आधारभूत पत्रकारिता तालिम

नेपाल प्रेस युनियन कास्कीद्वारा आधारभूत पत्रकारिता तालिम सुरु गरिएको छ । पत्रकारिता क्षेत्रको समग्र विकास गर्ने लक्ष्यका साथ सञ्चालित तीनदिने तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ५५ जनाको सहभागिता छ ।
Advertisement 1
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले तालिमको आज उद्घाटन गर्दै लोकतन्त्रको रक्षाका लागि सञ्चार जगत्को भूमिका महत्वपूर्ण रहने बताउनुभयो । मुलुकमा विभिन्न समयमा भएका परिवर्तनको आन्दोलनमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उहाँले अबको पत्रकारिता मिसनका लागि नभई लोकतन्त्रको रक्षाका लागि हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री दोवाटे विश्वकर्माले प्रदेश सरकारले पत्रकारमैत्री कानून ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो । संसद्मा रहेको मिडिया विधेयक पत्रकारको राय, सुझावअनुसार नै आवश्यक संशोधनसहित पारित गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता सधैँ प्रयोगशाला हो भन्दै समयसान्दर्भिक पत्रकारितामा अध्ययनशील हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
Advertisement 2
नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गङ्गाधर पराजुली, नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पङ्गेनी, पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, कास्की अध्यक्ष विमला भण्डारीलगायतले पत्रकारितामा व्यवसायिकताको खाँचो औँल्याउनुभयो । प्रमुख प्रशिक्षक सन्तोष पोखरेल रहनुभएको सो तालिममा रमेश पौडेल, गङ्गाधर पराजुली, रवीन्द्र बाँस्तोला, वासुदेव पौडेल, सरिता तिमिल्सिना पङ्गेनी, नारायण शर्मा, विमला भण्डारी, राजबहादुर गुरुङ, वासु मिश्र, भानु पराजुलीलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको युनियन कास्कीका सचिव प्रदीप पौडेलले जानकारी दिनुभयो ।
युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य टङ्कराज अधिकारी, उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सल्लाहकार तारा पाखे, डा बलराम उपाध्याय रेग्मी, नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष विजयराज भण्डारीलगायतले पत्रकारिता क्षेत्रको विकासमा तालिमको महत्वमाथि चर्चा गर्नुभएको थियो ।