भ्रष्टाचारमा पूर्व उपमेयरसहित नौ जनाको मिलेमतो
हुँदै नभएको कालोपत्रे देखाएर झन्डै सवा दुई लाख रुपैयाँ सरकारलाई हानी नोक्सानी पुर्याएको आरोपमा ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
Advertisement 1
सडक कालोपत्र निर्माणमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाइ भुक्तानी गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा अनियमितता भएको पाइएको हो । आयोगले रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सनिकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्धारिकाप्रसाद दाहाल, इञ्जिनियर देवेन्द्रनारायण चौधरी, सवइञ्जिनियर हर्षलाल चौधरीविरुद्ध दुई लाख १२ हजार ७३ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
मिलिभगतमा दुई लाख १२ हजार ७३ रुपैयाँ ५८ पैसाको झुट्टा बिल बनाई कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी कम्पनीलाई भुक्तानी दिएको आयोगले जनाएको छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेकोको आरोपमा न्यौपाने, दाहाल र चौधरी द्वयलाई दुई लाख १२ हजार ७३ रुपैयाँ ५८ पैसा बिगो कायम गरी जरिवाना र कैद सजायको माग दावी लिएको छ ।