आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ गते गर्ने सरकारको निर्णय
सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन दुई महिना पर सारेको छ । आगामी २४ असोजका लागि तय भएको निर्वाचनको मिति दुई महिना पर धकेलेर मङ्सिर २७ का लागि तय गरिएको हो । बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजिक गर्दै सरकार प्रवक्ता प्रदीप ज्ञवालीले आगामी मंसिर २७ गते निर्वाचन गर्ने गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत् श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिएका हुन्।
Advertisement 1
यसअघि गत सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए।
यसअघि सरकारद्वारा घोषित समयावधिभित्रै निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सबै तयारी पुरा गरी सकेको भए पनि ट्रेड युनियनकर्मीहरूकै अनेक गुट उपगुटको खिचातानीका कारण कोरोना सङ्क्रमणलाई देखाउँदै स्थगित गर्ने निर्णयसम्म पुगेको थियो । तर निर्वाचन स्थगित गर्ने कानुनी आधार नभेटिएपछि थप सङ्कट उत्पन्न हुन गई सरकारलाई नै अफ्ठेरोमा पार्ने अवस्था सिर्जना भएको थियो ।