गोपीनाथ मैनाली, रिटायर्ड बट नट टायर्ड !

विरलै हुन्छन्,एकाघरका दाजुभाई नैं निजामती सेवाको उच्च ओहदामा पुगेर अवकाश पाउने तर काभ्रेका रेवती मैनाली र केदारनाथ मैनालीका तीन सन्तान निजामती सेवाको उच्च पद सचिवसम्म बने र अवकाश भए । श्याम,उमेश र गोपीनाथ मैनाली निजामती सेवाबाट अवकाश पाए । यस्तै उनीहरुका काका युवराज सचिव पदबाट रिटायर्ड भएका ।
५८ बर्षे उमेर हद लागेर असार १ गतेबाट अनिवार्य अवकाश पाएका गोपीनाथ मैनाली कानपुर १ काभ्रेपलाञ्चोकामा जन्मिए । १२ सन्तान जन्मिए, ८ छोरा,३ छोरी अहिले जीवित छन् । ५ औं सन्तान हुन गोपी ।
फ्ल्यासब्याक
फ्ल्यासब्याकमा फर्कदैछन् गोपीनाथ । आखिर कस्लाई प्रिय नहोला र आफ्नो बालपान् ? संयुक्त परिवार भएको हुँदा साथीसंगी खोज्न टाढा गइएरहनु परेन् । बाल्यकाल रोशी वरपर गाईबस्तु चराएर,खेतीपाती,अर्मपर्म,खेलेरै बिताए । बुवा आमाको दुख नजिकबाट छामे,अनुभव गरे । आमाको अजंगको पीडाको पहाड बोकेर हिडेको देख्दा उनी एक्लै धेरैपटक छेको लागेर रोएका छन् ।
रोशी खोलादेखि कानपुरसम्मको ठाडो उकालो, उबडखावड भूधरातल, भिरपाखा र बुट्यान यिनै प्रकृतिसँग खेल्दै संघर्ष गर्दै हुर्किए ।
कखरा गाउँकै पाठशालाबाट प्रारम्भ भयो । त्यहाँ गुरुले सबै विद्यार्थीलाई एउटै विद्यालयमा पढाउनुहुन्थ्यो, ५ कक्षासम्म ।
समाजसेवी र अगुवा केदारनाथ मैनाली (उमेशका पिता)ले विद्यालय खोल्नुभयो । जर्नादन नेपाल,उमेश मैनाली,श्याम मैनाली,नारायण मैनाली, एमालेका नेता लक्ष्मण पौडेल लगायत गुरुबाट ज्ञानको उज्यालो प्रकाश पाए ।
लुटेरा र प्रण
पहाडको पाखो खोस्रिएर,पसिना बगाएर आएको अनाजले उनको परिवारलाई खान लगाउन पुगिरहेकै थियो तर उनका खेतहरु लुटियो । खेत लुट्ने मान्छेहरु देख्दा उनको मनमा एकै पटक डर, क्रोध र बदलाको भावना जाग्थ्यो तर अबला बालक केही गर्न सक्दैनथें ।
मनको कुनामा लाग्थ्यो एक दिन प्रशासक बन्छु,सीडीयो बन्छु र यस्ता लुटाहाहरुलाई ठीक पार्छु । उनले आफ्नो प्राणप्यारी आमालाई भविष्यको योजना र सपना सुनाएर पुलकित त पार्दथें ।
तर उनी सफलताको सिढि चढ्दै गर्दा त्यो सफलता हेर्ने आमा संसार छाडेर बिदा भइसकेकी थिईन् ।
गाउँमा ६ कक्षाभन्दा माथिको विद्यालय थिएन् । सातकक्षा माथिको अध्ययन गर्नका लागि दैनिक ८ माइल दुरी पार गरेर सस्र्युखर्क जनचेतना निमाविमा भर्ना भए । जम्मा ६ महिना पढे त्यहाँ, दोस्रो भए । प्रथम तुलसी थपलिया,उहाँ अहिले शिक्षा मन्त्रालयमा सह सचिवको रुपमा कार्यरत हुनुहुन्छ ।
