व्यावसायिक प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्दै श्रम मन्त्रालय
सरकारले नेपालको अदक्ष जनशक्तिलाई सीपयुक्त बनाई आन्तरिक तथा अन्तर्राष्ट्रिय श्रम बजारको लागि प्रतिस्पर्धी बनाउन राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहनेगरी विकास समिति गठन भएको हो ।
Advertisement 1
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमसचिवको अध्यक्षतमा १२ सदस्यीय सञ्चालक समिति रहने गरी प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्ने निर्णय गरेका छन् । यो निर्णयसँगै भैँसेपाटी, इटहरी र बुटवलमा रहेको व्यावसायिक तथा सीप विकास प्रतिष्ठान विकास समितिमा परिणत भएको छ ।
समितिमा अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, संयुक्त टे«ड युनियन समन्वय केन्द्रका प्रतिनिधि रहनेछन् । कार्यकारी निर्देशक सदस्यसचिव रहनेछ ।
Advertisement 2
श्रममन्त्री भण्डारीले बजारको मागबमोजिम दक्ष जनशक्ति उत्पादन गर्न बृहत् रूपमा तालिम सञ्चालन गर्न व्यावसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना गरिएको बताए । ‘हामीसँग श्रमशक्ति छ । तर, ती श्रमशक्ति सीपयुक्त छैनन् । सीपयुक्त नहुँदा ती श्रमशक्ति बेरोजगार भए । श्रम बजारले खोजेको जनशक्ति भेट्टाउन सकेन । अर्कोतर्फ सीपविहीन भएर वैदेशिक रोजगारीमा जाँदा श्रमको मूल्य पाइरहेका छैनन्,’ श्रममन्त्री भण्डारीले कान्तिपुरलाई भने,‘अब सरकारको मुख्य प्राथमिकता भनेको सीपयुक्त जनशक्ति उत्पादन हो ।’