अध्यागमन अधिकृत खड्कालाई १ करोड बुझाएँ, एकैपटकमा ६६ जना पठाएँ

नक्कली कागजात तयार गरेर सेटिङमा भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन विभागका ९ कर्मचारी सहित २२ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका बहालवाला ९ जना अधिकृतसहित २२ जना विरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो।

Advertisement 1

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता समेत रहेका जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले बिहीबार लिखत कीर्ते र संगठित अपराधमा मुद्दा दर्ता गराएका हुन् । जिल्ला न्यायाधिवक्ता अर्यालले पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काको सम्पत्ति लगायतमा थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लेखि पठाउने निर्णयसमेत भएको बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौँले दिएको रायसहितको प्रतिवेदनमा त्रिभुवन विमानस्थलमा कार्यरत अध्यागमन अधिकृतहरू नरवीर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो तथा पहिले अध्यागमन कार्यालयमा कार्यरत रही हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत शाखा अधिकृत तारा बहादुर कुँवरलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न प्रतिवेदन दिएको थियो ।

Advertisement 2

सेटिङमा भिजिट भिसामार्फत मान्छे पठाएबापत २ लाख रुपैयाँ बुझिसकेको अवस्थामा अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरिएको भए पनि अन्य अध्यागमन अधिकृतहरू भने सबै फरार नै रहेका छन् । नरवीर खड्काकै पोल बयानका आधारमा अन्य अध्यागमन अधिकृतहरूले समेत भिजिट भिसाको सेटिङ गरी कमिसन लिने गरेको पाइएपछि उनीहरुविरुद्ध समेत मुद्दा दायर भएको हो । त्यसबाहेक भिजिट भिसामा सेटिङ गर्ने, नक्कली कागजात तयार पार्ने र आफ्नो नक्कली कागजात तयारी पारी विदेश जान खोज्ने मानिसहरु समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको हो ।

विमानस्थल अध्यागमन कार्यालयका पूर्व अधिकृतहरु ताराबहादुर कुँवर, अध्यागमन कार्यालयमा कार्यरत अधिकृतहरु कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो विरुद्ध मुद्दा दायर भए पनि उनीहरु सबै फरार छन्। यस्तै सिनामंगलको होटल बाल्टिक इनका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का, बाराको सिमराकी २३ वर्षीया कौशिला मगर, सोलुखुम्बु घर भई मुलपानी बस्ने ४० वर्षीया लक्ष्मी राई र सिन्धुलीको कमलामाई नगरपालिकाकी ३४ वर्षीया रिता दमाई विरुद्ध पनि मुद्दा चलाइएको छ। उनीहरु पनि फरार छन्।

Advertisement 3

हाल प्रतिवादी बनाइएका सरोज कुमार यादवको बयानका आधारमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत नरवीर खड्का पक्राउ परेका थिए । उनै नरवीरको बयानका आधारमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङका सालो नाता पर्ने पदम लामासमेत पक्राउ परेका थिए । नरवीरलाई सेटिङमा सहयोग गरेबापतको रकम दिने काम पदम लामाले नै गरेको पाइएको छ । सोही प्रकरणमा पक्राउ परेका पदम लामाले नरवीरलाई हालसम्म १ करोड रुपैयाँ जति दिएको र एकैपटक २६ लाख ४० हजार दिएको बयान दिएका छन् ।

पक्राउ परेलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा मौकाको बयान गर्दा पदमले हालसम्म १ करोड रुपैयाँ नरवीरलाई घुसबापत दिइसकेको र एकैपटकमा २६ लाखभन्दा बढी रकम दिएको बयान दिएका हुन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत नरवीर खड्काले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको भिडियो बयान तथा कागजमा आफूहरूले सामान्यतः दैनिक २० जना र कहिलेकाहीँ १ सयदेखि १५० जनासम्मलाई सेटिङमा पठाउने गरेको बयान दिएका छन् । यसरी सेटिङमा पठाउँदा पुरुष भए प्रतिव्यक्ति १० देखि १५ हजार रुपैयाँ र महिला भए प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म कमिसन पाउने गरेको बयान दिएका छन् ।

प्रकाशित :२०८० माघ १९, शुक्रबार ०९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry