संघीय निजामती ऐनमा कर्मचारीलाई दण्ड र पुरस्कार दुवैको उचित व्यवस्था हुने
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीय निजामती ऐनमा कर्मचारीलाई दण्ड र पुरस्कार दुवैको उचित व्यवस्था हुने बताएका छन् ।
Advertisement 1
संघीय निजामती ऐनको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री मोदीले बताएका हुन् । मन्त्री मोदीले गलत काम गर्ने कर्मचारीलाई निष्कासन सम्मको व्यवस्था गर्ने बताएका छन् ।
अहिले कर्मचारीलाई कारबाही भनेकै दुर्गम क्षेत्रमा सरुवा भन्ने बुझाई स्थापित रहेकाले त्यसलाई परिष्कृत गरेर गलत गर्ने कर्मचारीलाई निष्कासनसम्म गर्ने व्यवस्था ऐनमा राखिने मन्त्री मोदीको भनाइ छ ।
Advertisement 2
मन्त्री मोदीले संघीय निजामती ऐनका सन्दर्भमा आफूले सबै पक्षसँग चरणबद्ध छलफल गरेको स्मरण गराउँदै भने, “ऐनको सन्दर्भमा मैले सबै पक्षसँग छलफल गरिरहेको छु, यो ऐनबाट मूलभूत रूपमा सबैलाई न्याय होस् भन्ने मेरो चाहना छ ।”
ऐनमा अधिकतम विषयवस्तु समेटिने र ऐन जारी भएपछि विद्यमान समस्याको आधा समाधान निस्किने मन्त्री मोदीको भनाई थियो । “सबैका मागलाई एकैपल्ट सम्बोधन गर्न सकिँदैन, सबैका मागलाई अधिकतम सम्बोधन गर्ने हाम्रो कोसिस हुन्छ” मन्त्री मोदीले भने, “अन्य मागहरु संशोधनमार्फत पूरा गर्न पनि सकिन्छ, यो संशोधन नै हुन नसक्ने ग्रन्थ होइन, अहिले कमसेकम यो ऐन ल्याऔँ ।”
Advertisement 3
छलफलमा उपस्थित स्वास्थ्य क्षेत्रका क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरुले स्वास्थ्य सेवा विशिष्टीकृत र संवेदनशील भएकाले स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या समाधान गर्नेगरी ऐन ल्याउन सुझाव दिए । स्वास्थ्य सेवामा पनि प्रशासन क्षेत्रको व्यवस्था हुनुपर्ने पनि उनीहरुको माग थियो ।