दुखका दिन र रंगहरु फेरिए । उनका दाजुहरु उमेश मैनालीले सुब्बामा नाम निकाल्नुभएको थियो,श्याम शिक्षक । काका शशिकान्त अफिसर तह,उमेश पनि दाजुहरुकै साथ लागेर काठमाडौं खाल्डो छिरे र आठ कक्षामा भर्ना भए । १७ बर्षको उमेरमा पद्यमोदय स्कूलबाट फलामे ढोका मानिने एसएलसी तह पार लगाए । एम.ए.(अर्थशास्त्र), एम पी. ए (त्रिवि), एम. पी. ए (पुर्वाञ्चल) वि.एल, बीबीए, बिएड का साथै वीत्तिय व्यवस्थापनमा नेदरल्याण्ड्स र अन्तर्राष्ट्रिय कर विषयमा जापानबाट डिप्लोमासहितको फराकिलो शैक्षिक योग्यता हासिल गरेका छन् मैनालीले ।
जागिरको यात्रा
काका शशीकान्त,दाजुहरु केशव, श्याम र उमेश निजामती सेवामा । उहाँका साथीसंगी पनि कर्मचारी । चिया, खाजा बनाएर दाजु, काकाका साथीहरुलाई दिन्थे । उनीहरुका कुराकानी केबल पढाइ, अफिस र जागिरका सेरोफेरोमा हुन्थ्यो । दाजु,काकाहरुझैं निजामती सेवातिरै लाग्ने रहर थियो तर बाधक बनेर उभियो उमेर । होम ट्युसन पढाउने कर्म गर्न थाले जस्ले आफ्नो पकेट खर्च, पढाइ खर्च जुटाउन थालेँ । दाजुहरुको प्रमोसन भएपछि जिल्लातिर खटिनु भएपछि दुखका पहाडसँग एक्लै संघर्ष गर्न थाले उनी ।
अर्काे बर्ष भाद्र महिनामा खरिदार,मुखिया,केही संस्थानहरुले विज्ञापन खोले । उनी एक बसन्त पार गरी १८ मा टेकिसकेका थिए । खुलेका जति सबै फाराम भरे,परीक्षामा भिडे । पढाईमा अब्बल थिए गोपीनाथ,काकाको पढ्ने शैली चाहिँ आवाज निकालेर पढ्नुपर्नेथ्यो जसले गर्दा मलाई हाइस्कुलमा पढ्दा नै सामान्य ज्ञान, कानून र व्यवस्थापनका केही कुरामा जानकारी भैसकेको थियो । खरिदार, मुखिया,विद्युत प्राधिकरण, दुग्ध विकास संस्थानमा सहायक पास भएँ तर खरिदारमा नियुक्ति थिए । पहिलो पदस्थापन भयो सञ्चारमा,रेडियो नेपालमा एकसिट खाली थियो । गोपीनाथ भन्छन्, मलाई दिइएन, सञ्चारमन्त्री फत्तेसिंह थारुका आफन्तलाई त्यहाँ पठाइयो र मलाई हुलाकमा ।
जागिरे जीवनका शुरुदेखि अन्त्यसम्म पेलानमा परेका कर्मचारी हुन गोपी । हुलाकमा रमाएर मेल सेन्टरमा काम गरिरहेका थिए । सुनाए, केही महिनापछि दरवार निकट मानिस पोष्ट मास्टरले भनेजसरी गलत काम गर्न नमान्दा, चाकरी नगर्दा धेरै दुःख दिए । मलाई काठमाडौंबाट पोखरा, पोखराबाट कपिलवस्तु सरुवा गरियो ।

