रुपन्देहीका सबै सुरक्षा प्रमुख हेरफेर
रुपन्देही जिल्लाका सबै सुरक्षा प्रमुख सरुवा भएका छन् । गृह मन्त्रालयले एक साथ त्यहाँका प्रमुख जिल्ला अधिकारी,नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु हेरफेर गरेको हो । उनीहरु सबैको सरुवा हुनुको पछाडि अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक कोरिडोर शिलान्यास गर्ने क्रममा भएको मोतीपुर झडप काण्डलाई कारक मानिएको छ । पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई त्यहाँका स्थानीयले लखेटेका थिए । औद्योगिक कोरिडोर शिलान्यास गर्न मोतीपुर पुगेका अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई स्थानीयले लखेटेको विषयमा प्रशासनिक ल्याकिङ भएको भन्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई पर्सा पठाइएको छ भने त्यहाँ अस्मान तामाङलाई खटाइएको छ ।
यस्तै प्रमुख जिल्ला अधिकारीसँगै सुरक्षा प्रमुखहरु पनि काठमाडौँ तानिएका छन् । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेल र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक भरत खनियालाई काठमाडौं तानिएको हो ।
खनियाँ त्यहाँ गएको दुई महिना मात्र भएको छ भने पोखरेलको पनि धेरै भएको छैन । सीडीओ रुपन्देही गएको सात महिना मात्र भएको छ । सामान्यतयाः सीडीओलाई कम्तिमा एक वर्ष जिल्लामा राख्ने प्रचलन छ ।