नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३३ अर्ब नाघ्ने

काठमाडौं। नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांशसहित कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

Advertisement 1

बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट साधारण शेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो। सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि आठ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ।

बैंकका अनुसार बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुग्नेछ। संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफा निर्विरोध निर्वाचित भएका छन्।

Advertisement 2

एक वर्षमा ७ अर्ब ९१ करोड खुद नाफा

नबिल बैंकले आर्थिक वर्ष २०८२÷८३ मा ७ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ। बैंकको निक्षेप दायित्व अघिल्लो आर्थिक वर्षको तुलनामा ६९ अर्ब ६७ करोड रुपैयाँ अर्थात् १३.०६ प्रतिशतले वृद्धि भई ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

Advertisement 3

त्यसैगरी, बैंकको कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड रुपैयाँ अर्थात् १२.१५ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल वासलातको आकार पनि १५.३८ प्रतिशतले वृद्धि भई ७ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

संस्थागत सुशासन र डिजिटल बैंकिङमा जोड

साधारणसभामा अध्यक्ष चौधरीले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए। उनले बैंकले शेयरधनी, ग्राहक, कर्मचारी, नियामक निकाय तथा अन्य सरोकारवालाको अधिकार र चासोलाई सम्मान गर्दै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गरे।

बैंकले स्थापनाकालको तुलनामा चुक्ता पुँजी ९६० गुणाले वृद्धि भएको जनाएको छ। चार दशकभन्दा लामो समयदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिलले पछिल्लो समय दिगो बैंकिङ र डिजिटल प्रविधिमा लगानी विस्तार गरिरहेको छ।

बैंकले डिजिटल बैंकिङ सेवाका लागि ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ भने सन् २०३० सम्म कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा तयार बैंक बन्ने लक्ष्य अघि सारेको छ। साथै, बैंकले आफ्नो भिजन तथा मिसनलाई परिमार्जन गर्दै ट्रष्ट, ट्रान्सपरेन्सी, ट्यालेन्ट, टेक्नोलोजी र ट्रान्सफरमेसन गरी पाँच ‘टी’ मा आधारित अवधारणालाई अघि बढाएको छ।

२८ लाखभन्दा बढी ग्राहकलाई सेवा

नबिल बैंकले देशभर २६२ शाखा र ३१६ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार २८ लाखभन्दा बढी ग्राहकले यसका विभिन्न बैंकिङ सेवा उपयोग गरिरहेका छन्।

साधारणसभाको उद्घाटन कार्यक्रममा मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको थियो। बैंकले साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी, नियामक निकाय, ग्राहक, कर्मचारी तथा अन्य सम्बद्ध पक्षप्रति आभार व्यक्त गरेको छ।

 

प्रकाशित :२०८३ आश्विन २३, शुक्रबार ०७:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम