लागुऔषधको दलदलबाट कसरी उम्केलान् युवा?

गतवर्ष लमजुङमा मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गरेर हत्या गरेको समाचार बाहिरियो। ५७ वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले छोरा सोमबहादुर तामाङको हत्या गरे। यो एक उदाहरण हो। रक्सी जस्तै लागु औषधको प्रयोगबाट दैनिक नेपालमा हत्या गर्ने, आफैँ आत्महत्या गर्ने सिलसिला रोकिएको छैन। मदिरा सेवनका कारण विश्वभर बर्सेनी करिब २६ लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (WHO) को प्रतिवेदनले देखाएको छ। यो त भयो रक्सीको कुरा। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वमा ३ करोड ५० लाख भन्दा बढी नागरिकहरू लागुऔषधको लतमा छन् भने २८ करोड भन्दा बढी व्यक्तिले विभिन्नरूपमा साइकोएक्टिभ ड्रग्स सेवन गर्ने गर्छन्।
Advertisement 1
विश्वनै लागुऔषधको दलदलमा फँसिरहेको अवस्थामा नेपाल पनि यस कुराबाट अछुतो रहन सकेको छैन। नेपाल प्रहरीले केही समय अगाडि उल्लेख गरेको तथ्यांक मान्ने हो भने नेपालमा पछिल्ला ५ वर्षमा लागुऔषधमा संग्लन करिब २३ हजार भन्दा बढी युवाहरू पक्राउ परे। यही अवधीमा मुद्दामात्र करिब १८ हजार भन्दा बढी दर्ता भएको देखिन्छ। नेपालमा हालसम्म लागुऔषधप्रयोगकर्ताको संख्या लगभग १५६,८२१ रहेको अनुमान छ। गृह मन्त्रालयले सन् २०२० मा गरेको “Nepal Drug Users Survey‑2020” अनुसार, नेपालको लागू औषध प्रयोगकर्ताको संख्या १२०,४२४ रहेको उल्लेख गरेको थियो।
उक्त प्रतिवेदनलाई आधार मान्ने हो भने नेपालमा वार्षिक ५.०६ प्रतिशतको वृद्धिदर कायम राख्दा अनुमानित प्रयोगकर्ताको संख्या १,५६,८२१ हुन आउँछ। लागुऔषधको प्रयोगकर्तामा ९३.३ प्रतिशत पुरूष र ६.७ प्रतिशत महिला रहेका छन्। युवा वर्गमात्रै लगभग ६९.५प्रतिशत रहेको छ। नेपालमा लागुऔषधको बेचविखन र प्रयोगले आर्थिक तथा सामाजिक विचलनहरू बढ्दै गएका छन्। यसलाई कतिपयले गम्भीर सामाजिक समस्याका रूपमा अर्थ्याउन थालेका छन्।
Advertisement 2
प्रहरीले वर्षमै हजारौँलाई पक्राउ गरी मुद्दा चलाउँछ तर पनि लागुऔषध प्रयोग र ओसारपसारमा कमी आउन सकेको छैन। बरु उल्टै नेपाल ट्रान्जिट बन्ने डर बढ्दो छ, जसले मुलुकसामु ठूलो चुनौती खडा हुन पुगेको छ। नेपालमा लागुऔषधको समस्या सन् १९६० को दशकदेखि हिप्पी संस्कृतिको प्रभावसँगै बढ्न थालेको हो। त्यो समयदेखि नै लागुऔषधको ओसारपसार र प्रयोग व्यापक बन्दै गयो।
सुरुवातमा गाँजा, भाङ, धतुरो जस्ता परम्परागत पदार्थ सीमित रूपमा प्रयोग हुने भए पनि तर पछिल्लो समय हेरोइन, अफिम, चरेस, कोकिन जस्ता कडा लागुऔषधको प्रयोग बढेका छन्।
यो पक्राउमा संग्लन अधिकांश युवाहरू २०–३५ वर्ष उमेर समूहका रहेका छन्। युवा वर्गमा लागुऔषधको समस्याले जरा गाड्दै गएको कुरा अझ चिन्ताजनक रहेको छ। नेपालजस्तो विकासशिल मुलुकमा युवाहरू लागुऔषधको दलदलमा फस्नु एक जटिल समस्या हो।
Advertisement 3
अचेल नेपाल प्रहरीले दैनिक करिब १५ देखि २० जना युवाहरूलाई लागुऔषधकै कारण पक्राउ गर्ने गरेको समाचार बाहिरिरहेका छन्। देशको मेरूदण्डका रूपमा रहेका युवाहरू यसरी लागुऔषधको कुलतमा फस्नु देशका लागि एक जटिल समस्या हो। युवाहरू लागुऔषधकै कारण शारीरिक, मानसिक, र सामाजिक जीवनमा तहसनहस बनिरहेका छन्। हामीले युवाहरूलाई लागुऔषधको नसाबाट बाहिर निकाल्न नसके यसले दिर्घकालमा नेपाली समाजलाई असर पर्ने देखिन्छ।
