पाल्पामा विपद् व्यवस्थापनको पूर्वतयारी सुरु

पाल्पा। प्राकृतिक विपद् कति बेला, कहाँ र कसरी आउन भन्ने कसैलाई थाहा हुँदैन। यो आकस्मिक आउने भए पनि थोरै सावधानी र पूर्वतयारी गरिँदा ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिन्छ। तर पर्याप्त सावधानी नअपनाउँदा अकालमा जीवन जाने गरेको छ भने करोडौँको भौतिक क्षति हुने गरेको छ।

Advertisement 1

नेपालमा बाढीपहिरो, आगलागी, हुरीबतास, महामारी, शीतलहरलगायत विपद् प्रत्येक वर्ष आउँछन् र ठूलो परिमाणको मानवीय, भौतिक एवं अन्य क्षति पुर्याएर जान्छन्। अहिले गर्मीयाम सुरु भइसकेको छ। चैत र वैशाखमा वन क्षेत्रमा डढेलो लाग्दा वन, वन्यजन्तु, तिनका बासस्थान र जैविक विविधतालाई असर गर्दछ। यस्ता विपद्बाट बच्न पर्याप्त सावधानी अपनाउने र पूर्वतयारी गर्ने उत्तम विकल्पका रूपमा रहेका विज्ञहरू बताउँछन्।

बर्सेनि हुने यस्ता विपत्तिबाट पाठ सिक्दै पाल्पामा यसको पूर्व तयारी थालिएको छ। मनसुनजन्य विपद्बाट हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न, राहत तथा उद्धारका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न यहाँका सरोकार भएका निकायले पूर्व तयारीका साथ ऐक्यबद्धता जाहेर गरेका छन्।

Advertisement 2

प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरको अध्यक्षतामा शनिबार बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले विपद्को पूर्वतयारी, राहत, प्रतिकार्य र समन्वयबारे विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै ऐक्यबद्धता जनाएका हुन्।

डढेलो, बाढीपहिरो, डुबान, सडक अवरोधजस्ता सम्भावित घटनाका लागि दमकल, एम्बुलेन्स, स्काभेटर, डोजरलगायत साधनको मर्मत गरी तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालयलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी कुँवरले बताउनुभयो। सरकारी तथा गैरसरकारी सङ्घसंस्था, राजनीतिक दल, पत्रकारलगायत सबैसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन, पूर्वतयारी तथा प्रतिकार्यमा जुट्न अनुरोध गरिएको उनको भनाइ छ।

Advertisement 3

बैठकले जिल्लामा विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्ने, चैत, वैशाख र जेठ बढी डढेलोको जोखिम हुने महिना भएकाले जिल्लामा डढेलो तथा आगलागी हुने सम्भाव्य क्षेत्रको नक्साङ्कन गर्ने, सचेतनामूलक कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउने, आगलागी भएको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी, स्थानीय वन उपभोक्ता समूह, डिभिजन वन कार्यालयको टोली तत्काल परिचालन गर्ने निर्णय गरिएको प्रजिअ कुँवरले जानकारी दिइन्।

त्यसैगरी, आगलागी नियन्त्रण गर्न दमकल नभएका स्थानीय तहले आगामी दुई महिनाका लागि चारपाङ्ग्रे सवारीसाधन (पहाडी कच्ची बाटोमा समेत गुड्न सक्ने खालका) भाडामा लिने, पानी ट्याङ्कर वा हिल ट्याङ्कीमा पानी सङ्कलन गरी राख्ने, चार–पाँच जना वन हेरालु ‘फायर फाइटर’ टोली परिचालन गर्ने, डिभिजन वन कार्यालयले स्थानीय तहहरूसँग समन्वय गर्ने, सामुदयिक वन उपभोक्ता समूहलाई डढेलो नियन्त्रणसम्बन्धी तालिम दिई जिम्मेवार बनाउने, अग्नि नियन्त्रण औजारहरू वितरणको व्यवस्था मिलाउने, आगलागी÷डढेलो नियन्त्रण गर्न सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिय बनाई परिचालन गर्ने, वन उपभोक्ता समूहहरूले सामुदायिक वनमा रहेको झारपात हटाउने, अग्नि रेखा बनाउने, वनमा ढली सडेका रुख हटाउने वा हिलट्याङ्कीमा पानी सङ्कलन गरी तयारी अवस्थामा राख्नेलगायत निर्णय बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिए।
उनका अनुसार हेलचक्रयाई वा लापरवाही गरी आगलागी वा डढेलो लगाउने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन सूचना संयन्त्रलाई बलियो बनाई सूचना सम्प्रेषण गर्ने र गैरकानुनी रूपमा डढेलो लगाउने व्यक्तिलाई कानुनी कारबाही गर्ने, निजी आवास पुनर्निर्माणका लागि नियमानुसार निकासा हुनुपर्ने रकम उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशमा अनुरोध गर्ने, आगामी आव २०८३÷८४ का लागि स्थानीय तहको बजेटमा विपद् व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गर्ने साथै स्थानीय तहले एक्लै वा दुई वा दुईभन्दा बढी स्थानीय तहको लागत साझेदारीमा बारुणयन्त्र खरिद गरी सो सञ्चालनको मोडालिटी निर्माण गर्ने पनि निर्णय भएको छ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनाल, नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी तानसेन नगरका सभापति जीवन पाण्डेय, नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती, नेकपाका जिल्ला संयोजक अशोककुमार शाही, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापालगायतले आ–आफ्नो ठाउँबाट विपद् जोखिम र डढेलो नियन्त्रणमा भूमिका खेल्ने बताएका छन्।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले निजी आवास÷प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना र डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत खिलबहादुर तामाङले कार्यालयले डढेलोको जोखिम न्यूनीकरणका लागि गरेको पूर्वतयारी र जिल्लामा डढेलोको अवस्थाका बारेमा प्रस्तुतिकरण राखेका थिए।

प्रकाशित :२०८२ चैत्र २२, आईतवार ११:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry