविधिक पक्ष वा खरिद सम्झौताका शर्तहरु बोलपत्र आहृवान गर्दाका बखत पूर्ण रुपमा यकिन गर्न सम्भव नभएमा, वा
– खरिद गरिने मालसामान, निर्माण कार्य वा सेवाको प्रकृति जटिल भई प्राविधिक पक्ष वा खरिद सम्झौता सम्बन्धी समस्या के कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा र त्यस्ता प्राविधिक पक्ष र सम्झौताको शर्त तथा त्यसबाट हुने फाईदाका सम्बन्धमा बोलपत्रदातासँग छलफल गर्नु परेमा।
– बोलपत्र सम्बन्धी कागजातमा खरिदको उद्देश्य, अपेक्षित कार्य सम्पादन, मोटामोटी स्पेशिफिकेशन, अन्य मोटामोटी विशेषता, बोलपत्रदाताको योग्यता उल्लेख गर्नु पर्ने र
– बोलपत्रदाताले बोलपत्रमा मूल्य खोल्नु नपर्ने, प्राविधिक प्रस्ताव र प्रस्तावित खरिद सम्झौताको शर्तका सम्बन्धमा टिप्पणी मात्र पेश गर्नु पर्ने कुरा उल्लेख गर्नु पर्नेछ।
– प्राप्त बोलपत्रका सम्बन्धमा कुनै वा सवै बोलपत्रदातासँग छलफल गर्न सक्नेछ। छलफल समेतलाई विचार गरी देहाय बमोजिम गर्न सक्नेःः
(क)खरिद सम्बन्धमा पूरा गर्नु पर्ने आधारभूत शर्तहरु (बेसिक रिक्वायरमेन्ट) पूरा गर्न वा न्यूनतम कार्यसम्पादन गर्न वा निर्धारित अवधिभित्र कार्र्य सम्पन्न गर्न नसक्ने वा त्यस्ता शर्तहरु पूरा गर्न वा कार्य सम्पन्न गर्न वा निर्धारित अवधिभित्रै कार्य सम्पन्न गर्नको लागि संशोधन गर्न नसक्ने वा अन्य कुनै कमजोरी भई प्रभावग्राही नभएको बोलपत्र सम्बन्धी प्रस्ताव रद्द गर्ने,
(ख) प्रतिस्पर्धा अभिवृद्धि गर्न प्राविधिक स्पेशिफिकेशन, मूल्याड्ढनको आधार र खरिद सम्झौताको शर्तमा हेरफेर वा सुधार गर्ने,
(ग) बोलपत्रदाताबाट पेश भएका विभिन्न विकल्पहरुको उपयुक्तता निर्धारण गर्न मूल्याड्ढन पद्धति निर्धारण गर्ने।
प्रथम चरणको कार्य समाप्त भएपछि सार्वजनिक निकायले दोस्रो चरणमा बोलपत्र आहृवान गर्नु पर्नेछ। बोलपत्र आहृवान गर्दा बोलपत्र रद्द नभएका बोलपत्रदातालाई परिमार्जित बोलपत्रसम्बन्धी कागजात अनुरुप मूल्य सहितको बोलपत्र पेश गर्न आहृवान गर्नु पर्नेछ।
५. दुई खाम विधिवाट गरीने खरिदको कार्यविधि:
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ज मा दुई खाम विधिवाट गरनिे खरिदको कार्यविधि उल्लेख छ जसअनुसार बोलपत्रदाताको योग्यता आवश्यक पर्ने मालसामान खरिद तथा दुई करोड रुपैयाँभन्दा बढीको निर्माण कार्य गर्नु पर्दा बोलपत्रदाताले प्राविधिक र आर्थिक प्रस्ताव दुई अलग अलग खाममा राखी पेश गर्नुपर्नेछ। यस प्रयोजनका लागि बोलपत्रदाताले दुवै खामको बाहिरी भागमा कसन प्रस्ताव हो देखिने गरी उल्लेख गरी सिलबन्दी गरी अर्को छुट्टै खाममा राखी सो खाम पनि सिलबन्दी गरी अगाडीको भागमा बोलपत्र पेश गर्नेको नाम र ठेगाना, सुचना वा खरिद नं. लगायत बोलपत्र आव्हान सुचना बमोजिमको विवरण र बोलपत्रसाथ संलग्न कागजातको विवरण प्रष्ट देखिने गरी उल्लेख गर्नुपर्दछ। यसरी परेको बोलपत्र नियमानुसार खोली पहिले प्राविधिक प्रस्ताव खोली मुल्यांकन गरी सो मुल्यांकनमा सफल हुने बोलपत्रदाताको सात दिनको सुचना दिई आर्थिक प्रस्ताव खोली नियमानुसार मुल्यांकन गरी सारभुतरुपमा प्रभावग्राही छनौट गर्नुपर्दछ।
अन्त्यमा,
सार्वजनिक खरिद कार्य बाहिर सोचेजस्तो जटिल र बोझिलो अवश्य छैन तर यसको कार्यान्वयनमा हुने अनेक खालका स्वार्थप्रेरीत व्यवहारका कारण यसलाई जटिल बनाइएको हो। खरिद कानुन र प्रक्रियाको उचित प्रयोग नहुनु कानुनी उद्धेश्य वा मनसायलाई गलत व्याख्या गर्नु यसका समस्याहरु हुन। कानुनी प्रक्रियाको पालना मध्ये उचित विधिको छनौट गरी सो को कार्यविधि निश्पक्षरुपमा पालना गर्नु प्रमुख चुनौती रहेको छ। कतिपयमा ज्ञानको अभाव पनि यसको प्रमुख कारण बनेको छ। यसर्थ माथि उल्लखित बिधि र प्रक्रियाको उचित छनौट र पालना हुन सकेमा अधिकाँश सार्वजनिक खरिदलाई निश्पक्ष, मितव्ययी र आदर्श खरिद प्रणालीको विकास हुने अपेक्षा गर्न सकिन्छ।
(प्रस्तुत लेख सार्वजनिक खरिद अनुगमन कार्यालयबाट प्रकाशित खरिद पत्रिकाबाट साभार गएिको)
प्रकाशित :२०८१ आश्विन ९, बुधबार १३:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%