युवाहरूमा लागुऔषधको संलग्नताबारे विभिन्न कारण हुन् सक्छन्। तर मानसिक तनाव र देखासिकीले नै गर्दा युवाहरू लागुऔषधको दलदलमा फसिरहेका छन्। मनोविद्हरूका अनुसार परिवारमा अभिभावकहरूको अपेक्षा, साथीहरूको दबाब, र सामाजिक सञ्जालको प्रभावले युवाहरूलाई मानसिक तनावमा रहेका छन्। उनीहरू यो तनावलाई व्यवस्थापन गर्न लागुऔषधको सहारा लिने गरेका छन्। जब किशोरावस्थामा जीवन अगाडि बढ्छ। यो उमेरमा नयाँ कुरा जान्ने र अनुभव भोग गर्ने तलतल सुरू हुन्छ। नयाँ कुरा सिक्ने र अनुभव गर्ने चाहना र सहि मार्गदर्शन नपाउँदा उनीहरू लागुऔषधको बाटोमा हिँड्न सक्छन्। लागुऔषधको बारेमा बन्ने हिरोइज्मवाला सिनेमाका कारण पनि लागुऔषधको प्रयोग गरेर सिनेकाको जस्तै हिरोगिरी बन्न सकिन्छ भन्ने गलत बुझाइले पनि कतिपयलाई यसतर्फ आकर्षित गरेको हामीले देखेका छौँ।
सुरूमा केवल मनोरञ्जन, त्यसपछि लतको परिणामले अन्तत एउटा लती बन्न थाल्छ। लागुऔषधको सजिलो उपलब्धताले पनि नेपाली समाजमा यसतर्फ युवाहरू आकर्षित भएका छन्। नेपालमा खुला सिमाना र कमजोर नियमनका कारण लागुऔषधको तस्करी र बिक्रीवितरण सजिलै हुने गरेको हामीले सुन्दै आएका छौँ। सहरका गल्लीहरूमा विभिन्न किसिमका लागुऔषधको कारोबार हुने गरेको तथ्यले पनि यो कुरालाई पुष्टि गर्छ। बेरोजगारी र आर्थिक समस्याले पनि युवाहरूलाई लागुऔषधको प्रयोग बढ्दै गएको छ। रोजगारीका अवसरहरू सीमित हुनु, आफ्नो भविष्यप्रति निराशा महसुस गर्नु, पारिवारिक तनाव र आर्थिक जटिलताका कारण युवाहरू यसतर्फ आकर्षित हुन थालेका छन्।
लागुऔषधको सेवनले युवाहरूको शारीरिक स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ। गाँजा, कोकिन, हेरोइन, वा अन्य नशालु पदार्थको नियमित प्रयोगले मस्तिष्क, फोक्सो, मुटु, र कलेजोमा क्षति पुर्याउने चिकित्सकहरू बताउँछन्। हेरोइनको लत लागेका व्यक्तिहरूमा रक्तनलीहरूमा समस्या, सङ्क्रमण, र एचआईभी जस्ता रोगहरूको जोखिम बढ्ने चिकित्सहरूको दाबी छ।
लागुऔषधको प्रयोगले प्रजनन प्रणालीमा पनि गम्भीर असर पुर्याउने देखिन्छ। लागुऔषधले डिप्रेसन, चिन्ता, र मानसिक रोगहरू बढ्छ। लागुऔषधले मस्तिष्कको सन्तुलन बिगार्दा यसले आत्महत्याको विचार, हिंसात्मक व्यवहार, र मनोवैज्ञानिक समस्याहरू देखा पर्दछन्।
तपाईंहरूले याद नै गर्नु भएको होला लागुऔषध प्रयोगकर्ताहरू सामाजिक र पारिवारिक सम्बन्धमा तेति रूची राख्दैनन्। उनीहरू परिवारलाई दुश्मन ठान्दछन्। परिवारमा झगडा उनीहरूको दैनिकी बन्दछ। समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण पनि सम्मानजनक हुँदैन। लागुऔषधको दुरुपयोग रोक्न सचेतना र शिक्षा आजको मुख्य समाधानको उपाय हुन सक्छ। स्कूल, कलेज, र समुदायमा लागुऔषधको हानिकारक प्रभावबारे जानकारी दिने कार्यक्रमहरू सञ्चालन गर्न जरूरी छ।
लागुऔषधको तस्करी र बिक्रीवितरण रोक्न कडा कानुनको आज आवश्यक छ। प्रहरी र प्रशासनलाई लागुऔषधको कारोबार नियन्त्रण गर्न थप स्रोत र प्रशिक्षण प्रदान गर्नुपर्ने प्रहरी अधिकारीनै बताउँछन् । ड्रग्स अर्थात औषधि आफैँमा खराब चिज होइन्। ड्रग्सले नै मान्छेको जीवन बचाउँछ। तर, यही ड्रग्सको प्रयोग अवैध रूपमा प्रयोग गर्दा जीवन तहसनहस हुने गरेको हो।
लागुऔषधको प्रयोगले व्यक्ति स्वयंलाई मात्र नभएर, परिवार, समाज, राजनीति, राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गरिरहेको छ। यसैलाई मध्येनजर गर्दै सरकारले लागुऔषध प्रयोग र नियन्त्रण गर्न सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ। लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत छुट्टै विभागको स्थापना गर्नेछ। देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठूलो संख्यामा लागुऔषधको दुर्व्यसनी, भण्डारण, ओसारपसार गर्नेहरू रहेको तथ्यांकले बताउँछ।