Advertisement 1


त्यहँँबाट नापी महाशाखामा तानियो । त्यसपछि पढाइ र जागीरलाई साथै लगेँ । नासु एकै विज्ञापनमा पोखरा र काठमार्डौबाट जाँच दिएँ, पास गरेँ । काठमाडौमा, हवाइ विभाग, त्रिभुवन विमानस्थलको भिभिभीइपी लाउन्जमा पोष्टिङ भयो । सार्क सम्मेलन आउँदै थियो । दिनरात खटेर काम गरे । तयारी हेर्न र रिहर्सलका लागि राजा बिरेन्द्र नै आए । मन्त्री, प्रधानमन्त्री, परराष्ट मन्त्री, सचिव, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सचिव सबैको वैठक बस्यो ।
राजाले तत्कालीन विभागीय मन्त्रीलाई गालीजस्ता केही शव्द बोले, मैले सुनेँ । ठूलालाई गरेको गाली सुन्दा म धेरै पेलिएँ । बिना कसुर धेरै गाली गरे, उपसचिवले पनि मन्त्रीको पक्ष लागेर मलाई पेले, त्यस पछि मैले राजीनामा दिएँ । म फेरि त्यहाँ फर्केर गइनँ ।
महानिर्देशक ललितविक्रम शाहले धेरै फकाउनु भयो गोपीनाथले ती दुखद दिन फेरि पनि स्मरण गरे । महानिर्देशकले तिम्रो राजीनामा स्वीकृत गर्दिन आउ भन्नु भयो, तर मेरो आत्मसम्मानले जान मानेन । राजीनामा स्वीकृत भयो ।
त्यसपछि फेरि लोकसेवा नै भिडें । प्रहरी निरीक्षक, प्रशासन सेवाको शाखा अधिकृत र परराष्ट्र समूहको शाखा अधिकृत जाँच दिए । सबैतिर पास भएँ । अन्तर्वार्तामा प्रशासन रोजी शाखा अधिकृत भएँ । जागिरबिना बस्नु परेन । तर यसबीच धेरै पीडा सहनु पर्यो । गाउँले केटो टेक्ने समाउने ठाउँ थिएन, स्वाभिमान थियो, चाकरी चाप्लुसी गरिँन । दुःख हण्डर पाएँ । अधिकृत पछि पनि विभिन्न जिल्लामा परियो । जहाँ सरुवा नहोस् भन्ने चाहना राख्थेँ, त्यही सरुवा हुन्थ्यो । उपसचिवमा त्यस्तै भयो, सहसचिवमा पनि त्यस्तै भयो । सचिवमा त्यस्तै भयो । नियतीको खेल यस्तै हो भन्ने सम्झेँ । काम नै कर्मचारीको मूल आचरण हो भनेर आफ्नो मन बुझाए ।
जहाँजहाँ पदस्थापन भयो, काममै रमाएँ । केही सुधारको काम पनि गरेको छु जस्तो लाग्छ । अरुले कसरी हेरेका छन्, तर निरन्तर राष्ट्रसेवा गर्न र निजामती सेवाको छवि सुधार्न लागेँ भन्ने नै लाग्छ ।
संघर्ष र स्वाभिमानमा रमाएँ, अरु धेरै विदेश गए, पढे । पुरस्कार र तक्मा पटकपटक पाए । मेरो भागमा पाखा पखेरा, हिमाल तराई पहाड सबैतिरको जीवनशैली, दुःखसुख र सँस्कार र सँंस्कृति बुझ्ने पर्यो । यो अनुभव र अनुभूतिले राष्ट्रसेवा गर्ने भावना झनै गहन भयो । त्यही अनुभुती र जीवन सँस्कृतिलाई जोडेर साहित्य पनि लेखेँ ।

चार बर्षेमा आठ पटक सरुवा
०७३ सालमा सचिवमा बढुवा भए मैनाली,पहिलो पोस्टिङ क्षेत्रीय प्रशासन कार्यालय पोखरामा त्यहाँबाट एक महनिामै निर्वाचन आयोगमा तानियो । ९ महिना आयोगमा रहे । त्यहाँ पनि आयुक्तहरुसँग ट्युनिग मिलेन,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ४ महिना जगेडामा थन्काइयो । सहकारी तथा गरिबी निवारण मन्त्रालयमा २१ महिना, महालेखा नियन्त्रक कार्यालय,५ महिना शिक्षा मन्त्रालयमा बिताएका उनलाई त्यहाँबाट गत फागुनमा उपराष्ट्रपतिको कार्यालयमा पठाइयो । तीन महिना त्यहाँ बिताएर उनी १ असारदेखि अवकास लिँदैछन् ।
सुधारका यत्न
सानैमा साझा पत्रिकाहरुमा साझा अभियानका बारेमा पढ्थेँ । पञ्चायतमा सहकारीलाई साझा अभियानका रुपमा बुझिन्थ्यो । त्यो पञ्चायतको आर्थिक दर्शन पनि थियो । जव म अर्थशास्त्रमा एम ए पढ्न लागेँ, एक विषय को अपरेटिभ इकोनोमी पढेँ । मेरो शोधपत्र नै इलाम बरबोटेको सहकारी अभियानमा केन्द्रित रह्यो । मुलुकमा प्रजातन्त्र आएपछि उदारीकरणको नीति अवलम्बन पछि सहकारीलाई महत्व दिइयो । सहकारी बोर्ड स्थापना, सहकारी ऐन, २०४८ कार्यान्वयन भयो । पछि मैनाली परिवारहरु मिलेर शुभकालिका सहकारी पनि खोलियो । राष्ट्रिय योजना आयोगमा रहँदा पनि सहकारीलाई राष्ट्रिय योजनामा कस्तो स्थान दिने र कति भुमिका खेल्न सक्छ भन्ने विषयमा तेह्रौ र चौधौं योजनामा केही काम गरियो । त्यसैले सहकारीका विषयमा धेर थोर जानकार थिएँ ।
सचिव भए पछि सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवको रुपमा पदस्थापन भयो । २१ महिना बिताए ।
त्यहाँ रहँदा सहकारी अभियानलाई नेपालको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको अभियान बनाउन खुवै लाग्यौँ । परिवर्तित सन्दर्भ अनुरुपको सहकारी ऐन, २०७४ ल्यायौं । सहकारी अभियान र मन्त्रालयबीचको सम्बन्धलाई हार्दिक बनाउन भूमिका खेलियो । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति बनाइ ११ वटा समस्याग्रस्त सहकारीलाई व्यवस्थापन गर्ने काम गरियो । सहकारी ऐनलाई कार्यान्वयन गर्ने सहकारी नियमावली, २०७५ तर्जुमामा विशेष सक्रिय रहेँ । सहकारी नियमन व्यवस्था, सहकारी र सम्पत्ति शुद्धीकरण निवारण, सहकारी सूचना व्यवस्थापन प्रणाली स्थापनामा पनि काम गरियो । सहकारी प्रवद्र्धन कोष स्थापना, सहकारीको लेखाखाता सूची, लेखामान, सहकारी पाठ्यक्रम समितिमा काम गरेँ ।

Advertisement 2


त्यहाँ रहँदा सहकारी महासंघका तत्कालीन पदाधिकारी र नेफस्कुन, कृषि, बहुउद्देश्यीय लगायत विषयगत सहकारी केन्द्रीय संघका पदाधिकारी, सहकारी अभियन्तासँग सहकार्य गरेँ । मर्न लागेको साझा प्रकाशन लाई बचाइयो । सहकारीलाई तहगत सरकारमा हस्तान्तरण, सहकारी दिग्दर्शन र नमूना कानून जारी गरी संघीयता कार्यान्वयनको पहिला क्षेत्र सहकारी बनाइयो । अब यी काम संस्थागत हुन लागेकोमा खुसी लागेको छ । शिक्षा मन्त्रालयमा हाजिर हुनासाथ मलाई चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीसँग वार्ता गर्ने जिम्मेवारी दिइयो । दिनरात लगातार वार्तापछि यसको समाधान गर्न सक्दा अति नै खुसी भएँ । त्यो काम पूरा नभएको भए मेरो मन र मेरो करिअर दुबैमा लाई धक्का लाग्ने थियो ।

साहित्य यात्रा र सम्मान

Advertisement 3


अहिलेसम्म ९ वटा पुस्तक प्रकाशन गरिसकेको छु । फुटकर लेखरचना थुप्रै पत्रपत्रिका र अनलाइनमा प्रकाशित भैरहन्छन् ।
यो अवधिमा सुप्रवल जनसेवाश्री (२०७५), नेपाल सरकारबाट २०७६,७७ को राष्ट्रिय प्रतिभा (बाग्मती प्रदेश) पुरस्कार तथा सम्मान, नित्यराज प्रज्ञा प्रतिष्ठानबाट २०७६ का लागि महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार र सम्मान, राष्ट्रसंघीय प्रणालीबाट विशेष प्रशंसा (सन् २०१३), नेपाल बचत तथा ऋण सहकारी केद्रीय संघ (नेफ्स्कून) बाट सहकारी क्षेत्रमा गरेको योगदानका लागि सम्मान (२०७६), म्याग्दी सहकारीबाट सहकारी क्षेत्रमा गरेको योगदानका लागि कदर पत्र (२०७६),काभ्रे सेवा समाज,मैनाली समाज नेपालबाट सम्मानित (२०७४) मैनालीका विषयमा अमिता चन्दले त्रिभुवन विश्व विद्यालयबाट शोध लेखन समेत गर्नुभएको छ ।
सुशासनका एउटा खम्बा गोपीनाथ मैनाली निजामती सेवाबाट त अवकाश पाउनुभएको छ ।
निवृत्त पछि उहाँ सक्रिय लेखनमै जीवन बिताउनु हुनेछ । गोपीनाथ मैनाली रिटायर्ड बट नट टायर्ड ।
प्रस्तुति :- महेश्वर गजुरेल

 

प्रकाशित :२०७८ जेष्ठ ३१, सोमबार १४:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry